चुनाबमा गरेका बाचा अनुसारको काम सम्पन्न हुदैंछ

गोविन्द कुमार कर्माचार्य
नगर प्रमुख
भीरकोट नगरपालिका, स्याङ्जा
सिद्धार्थ राजमार्गमा अवस्थित स्याङ्जाको भीरकोट नगरपालिका जिल्लाको एकमात्र बालमैत्री नगरपालिका हो । पछिल्लो समय भीरकोटले भौतिक विकासमा जोड दिन थालेको छ । तर पनि गाउँमा जनसंख्या घट्दै जानुले चुनौतीपूर्णसमेत बन्दै गएको छ । भीरकोट नगरपालिकाको पुर्वमा विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका, पश्चिममा पर्वत जिल्ला, उत्तरमा अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिका तथा दक्षिणमा वालिङ नगरपालिकालसँग सिमाना जोडिएको छ । ९ वटा वडा रहेको यस नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट गोविन्द कुमार कर्माचार्य निर्वाचित हुनुभएको हो । प्रस्तुत छ, प्रमुख कर्माचार्यसँग पब्लिक आवाजका सम्पादक अमृत अर्यालले गरेको कुराकानी ः
१. तपाई नगरप्रमुख बनेको पनि साढे २ बर्ष भयो । पद समालेदेखि हालसम्मको अवधिमा तपाईंको अनुभव कस्तो रह्यो ?
पहिले देखि नै समाजसेवामा मन भएर म २५ वर्षको उमेरमा वडा अध्यक्ष भएदेखि मेरो राजनैतिक तथा सामाजिक यात्रा तय भएको हो । साथै पञ्चायतकालमा नै उपप्रधानपञ्च भएको र बहुदल आएपछि २ कार्यकाल गाउँ विकास समिति अध्यक्ष भएर समाजसेवा गरेको अनुभवसहित अहिले नगर प्रमुख भएर पदभार सम्हालेको पनि साढे २ वर्ष पुरा भइसकेको छ । बढ्दो आधुनिकता र प्रविधिको विकाससँगै भएको परिवर्तनलाइ आत्मसाथ गर्दै आफूलाई पनि सुचना प्रविधिसँग जोड्ने प्रयास गरिरहेको छु । काम गर्दै जाँदा धेरै कुरा हामीले पनि सिक्नुपर्ने र कतिपय कुरा सिकाउनुपर्ने रहेछ भन्ने महसुस भयो । कानूनतः अधिकार प्रत्यायोजन गरिएको भनिएको छ तर अधिकार खासै केही छैन । हाम्रो जस्तो नगरपालिका भनेको अरुमा भर पर्ने नगरपालिका हो, आन्तरिक आयस्रोत कम छ । आयस्रोत नभएको नगर र गाउँपालिकालाई निकै गाह्रो हुन्छ । केन्द्र र प्रदेशबाट आएको अनुदानबाट चलाउनुपर्ने पालिकाहरुले सोचेजस्तो काम गर्न नसकिने रहेछ । तरपनि हामीले विकास निर्माणका काम अघि बढाउँदै छौँ ।
२. तपाईंहरुले गर्ने कामसँग सिंगो प्रणालीको दिगोपना जोडिएकोप्रति कत्तिको गम्भीर हुनुहुन्छ ?
हाम्रो नगरपालिका केही बजारी क्षेत्रमा भएपनि धेरैजसो भु–भाग ग्रामीण क्षेत्र भएको हुँदा मेरो कार्यकालको सुरुवातदेखि नै मुख्य २ रणनैतिक सडकहरु बयरघारी सुन्दर बजार, ठुलिभञ्ज्याङ र बयरघारी, बानेथोक विरुवा सडकखण्डको स्तरोन्नतीलाई प्राथमिकतामा राखी कार्य भइरहेको छ । ग्रामीण भेगमा भएका जनताहरुलाई विकासको प्रत्याभुति हुने गरी दुवै तर्फ सडक ढलान र कालोपत्रेको काम अगाडि बढिरहेको छ । साथै नगर क्षेत्रभित्र रहेका कृषियोग्य फाँटको संरक्षणका लागि मेरो कार्यकाल पुरा हुने समयसम्ममा आँधिखोलाको दायाँबायाँ तटबन्ध गर्ने कार्य सम्पन्न गर्ने गरी काम सुचारु भइरहेको छ । हालसम्म करिब २८०० मिटर दोहोरो तटबन्ध सम्पन्न भएको छ । वास्तवमा स्थानीय सरकार नै पहिलो र घर आँगनको सरकार हो ।
३. चुनावी सपना र वाचाहरु कत्तिको पूरा हुँदैछन् ?
हामीले चुनाबमा गरेका बाचा अनुसारको काम थालनी भएको छ । खानेपानीका लागि नगरपालिकामा अर्को मान्छे आएर विकास गर्छु भन्न पर्दैन, मेरै कार्याकालमा पूरा हुनेछ । नगरबासीको डोको–नाम्लो म छुटाउनेछु । एक घर एक धारा बनाएरै छाड्छु् । हामीसँग मुहान नभए पनि लिफ्ट खानेपानी हुनेछ । मेरो कार्यकालमा ३–४ वटा बाटोको काम र आँधीखोला तटवन्धको काम पूरा हुनेछ ।
४. तपाई भौतिक निर्माणमा बढी केन्द्रीत भएजस्तो देखियो । मानवीय विकासबारे के भन्नुहुन्छ ?
सडकलाई पूर्वाधारको पनि पूर्वाधारको रुपमा लिइन्छ । जनताले पनि सहज रुपमा यात्रा गर्न पाउनु, ग्रामीण क्षेत्रमा उत्पादित कृषिजन्य उपजहरु बजारसम्म सहज रुपमा ल्याउन पाउनु, बिरामीहरुले सहज रुपमा स्वास्थ्य सुविधा पाउनु के मानवीय विकास होइन र ? राजधानीकै क्याम्पसमा ५ वर्षपछि विद्यार्थी नहोला जस्तो छ, गाउँमा झन् समस्या छ । तरपनि विकासको पहिलो पूर्वाधार भौतिक पूर्वाधार नै हो । मैले थाहा पाउँदादेखि ४०–४५ सालसम्म मान्छेले खान पाउँदैनथे । यातायात नभएर कुहिएको चामल खानुपथ्र्याे । अहिले यातायातको पहुँच पुगेकाले छानिछानी चामल खान पाएका छन् । त्यसकारण पहिलो पूर्वाधार भनेको भौतिक नै हो ।
५. नगरपालिकाका कति नागरिक कृषि पेशामा आबद्ध छन् ? गाउँका खेतबारी बाँझिएकोमा नगरको दृष्टि पुगेको छ कि छैन ? नगरपालिकाले कृषि विकासका लागि के कसरी काम गर्दै आएको छ त ?
नगर क्षेत्रभित्रका अधिकाँश परिवारहरु कृषि पेशामा आबद्ध छन् । कृषिलाइ नै प्राथमिकतामा राखेर विगत देखि नै बजेट विनियोजन गरी आलु, गहुँ, मकै, धान, सुन्तला तथा कागतीको बिउविजन तथा बेर्ना कृषकहरुलाई अनुदानमा वितरण गरिएको छ । साथै उपकरणहरु मिनी टिलर, कम्बो मिल लगायतका सामग्रीहरु कृषकहरुकै मागका आधारमा अनुदानमा वितरण गर्दै आइरहेका छौँ । यसका साथै साझेदारी कार्यक्रम अन्तर्गत युएनडिपी, मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमहरुमा पनि कृषि क्षेत्रमा नै काम भइरहेको छ । अब कृषकहरुलाई नै प्राथमिकतामा राखी हेफरसँग साझेदारी गरी कृषि तथा पशुपन्क्षीका क्षेत्रमा काम गर्न लागिरहेका छौँ । पहिलो कुरा त भीरकोट नगरलाई प्रकृतिले नै बरदान दिएको छ । हामीसँग मुहान र सिंचाइँ गर्ने ठाउँ पनि छ । सिमलचौर फाँटमा भूमिगत सिंचाइँ पनि सुरु गरिएको छ । भुकम्पपछि धेरै विद्यालय बने तर गाउँका मान्छे रोजगारीका कारण शहर केन्द्रित भए । छोराछोरी पढाउने निहुँले सहरमा बसाई सर्ने क्रम पनि बढ्यो । अर्को थोरै बच्चा जन्माउने चलन बस्यो । जसले गर्दा गाउँमा जनसंख्या कम भएको छ । यसमा दिगो बिकासका लागि हामीले बालमैत्री शासनलाई पनि पूर्णरुपमा लागू गर्ने जमर्को गरेका छौँ । जसको मनस्थिति गर्भावस्थादेखि नै मानसिक सन्तुलन हुँदै जाओस् । महिलाले खानपिन आहार–बिहार राम्रो पाओस् । त्यहाँबाट जन्मने बच्चाले राम्रो शिक्षादिक्षा लिन पाउँछ होला नि ! स्थानीयतहले भवन र बाटोमा लगानी ग¥यो भने अहिल्यै देखिन्छ, कृषिमा लगानी गर्दा ५ वर्ष पछि देखिन्छ तर शिक्षामा गरेको लगानी १८ वर्षपछि देखिन्छ ।
६. बजेट खर्चमा सन्तुष्ट हुनुहुन्छ ?
