अध्यात्म ! साहित्य र राजनीतिको संगम
खुमकान्त अर्याल
२०७९ साल जेठ २८ गते ओशो तीर्थ ध्यान केन्द्र वालिङको आयोजनामा भेषजराज साहित्य प्रतिष्ठानको ४९ औं कविता वाचन श्रृङ्खलाको साथमा नवनिर्वाचित जनप्रतिनिधीहरुको स्वागत तथा अभिनन्दन कार्यक्रम भएको थियो । दैनिक ध्यान गरिने कक्षमा, ध्यानअग्नीको तापमा निर्मल हुदै गरेका साधक साधिकाहरुको समुपस्थितिमा, भर्खरै स्थानीय निर्वाचनको वेदी पार गरेर निस्केका स्थानीय जनप्रतिनिधीहरुको जमघटमा र स्थानीय जुझारु साहित्यकारहरुको सहभागिता र समागमले अनौठो र रोचक सभा सम्पन्न भयो, एउटै आँपको रुखमा फरक फरक स्वादका आँपहरु लटरम्म फलेर पाके जस्तै ।
ओशो तीर्थ ध्यान केन्द्रका संस्थापक स्वामी योग वलराम, गोविन्द पंगेनीज्युको सभापतित्वमा सन्चालन भएको सभालाई भेषजराज साहित्य प्रतिस्ठानका अध्यक्ष यमकान्त खनालजीले साहित्य, अध्यात्म र राजनीति एउटै ठाउँमा जुट्न गएकोेले कार्यक्रमलाई त्रिवेणीको संज्ञा दिदै भर्खरैको चुनावी माहोलमा आँफुेले श्रृजना गरेको रोचक कविता वाचन गरि सवैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा साहित्यकारहरुबाट उत्कृष्ट कविताहरुको वाचन गर्दै अध्यात्म साहित्य र राजनितिको अन्तरसम्वन्ध र महत्वका वारे पनि गहन छलफल भयो । कार्यक्रमको प्रमूख आतिथ्यता ग्रहण गर्नु भएका प्राज्ञ अच्यूत शरण अर्यालज्युले वाचित रचनाहरुको समीक्षा गर्दै प्रस्तुत रचनाहरु समाजको अवस्थालाई चित्रण गर्न सक्षम रहेको, स्तरीय भएकोले नियमितरुपमा लेखीरहन प्रेरित गर्दै आवस्यक सुझावहरु पनि दिनुभएको थियो । उपस्थित सवैले नवनिर्वाचित वालिङ न.पा.वडा नं.९ को वडाअध्यक्ष शेरवहादुर श्रेष्ठ, महिला सदस्य समता पराजुली र द.महिला सदस्यलाई कार्यकालको सफलताको शुभकामना दिदै छोटो भजनमा सवैजना नृत्यमा पनि सहभागी भएका थियौं ।
वालिङवासी सवैले यस ध्यानकेन्द्रमा आएर ध्यानमा सहभागी भई आँफैलाई खोज्ने अध्यात्मको विधाबाट लाभ लिन हार्दीक अनुरोध र ध्रन्यवाद ज्ञापन गर्दै सभाध्यक्ष स्वामी गोविन्द पंगेनीज्युले कार्यक्रमको समापन गर्नुभयो । करिव ३ घन्टा सम्म २५ जना साहित्य प्रेमी तथा ओसो साधकहरू सहभागी भई सम्पन्न भएको यो कार्यक्रम हेर्दा सानो लाग्ला तर एउटै मन्चमा कविता वाचन, समीक्षा, मेडिटेटिभनृत्य, आध्यात्मिक सत्संग र राजनैतिक उपस्थितिको यो संयोगलाई मैले रुद्रीको पन्चामृत वा महाप्रसादको रुपमा अनुभव गरें र घर फिर्ता भएपछि फेरी केही कुरा नकोरी मनले मान्न सकेन ।
