चोरीको विगविगी, असुरक्षित बन्दै मिर्मी बजार

वालिङ ।
नयाँ वर्ष २०८२ को सुरुवातसँगै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको मिर्मि बजार क्षेत्रका आसपासमा चोरी र तोडफोडका घटनाहरु बढेका छन् । बैसाख १ गते राती मिर्मी बहुमुखी क्याम्पसको कार्यालय कक्ष र कम्प्युटर ल्याबको कक्ष तोडी भौतिक सम्पत्तिमा क्षति पु¥याएका छन् । सोही रात भर्खरै संचालनमा आएको जेनजेट स्केटिङ एण्ड फिटनेस सेन्टरमा समेत तोडफोड गरी सामग्रीहरु लुटपाट गरेका छन् । बजार क्षेत्रमा रहेका ६ थान जति मोटरसाइकल चोरीको प्रयास सहित तोडफोड समेत गरेका छन् । घटना संलग्न रहेको आशंकामा चार जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

यसको लगत्तै बुधवार राति मिर्मीबीच बजारकै एक फेन्सी पसल रहेको घरमा चोरी भएको छ । चोरीबाट सुनका गरगहना तथा नगद चोरी भएको स्थानीयले बताएका छन् । श्रृंखलाबद्ध रुपमा चोरीका घटना बढ्नुले सुरक्षा व्यवस्थामा गम्भिर चुनौति थपिएको छ । यस्ता घटनाले यस क्षेत्रको जनजीवन प्रभावित हुनुको साथै त्रासको वातावरण सिर्जना भएको स्थानीयले बताएका छन् ।

कालीगण्डकी गाउँपालिकाको आर्थिक केन्द्र समेत रहेको मिर्मीमा बैंक तथा वित्तीय संस्थाहरु, सामाजिक संघसंस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, विभिन्न सरकारी कार्यालयहरु लगायत ठुलो बजार सहितको बस्ती रहेको छ । स्थानीयले पटक पटक प्रहरी चौकीको व्यवस्थापनको लागि प्रस्तावित जग्गासहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा अनुरोध गरेको भए तापनि यसको सुनुवाइ नभएको गुनासो स्थानीयको छ । श्रखंलाबद्ध चोरीका घट्नाहरु बढ्न थालेपछि स्थानीयले गस्ती शुरु गरेको बताइएको छ ।

मिर्मीबजारको सुरक्षा जिम्मेवारी यसअघि इलाका प्रहरी कार्यालय जैपतेले हेर्ने गरेकोमा हाल बिर्घा प्रहरी चौकीले हेर्दै आएको छ । यसरी सुरक्षाको जिम्मेवारी हेरफेर गर्दा सुरक्षा अवस्थामा समेत प्रतिकुल प्रभाव परेको छ । मिर्मीबाट उत्तर तर्फ गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुलतर्फ खुला नाका रहेकोले चोरी तथा अपराधिक गतिविधि नियन्त्रणमा कठिनाई हुने गरेको छ ।

मिर्मि बजार क्षेत्रमा चोरीका घट्ना बढ्न थालेपछि प्रहरी संवेदनशिल भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरी पौडेलले बताए । दरबन्दी अनुसारको प्रहरी जनशक्ति नहुँदा सुक्षामा चुनौती थपिएको पौडेलले बताए । आफ्नो सम्पतीको सुरक्षा गर्ने जिम्मेवारी पहिलो नागरिकको हुने भएकाले सम्पति रहेको घरका कोठाहरु राम्रो सगँ बनद गरेर बाहिर निस्कन समेत पौडेलले

नागरिकहरुलाई अनुरोध गरेका छन् । मिर्मि बजार क्षेत्रमा प्रहरीको युनिट राख्न केन्द्रमा पठाइएकोले छिट्टै प्रहरीको युनिट राख्ने समेत बताए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चोरी तथा तोडफोडमा संलग्न रहेका चार जना बालकलाई पक्राउ गरेको जनाएको छ । कालीगण्डकी गाउँपालिका ७ मा रहेको मिर्मि बहुमुखी क्याम्पस र केही व्याक्तिहरुको पसल, मोटरसाईकल लगायतमा चोरी र तोडफोड गरेको आरोपमा संलग्न चार बालक पक्राउ परेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पौडेलका अनुसार पक्राउ पर्नेमा कालीगण्डकी गाउँपालिका ७ का १८ बर्षिय, १६ बर्षिय, १६ बर्षिय र धादिङ जिल्ला घर भई सोही ठाउँमा बस्ने १६ बर्षिय बालक पक्राउ परेका हुन् । उनीहरुको नाम प्रहरीले गोप्य राखेको जनाएको छ ।

उनीहरुले मिर्मि बहुमुखी क्याम्पसको दोस्रो तलामा रहेको कम्प्युटर कक्ष र कार्यालयको ताल्चा फुटाई किर्बोड, माउस र कम्प्युटर पावर केवल चोरी गरेका थिए भने अन्य सामाग्रीहरु तोडफोड गरी क्षती पु¥याएका थिए । त्यसैगरी सोही स्थानमा ज्ञानप्रसाद न्यौपानेले संचालन गरेको स्केटिङ हाउसको ताल्चा फुटाई हाउसभित्र रहेका सामाग्रीहरु चोरी गरेका थिए ।
सोही स्थानका नारायण प्रसाद अधिकारीको ग १ प ८३९८ र लु ४७ प ३४३८ नम्बरको स्कुटर तोडफोड गरी क्षती पुराएको, प्रविन ढकालको ग १४ प ५९० नम्वरको मोटरसाइकल घरदेखी २ किलोमिटर आँधीमुहानमा तोडफोड गरी फालेको अवस्थामा प्रहरीले फोला पारेको जनाएको छ ।

मिर्मि क्याम्पसको २ सय मिटर पश्चिम दिशामा रहेको ओडारमा किबोर्ड, कम्प्युटर पावर केबल, स्केटिङ जुत्ता र रियो जुस बोरामा राखेर लुकाइएको अवस्थामा प्रहरीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । वडा प्रहरी कार्यालय वालिङले चोरी सम्बन्धी मुद्धा दर्ता गरेर कारवाही प्रक्रिया अगाडी बढाएको सूचना अधिकारी पौडेलले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्याङ्जामा आर्थिक बर्ष शुरुभए देखी चैत्रसम्म जिल्लाभर ९ ओटा चोरीका घट्नाहरु घटेका छन् ।
प्रहरीले चोरीमा संलग्न रहेका झण्डै १ दर्जन पक्राउ गरेको छ । जसमध्ये ५ जना पुर्पक्षका लागि जेल चलान भएका छन् भने २ जना अझै फरार रहेका छन् । केही अदालतले तोकेको धरौटी बुझाएर तारेखमा छाडिएका छन् । सुरक्षा संवेदनशिल ठाउँमा प्रहरीले गस्ती बढाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया