वालिङमा उद्यमी बनाउन नगद अनुदान प्रदान

वालिङ ।
बिभिन्न कारणबाट रोजगारी गुमाएका र नयाँ व्यशाय शुरु गर्न चाहाने वालिङका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ । रोजगारी गुमाएका तथा आफ्नै व्यवशाय शुरु गर्न नयाँ योजना पेश गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले वालिङ नगरपालिकाले नगद अनुदान उपलव्ध गराएको हो । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङ सञ्चालनमा रहेको ‘हरित पुनः उत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना अन्तर्गत’ कृषक तथा नवउद्यमीलाई स्टार्टअपका रुपमा नगद अनुदान प्रदान गरिएको हो ।

उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ का रुपमा २० जनालाई जनही रु २५ हजारका दरले अनुदान उपलब्ध गराइएको हो । पालिकाले यसअघि पनि आफ्नै व्यवशाय शुरु गर्न चाहाने युवा युवतीहरुकालागि स्टार्टअपका रुपमा नगद अनुदान दिदै आएको नगर प्रमुख कृष्ण खाँणले बताए । कृषक तथा उद्यमीहरुलाई स्टार्टअप अनुदान प्रदान गर्दै नगर प्रमुख खाँणले अनुदानको सहि प्रयोग गर्दै नवीनतम सोचलाई उत्पादनमा जोड्न आग्रह गरे । नगरपालिका तपाईहरुको साथमा छ यहाँहरुलाई सबै खाले सहयोग गर्न हामी तयार छौं खाँणले भने । नगरप्रमुख खाँणले बिभिन्न संघसंस्थासँग सहकार्य गरेर कृषक तथा उद्यमीहरुलाई उद्यम अनुकुल बातावरण बनाउन लागि रहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख कविता तिवारीले उद्यमशीलताको क्षेत्रमा नगरपालिकाले बिशेष कार्यक्रम शुरु गरेको जानकारी दिइन् । उद्यमशीलता व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक मार्फत रोजगारी सिर्जना गर्ने र स्वरोजगार बनाउने गरी क्रियाकलाप सञ्चालन गर्न हाम्रो ध्यान रहेको छ तिवारीले बताइन् ।
स्टार्टअपका रुपमा प्रदान गरिएको सानो रकमले कृषक तथा उद्यमीहरुलाई सहयोग पुग्ने बिश्वास व्यक्त गरीन् । उत्पादनको बृद्धिले मात्रै नागरिकको आर्थिक बृद्धि हुन सक्ने भन्दै तिवारीले सबैलाई उत्पादनमुलक क्रियाकलापमा लाग्न आग्रह गरीन् । कार्यक्रममा बोल्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले दीगो विकासको स्थानीयकरण र कोही पनि पछाडि नछोड्ने संयुक्त राष्ट्रसंघीय कार्यक्रम युएनडिपीको अवधारणाका बारेमा जानकारी गराए । उद्यमीअनुकुल बातावारण बनाउनका लागि नगरपालिकाले शुरु गरेको अभियान अनुकरणीय रहेको भन्दै अर्यालले सबैलाई हरित उद्यमशीलता र यसको प्रभावकारिताका बारेमा जानकारी गराएका थिए ।

उद्यमी अनुकुलको बातावरण बनाउनका लागि नगरपालिकामा सञ्चालनमा आएको ईबिकले महत्वपूर्ण भूमिका खेलेको भन्दै अर्यालले भने, यसलाई अझै प्रभावकारी बनाउन सबैले ध्यान दिनु पर्दछ । बिभिन्न समस्याका कारण रोजगारी गुमाएका र अव के गर्ने के नगर्ने अन्योलमा रहेका युवायुवतीलाई उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ का रुपमा बिगत तीन वर्षदेखि नगद अनुदान दिदै आएको साझेदार दियालो संस्थाका कार्यबाहक अध्यक्ष सीतादेवी पंगेनी गैह्रेले जानकारी दिइन् । कार्यक्रममा नगरप्रवक्ता तथा वडा अध्यक्ष पदमराज गुरुङ, कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे लगायतले बोलेका थिए ।
कोरोना सङ्क्रमण लगायत बिभिन्न कारण प्रभावित भई स्वदेश वा विदेशमा रोजगारी गुमाएका वालिङका नागरिकलाई उद्यमशिलतातर्फ लाग्न प्रेरित गर्ने मुख्य उद्देश्यले कोष स्थापना गरिएको नगरपालिकाले जनाएको छ । नगरका युवा युवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आयआर्जन वृद्धि गर्न ‘उद्यमशिलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक सञ्चालन कार्यविधि २०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिदै आएको हो ।

 

प्रतिक्रिया