अध्यात्म भनेको आँफु भित्रको खोजी हो । आँफुलाई चिन्ने, आँफु भित्रको शक्ति जाग्रित गर्ने, आँफु भित्रको चेतना भनौं वा ज्ञानलाई प्रज्वलित गर्नु हो । यसले हाम्रो मन र ईन्दीयहरु लाई ठेगानमा राख्न सक्दछ । हाम्रा वाहिरी आँखा खोल्दा सन्सार देखिन्छ । संसारमा भेद छ, दुरी छ, प्रतिस्पर्धा छ यसैले गर्दा अहंकार छ, स्वार्थ छ, छिना झपटी र अराजकता छ, र केही देखावटी सहयोग र कल्याण पनि छ । जव हामी आँखा चिम्लन्छौं वा हामी भित्र तर्फ फर्कन्छौं तव हाम्रा दुरीहरु कम हुन थाल्छ, भेद कम देखिन थाल्छ । अध्यात्म भनेको आँखा चिम्लनु मात्र भनेको होईन यसमा होस जगाउने र वढाउने धेरै विधीहरु ह्ुन्छन् । होस जगाउनको लागि स्वास एक शसक्त माध्यम हो यसैलाई कहीँ योग वा प्रणायाम पनि भनिन्छ । त्यस मध्ये पनि छोटो समयको आनापान सतिको ध्यान विधी आजका व्यस्त मानिसहरुको लागि धेरै उपयोगी र सरल छ ।
यसमा हामी केही गर्दैनौं केवल १५÷२० मिनट आसनमा वसेर हाम्रो सास वाहिर गएको र भित्र आएको कृयालाई हेरीमात्र राख्दछौं । यस्तो गरि राख्दा हाम्रो अन्तरदृष्टि केही न केही तेज हुदैजान्छ र थप गहिराई लिन थाल्छ । स्वास माथिको यो निरीक्षण हामी अरु व्यस्त समयमा वा यसो फुर्सद मिल्ने वित्तिकै उठ्रदा हिड्रदा पनि गरिरहन सक्दछौं । यसरी नियमित सास संग खेल्न थालेपछि स्वतः प्रेमको जागरण वढ्रछ र प्रज्ञा र विवेक पनि । प्रेमले करुणा फलित हुन थाल्छ । करुणामा कसैलाई अठ्रयाउन, निमोठ्रन, खोस्न, दवाउन हैन सहयोग मात्र गरौं गरौं लाग्छ, । कसैलाई विना शर्तमा दिउ दिउ मात्रै लाग्दछ । यो अभ्यास जति वढ्रदै जान्छ अरु संगको भेद र दुरी समाप्त हुदै जादा सवै मानव जाति संग एकत्वको वोध हुन्छ । यो एकत्वमा कुनै जाति वर्ण लिङग, धर्म र भुगोल वाधक वन्दैन । आजको संक्षिप्त कार्यक्रममा राजनीतिको विषय पनि समेटिएको ले मैले सोचे आज राजनिति यति धेरै विक्रित छ मानिसहरु अभाव महंगी वेरोजगारी र पक्षपातले आक्रान्त छन् । यदि राजनीतिमा अध्यात्मले पनि स्थान पाएको भए यस्तो हुदैनथ्यो ।
अध्यात्म र राजनीति संगै जान सकेको भए राजनीतिक व्यक्तिहरुमा प्रेम,करुणा र नैतिक मुल्य हुनेथियो दुर दृष्टि र कल्याणको भावनाले ओतप्रोत हुने थियो । अध्यात्म कला पनि हो यसका अभ्यासी राजनैतिक व्यक्तिले थोरै श्रोत साधनको भरपुर प्रयोग गर्दै आफ्नो क्षेत्रको सन्तुलित विकास गरि सम्वृद्दि दिलाउन सक्दछ । परिपक्व साधना र तपस्याले मात्र हलचल र प्रभावित नभै निरन्तर