‘पशुपालनबाट सम्बृद्धि बन्न सक्छ गल्याङ्’

शुशिल अर्याल ।

गल्याङ् स्याङ्जा जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा फैलिएको एक नगरपालिका हो । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा मालुङ्गा, जगत्रादेवी, पकवादीको (वडा नं १–७,९), तिनदोबाटेको (वडा नं १,६–९), तुल्सीभञ्ज्याङ, निबुवाखर्क, पेलाकोटको (वडा नं १–४,७–९) र पिंडीखोला गाउँ विकास समितिहरूलाई समेटेर गल्याङ् नगरपालिका घोषणा गरिएको हो । राष्ट्रिय जनगणना २०६८ को अनुसार यस नगरपालिकाको जनसंख्या ३६,९६७ रहेको छ । गल्याङ् नगरपालिकामा ११ वडाहरु रहेका छन । गल्याङ्को कुल क्षेत्रफल १२२.६९ वर्ग किमी छ । यो नगरपालिकाको पूर्वमा चापाकोट नगरपालिका र वालिङ नगरपालिकाहरु पर्दछन् भने पश्चिममा कालीगण्डकी गाउँपालिका र गुल्मी जिल्ला छन् । यसको उत्तरी भागमा पर्वत जिल्ला र दक्षिणी क्षेत्रमा पाल्पा जिल्ला पर्दछ ।

भौगोलिक विविधताले पनि भरिपूर्ण यस नगरपालिकामा जम्मा घरधुरी संख्या ८०६५, करिब ६८% जनता कृषि पेशामा आवद्ध छन् । यो क्षेत्रमा उष्ण, समशितोष्ण देखि शितोष्ण हावापानी पाइने गर्दछ । समुन्द्रीसतह देखि १५०० मिटरको उचाइमा फैलिएको यस क्षेत्रमा प्रशस्त मात्रामा आलु, मकै, सुन्तला जात (सुन्तला सुपरजोन), अदुवा जोन, आप÷लिची जोन विभिन्न किसिमका डाले घाँसहरु तथा भुईघाँस, विभिन्न मौषमी तथा बेमौषमी तरकारी, फलफुल, पशुपन्छी क्षेत्रमा भैसी जोन, गाई पकेट, बाख्रा पकेट र बंगुर पकेट रहेका छन् । यस नगरपालिकाको सबैभन्दा तल्लो भेगमा रहेको स्थान सम्पासघाट कोप्चेघाट र सबै भन्दा उच्च स्थान ताम्रिकोट रहेको छ । यो नगरपालिका पर्यटनको हिसाबले रामनदी धाम, उत्तर बाहिनी क्षेत्र, सेतिबेणी शिला, केदारनाथ मन्दिर भाल्थुम कालिका, गेझा कालिका लगायत धरै महत्पूर्ण स्थानहरु रहेको छन, जसमा आन्तरिक तथा बाह्य पर्यटन बिकास गर्न सके ठुलो मात्रा यहाको कृषि उत्पादन समेत खपत भई थप आम्दानीको स्रोत समेत हुन्छ जान्छ ।

हालको पशुपालनको अवस्था

गल्याङ् नगरपालिकामा वार्षिक २९,९७,८७७ लिटर दुध उत्पादन हुने गर्दछ, सो मध्ये ५,८५,५९९ लिटर दुध निर्यात गर्दछ । यसरी उत्पादित दूधको बजार ब्यावस्थापन राम्रै रहेको छ, हालको तथ्यांक अनुसार गल्याङ् नगरपालिकामा गाईको संख्या झन्डै १७६७ रहेको छ त्यस मध्ये ७५६ वटा उन्नत र १०११ वटा क्रस÷स्थानीय रहेका छन् यिनीहरुबाट वार्षिक ५,७३,३५० लिटर दुध उत्पादन हुने गर्दछ । पशुपालनको सम्भावना बोकेको यस क्षेत्रमा १०,७२६ वटा भैसीबाट वार्षिक २४,२४,५२७ लिटर दुध उत्पादन हुने गरेको छ । यसरी यहाँका बासिन्दाहरु दुधमा आत्मनिर्भर भई निर्यात समेत गर्दछन् । त्यसै गरी वार्षिक ६,९७,१७० के.जी मासु उत्पादन गरि १,७९,६३२ केजी मासु बुटवल, पोखरा, काठमाण्डौ निर्यात हुने गर्दछ । अण्डा १०,९८,९८५ गोटा वार्षिक उत्पादन भएको यहाँको तथ्यांकले देखाउछ ।

खाद्य सुरक्षाको अवस्था

विश्व खाद्य संगठनका अनुसार प्रतिव्यक्ति प्रति बर्ष आवश्यकता
दुध ९१ लिटर,
मासु १४ केजी,
अन्डा ४५ गोटा

गल्याङ नगरपालिकाको हालको उपलब्धता

दुध ७९ लिटर, (नेपालको ७९ लिटर÷व्यक्ति)
मासु १४ केजी,
अन्डा ३१ गोटा
यसरी दुध र मासुमा राष्ट्रिय मापदण्ड (नेपालको) अनुसार गल्याङ् आत्मनिर्भर भई निर्यात समेत गर्दछ, भने अण्डामा ४५ गोटा प्रति व्याक्तिका दरले ५,२१,०१५ (१४ गोटा प्रति व्यक्तिले) ले कमि रहेको देखिन्छ । पशुपन्छी तथ्यांकः गाई १७६७, भैसी १०,७३६, बाख्रा २२,८७०, बंगुर ६,१६२,कुखुरा ५७,७४९, रहेको छ जम्मा सहकारी संख्या १९ वटा, बंगुर फर्म २० वटा, बाख्रा फर्म ३१ वटा र ८ वटा भैसी फर्महरु रहेका छन् ।
यसरि उत्पादन भईराख्दा विभिन्न दुग्ध सहकारीहरूले दुध संकलन गरि प्रशोधनबाट दुग्धजन्य पदार्थहरु उत्पादन गर्ने भएकोले बजारको समस्या नदेखिएको देखिन्छ ।

पशुपालनमा देखिएका सबल पक्ष ः
१. ग्रामिण क्षेत्रका कृषकहरु पशुपालन उन्मुख भएको
२. दुधमा आत्मनिर्भर भइ निर्यात समेत गर्दै आएको
३. बढ्दो युवाहरु पशुपालनमा आकर्षित भएको
४. नियमित भेटेरिनरी सेवा प्रवाह भएको
५. कृषकको घर÷टोलमा गई प्राविधिक सेवा प्रबाह बहेको
६. मासुमा आत्मनिर्भर भइ बुटवल, पोखरा निर्यात हुदै आएको
७. बर्षे पिच्छे कृषकहरुले उन्नत जातका पशुपन्छी लिदै÷थप्दै आएको
८. कृषिमा आधुनिकीकरण तथा औजारिकरण हुदै आएको
९. पशुपन्छीको संख्या वृद्धि हुदै आएको
१०. सानो पुजिमा सानै ठाउमा पनि ब्याबसाय संचालन गर्न सकिने
११. रोजगारका अवसरहरु सिर्जना हुने

पशुपालनमा सुधार गर्नु पर्ने पक्ष

१. कृषि फर्महरु निर्वाहमुखी मात्र हुनु तर ब्यावसायीक नहुनु
२. पुरानै कृषि प्रणाली अपनाउनाले लागत अनुसारको उत्पादन नहुनु
३. नया प्रविधिहरु नअगाल्नु
४. कृषकहरुलाई पशुपालन सम्बन्धि ज्ञान÷सिपको कमि हुनु
५. भौगोलिक विवीधताले गर्दा सबै ठाउमा समान रुपले भेटेरिनरी सेवा नपुग्नु
६. पोषणयुक्त घाँसको अभाव हुनु
७. जैविक सुरक्षा तथा क्वारेन्टाइन जस्ता कुरामा ध्यान नदिनु

अवसरहरु

१. ठुलो अवसरको रुपमा गल्याङ् नगरपालिकाले प्रति लिटर दुधमा १५ का दरले दिदै आएको यो हिसाबले एउटा व्यावसायिक फर्मले धेरै मुनाफा लिने देखिन्छ र दुधको बजार सुनिश्चित भएको
२. उत्पादित बस्तुको मात्रा वृद्धि गर्ने हो भने विभिन्न ठाउमा निर्यात समेत गर्न सकिन्छ
३. बाख्रा, घाँस आदिको श्रोत स्थापना गर्ने हो भने चाहिने बिउ–बिजनको लागि अन्तजानु नपर्ने
४. आधुनिक प्रविधि अपनाएर ब्याबसायिक बन्ने हो भने थुप्रै चिजबस्तुहरु अन्तर जिल्लमा निर्यात समेत गर्न सकिन्छ
५. बाख्रा पकेटलाई बिस्तार गर्दै जादा जोन बनाउन सकेमा, स्व–रोजगार को सम्भावना पैदा हुनेछन
६. यस क्षेत्रको पूर्वीपट्टि पोखरा ७४ कि.मि र पश्चिम तिर लुम्बिनी ९० कि.मि र काठमाण्डौ २८१ कि.मि रहेकोले उत्पादित बस्तुको बजार सुनिश्चित देखिन्छ ।
७. यस क्षेत्रमा दुधबाट छुर्पी बनाई बाहिरी देशमा निर्यात गर्न सकेमा आर्थिक स्तर वृद्धि गर्न सकिन्छ ।
८. सिंचित क्षेत्रमा विभिन्न डाले तथा भुईघाँस लगाई घाँस श्रोत केन्द्र स्थापना गरि बिउ÷विरुवा उत्पादन गरि बाह्य क्षेत्रमा बिक्रि, वितरण गर्न सकिने ।