सेवा दिन प्रेरित गर्दछ । भागवत महापुराणमा प्रसंग आँउछ जव सम्म मानिसले इन्द्रिय निग्रह गरेर आप्तकाम र वासना रहित हुदैन तव सम्म आमा छोरा पनि संगै वस्नु हुदैन किन भने त्यस्तो मानिस जतिवेला पनि वास्नावाट प्रभावित भएर पतनको वाटो रोज्न सक्छ । जस्तै १०० डिग्रीको तापक्रममा पानी नउम्ले सम्म पानीमा संक्रमणको डर रहन्छ, जस्तै सिजनिंग गरिएको काठमा किरा धमिरा लाग्दैन त्यस्तै समाजसेवी, नेता, राष्ट्र सेवक जसले पनि आत्मवान नभएसम्म पथ भ्रष्ट वा पतन हुने सम्भावना रही रहन्छ । हुनत आधुनिक राज्य प्रणालीमा नराम्रो गर्नेका लागि दण्डको विधान गरिएको छ तर त्यो पनि पुर्ण सफल हुन सकिरहेको छैन, लुकेर छलेर र अनुकूल मौका पाउने वित्तिकै उसले गल्ति गरिसक्छ । भर पर्दो राज्य र समाज त्यतिवेला हुनेछ जतिवेला मानिसहरु आत्मिक तहबाटै सवैलाई वरावर देख्न सक्ने वन्नेछन् । यो त राजनीति र अध्यात्मको सम्वन्धका वारे भयो अव साहित्य र अध्यात्मको वारे पनि थोरै चर्चा नगरे आजको महाप्रसादको प्रसंग अधुरो हुनेछ ।
माथि नै उल्लेख भैसकेको छ अध्यात्मले हाम्रो ज्ञानलाई अझ गहिरो फराकिलो वनाउँदछ । हुन त साहित्य पनि अध्यात्म जस्तै नै हो । एक साहित्यकारले उसको अन्तरचक्षुले देखेको कुरालाई साहित्यको माध्यमबाट जन समक्ष पेश गर्दछ । एक सामान्य व्यक्तिमा भन्दा एक साहित्यकारमा देख्ने क्षमता वढी छ यसको मतलव हो एक साहित्यकारले अध्यात्मलाई अंगाल्यो भने एक साधारण व्यक्तिले भन्दा उसले चाडो सत्य र तथ्यलाई फेला पार्न सक्दछ । यसर्थ एक साहित्यकारले अध्यात्मलाई अंगाल्न सक्यो भने उसको श्रृजना अझ जीवन्त र मुखरित हुन सक्छ जसले समाज, जीवन र जगतका वारे आम श्रोताहरुलाई सम्झाउन र झकझकाउन सकोस । एक अध्यात्मिक चित्रकारले फूलको चित्र कोर्यो भने महुरी नै झुक्किएर वस्न खोज्ने हुन सक्छ । एक संगीतकारले अध्यात्मलाई पनि साथमा लग्यो भने उसको संगीतले श्रोता लट्रठ हुन सक्छ किन भने उसको संगितमा मीठास र निक्खर पना हुनेछ । एक वक्ता वा नेता आध्यात्मिक छ भने उसको प्रवचन सुनीरहुं लाग्छ ।
निर्दोस भावमा गहिराईबाट आउने स्वरको माध्यमबाट स्वयं अस्तित्व उपस्थित रहेको हुन्छ । सदगुरु ओसोले भन्नु हुन्थ्यो म वोल्न लागे पछि मेरो मुखलाई प्रयोग गरेर स्वयं अस्तित्व आँफै वोल्ने गर्दथ्यो । अध्यात्मलाई साहित्यको अझ धेरै खाँचो हुने गर्दछ । मानौ कुनै साधकले आँफुलाई पनि चिन्यो र जीवन र जगतको वास्तविकतालाई आत्मसाथ गर्यो र यो कुरा अरुकालागि कल्याण होस भनेर व्यक्त गर्न चाह्यो भने उसलाई अभिव्यक्ति गर्ने कलाको वा साहित्यको आवस्कता पर्दछ । सदगुरु ओसो एक द्रस्टा मात्र नभएर साहित्यकार समेत हनुहुन्थ्यो त्यसैले वहाँका ज्ञानहरु आँफ्रनै वकतृत्वबाट प्रस्फुटित भए र सवैले वहाँकै स्वरमा सुन्न पाए र जीवनलाई वदल्न पनि सके । स्वामी रामकृष्ण परंहंसले वुद्दत्व प्राप्त गरे र सवैको कल्याणको लागि आँफुले प्राप्त गरेको रहस्य बाड्न वताउन चाहन्थे तर उनी पढेलेखेका थिएनन यसर्थ लेख्न सक्दैनथे त्यसैले उनले स्वामी विवेकानन्दको साहित्य मार्फत आफ्ना रहस्यहरुलाई जनसमक्ष प्रस्तुत गरेका थिए ।
वर्तमान नेपाली समाज निकै निरासाको वाटोवाट गुज्रदैछ । राजनीति नै सम्पुर्ण नीतिहरुको व्यवस्थापक भएको हुदा राजनैतिक व्यक्तिहरुले नै पहिलो नमूना वनेर प्रस्तूत हुनु पर्दछ । अव राजनीति गर्नेले शैक्षिक योग्याताका अतिरिक्त अध्यात्म र साधनालाई पनि योग्याताका रुपमा प्रथामिकतामा राख्नै पर्दछ, यसले चाँडैनै समाजमा रुपान्तरणको अभास दिन सक्दछ । अझ भर्खरै देशभरी स्थानीय तहमा नयाँ निर्वाचित पदाधिकारीहरु आउनुभएको छ तपाईहरुले अध्यात्मलाई स्वीकार गर्नुहोस, ससाना साधनामा सहभागी हुनुहोस, तपाईलाई जति धेरै कामका चाङहरु आईलागेता पनि समय व्यवस्थापन गर्न सक्नुहुनेछ ।
दिनभरको थकाई गाली गुनासो र तनावलाई ससाना ध्यानहरुले समन गरिदिन्छ र तपाई दैनिक ताजा र स्वस्फुर्त हुनुहुनेछ, तपाईका वाँणी व्यवहार र प्रस्तुतिहरु कोमल, प्रेमपुर्ण र न्याय पृय हुनेछन । तपाईलाई सवैले समस्याको समाधान कर्ता अभिभावक वा एक असल साथीको रुपमा देख्न थाल्नेछन । तपाई संग समस्या समाधानका धेरै जुक्ति अक्कलहरु थपिनेछन् । तपाईले नेतृत्व गर्नुभएको समाज र क्षेत्रमा तपाईका सुयोग्य कर्महरु वाटोघाटो चोक र अस्पतालमा देखिन थाल्नेछ, । व्यक्तिहरुका अनुहारमा,लवाई खवाई र सभ्यतामा तपाईका छापहरु देखिन थाल्ने छ । तव तपाईले धेरै वेर भाषण गरेर आफ्नो विद्धताको परिचय दिईरहनु पर्ने छैन तव तपाईलाई धेरैले आशिष दिनेछन र तपाईको कृति लोकपृयता वढ्रदै जाने छ । यस्तै होस, सवै जनप्रतिनिधीहरुलाई हार्दीक शुभकामना ।
हार्दिक धन्यवाद ओसो तीर्थ ध्यान केन्द्र र यस कार्यक्रमको संयोजन गर्नुहुने स्वामी कमल प्रसाद वगालेज्यू र भेषजराज साहित्य प्रतिष्ठान र यसका अध्यक्ष यमकान्त खनाल सरलाई,जस्का प्रेरणाले अध्यात्म, साहित्य र राजनीतिका अन्तर सम्वन्धका वारे यी हरफहरु कोर्ने संयोग जुर्याे ।


प्रतिक्रिया