चुनौती÷जोखिम

१. उन्नत जातीय पशुपन्छीको उत्पादन गर्न नसक्नु
२. भौगोलिक विविधताका कारण सबै खाले ब्याबसाय गर्न नसक्नु
३. महामारी रोगको संकट निम्तिनु
४. औषधि, उपचार गर्दागर्दै पनि औषधिले काम नगर्नु
५. जैविक सुरक्षा र क्वारेन्टाइन मा कढाई नहुनु
६.गुणस्तरयुक्त दानापानीको ब्यावस्था नहुनु

निष्कर्ष ः

यस स्याङ्जा जिल्ला गण्डकी प्रदेशको पशुपालन क्षेत्रमा अग्रणी जिल्लाको रुपमा परिचित छ । स्थानीय तथा उन्नत घाँसको प्रचुर संभवना रहेको यो जिल्ला पशुपन्छीपालन व्यवसाय ओझेलमा परेको छ । वजारको पक्षवाट विश्लेषण गर्दा सिद्धार्थ राजमार्ग जिल्लाको विचवाट जानु, विगतका कार्यक्रमहरुवाट पकेट क्षेत्रहरुको विकास र विस्तार हुनु आम नागरिकहरुको खरिद गर्ने क्षमता वढ्नु आदीले दिन प्रतिदिन पशुपंन्छीजन्य पदार्थहरुको माग वढी रहेको छ ।
स्वच्छ र स्वस्थ्य दुध र दुग्ध पदार्थ तथा मासु विक्री गरेमा स्वतः माग वढी हुने देखिन्छ यसको प्रभाव पशुपन्छी उत्पादन र मुल्यमा समेत वढोत्तरी हुनेछ । उत्पादन वढ्ने वित्तिकै आयात प्रतिस्थापन हुने सम्भावना वढी छ । सिद्धार्थ राजमार्ग गल्याङ् नगरपालिका हुदै जानु देशकै ठुलो जलविद्युत् आयोजनासंग जोडिएको नगरपालिका भएको कारण स्वदेशी विदेशी पर्यटक तथा वौद्धिक व्याक्तिहरुको आगमन र बसाई हुने भएको कारण पनि दुध र मासुको स्वस्थता र स्वच्छता वढी आवश्यक र मागको विषय भएको छ । यस क्षेत्रको भौगोलिक अवस्था हेर्दा कतिपय जमिन उत्तर तिर मोहडा भएको र कतिपय जमिनमा हाईड्रोपावरले गर्दा सिचाईको प्रवल संभवना रहेको छ । कतिपय परिवारको शहरतिर पलायन हुदा जमिन वाझो राखेको अवस्था समेत भएकाले गाईपालक कृषकले जमिन लिजमा लिएर घाँस खेती गर्ने सम्भावना अझ वढ्दैछ । जसबाट पशुजन्य उत्पादन हरु जस्तै दुध, मासु , अन्डा र पशुजन्य उत्पादन लाई बिबिधिकरण तथा प्रशोधन गरि बजारमा बिक्रि वितरण गरी बजार बाट गाउँमा बिक्रि, वितरणजस्ता कार्यले रोजगारी समेत सिर्जना गर्दा खेर गएको जमिनको सहि सदुपयोग गर्दै ग्रामिण क्षेत्रमा आम्दानीको बाटो सिर्जना गर्दछ ।

गल्याङ् नगरपालिकाका १, २, ८, ९, १०, ११ वडा क्षेत्रहरु दुध उत्पादन वडा ४,५,६,७ वडाहरु बाख्रापालनको क्षेत्र विकास गरी खेर गएको रैथाने घाँस तथा परम्परागत ज्ञान, सिपको समुचित प्रयोग गरी दुध र मासुमा बिशेष खालको कार्यक्रमहरु संचालन गरी दुध र मासुमा आत्मनिर्भर बनाउन सकिन्छ । यो नगरपालिका बिशेष गरेर जनजाति रहेको क्षेत्र हुनाले ३ न. वडा जो पहिले बंगुर क्षेत्रका लागि परिचित भएको हुनाले वडा न. ३ लाई बंगुर पालन क्षेत्रको रुपमा ब्यावस्थित गर्न सकेको खण्डमा यसबाट समेत मासुको माग र बंगुरको पाठापाठीबाट धेरै जनालाई स्व–रोजगार बनाउन सकिन्छ । अतः यी सबै तथ्य र तथ्यांकहरुलाई केलाएर हेर्दा गल्याङ नगरपालिका सम्वृद्धिको आधार पशुपालन ब्याबसाय हुन् सक्छ ।
लेखक ः स्याङ्जाको गल्याङ् नगरपालिका पशु शाखा प्रमुखमा कार्यरत छन् ।

 

प्रतिक्रिया