वार्षिक बजेट कार्यान्वन गर्दा प्रत्यक्ष रुपमा जनतासँग जोडिने गरी टोल तथा वडास्तरबाट नै छनोट भएका योजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखी कार्य गरिएको छ । कार्यक्रम कार्यान्वयन भइरहेको भएपनि आवश्यक बजेट अभावका कारण जनताले भने अनुसारको सबै मागहरु सम्बोधन गर्न सकिएको छैन तर पनि प्राप्त बजेट जनताकै सेवामा खर्च गर्न पाउँदा सन्तुष्ट छु । मलाई बिडम्बना के कुरामा लागेको छ भने २ तिहाइ बजेट त चालु खर्चमा सकिने रहेछ । ३३ प्रतिशत बजेट मात्र पूँजीगतमा देखिन्छ । ६६ प्रतिशत माथि त चालू पूँजीमा खर्च हुने रहेछ । जस्तो सशर्तमा गएको पैसा, शिक्षकमा आएको पैसा हामीले दिन्न भन्न मिल्दैन । त्यसकारण स्थानीय तहमा गएको बजेट धेरै देखिन्छ तर धेरै जस्तो तलबभत्ता र पारीश्रमिक भत्तामै जाने रहेछ ।
७. धेरैले गाउँ रित्तिदै गएको कुरा गर्छन्, रोक्नेबारे के सोच्नुभएको छ ?
गाउँ रित्तिँदै जानुको मुख्य कारण गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सुविधा तथा अवसरको खोजी इत्यादि मुख्य हुन् । हाम्रो नगर सानो क्षेत्र भएको कारण सबै अवसर तथा सेवा सुविधाहरु एकै पटक एकै ठाउँमा प्राप्त नहुनु स्वभाविक हो । अहिले हामीले प्राथमिकतामा राखेर गरिएका कार्यहरु सडकको पहुँच, स्वास्थ्य सेवाको सहज उपलब्धता, शिक्षामा गुणस्तरीयता इत्यादिले गर्दा हाल भइरहेको बसाइँसराइँ क्रमश कम हुँदै जाने कुरामा म विश्वस्त छु । पहिलो कुरा त राज्यले नै यसको व्यवस्थापन गर्नुपर्छ । उदाहरणका लागि काठमाडौँको धनीमानी मान्छेले आफ्ना छोराछोरी अमेरिका, अष्टे«लियामा पढाउन लाखौँ डलर खर्च गरेर पठाउँछन् । गाउँले छोराछोरी राम्रो शिक्षा लिन काठमाडौँ गए भने आश्चर्य मान्नुपर्ने कुरा केही छैन । त्यसैले पहिलो कुरा गाउँघरतिर विकास निर्माणमा लगानी गर्नुप¥यो । व्यनवसायिक खेती नगरे उद्योग हुँदैन किनभने कच्चा पदार्थ किसानले उत्पादन गरेमात्र उद्योग खोलिन्छ । कच्चा पदार्थ उत्पादन गर्ने जनशक्ति गाउँमा छैन । ६० वर्ष माथिका र १८ वर्ष मुनिका बालबच्चा मात्र गाउँमा छन् । अनी कसरी विकास निर्माण हुन सक्छ ।
८. अब नगर विकासका लागि के सोच्नुभएको छ, कस्ता योजना बनाउँदै हुनुहुन्छ ?
हाल सञ्चालनमा रहेका कार्यक्रम तथा योजनाहरुलाई निरन्तरता दिइ प्रभावकारी तवरबाट उद्देश्य पुरा गर्नेछु । भीरकोट नगरपालिका वडा न. ४ मा रहेको भीरकोट पार्क तथा सरसफाई केन्द्रमा मन्दिर सहितको ताल निर्माण गर्ने कार्य अगाडि बढिरहेको छ । जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा टेवा पुग्नेछ र राजश्व वृद्धि हुनेछ । साथै नगरभित्रका निम्न आय भएका घरपरिवारलाई स्वास्थ्य बिमा कार्यक्रम लागु गरी साँच्चिकै स्थानीय सरकारको अनुभुति दिलाउनेछु । मैले धेरै लामो राजनीतिक संघर्ष गरेर, भीरकोट नगरवासीले पत्याएर म नगरप्रमुख भएको छु । विकास–निर्माणसँगै हरेक काममा लगनशील छ भनेरै नागरिकले मलाई पत्याएको जस्तो लाग्छ । तसर्थ यसअघिका साथीहरुले गरेका काम राम्रोसँग अध्ययन गरिरहेको छु, राम्रा कामलाई निरन्तरता दिँदै भीरकोट नगरपालिका हेर्नलायकको बनाउने लक्ष्य छ । यसका लागि जनप्रतिनिधि, नागरिक र सरोकारवाला शक्ति सबैको उत्तिकै सहयोग चाहिन्छ ।
९. बयरघारीको बजार व्यवस्थापन गर्ने कस्तो योजना छ ?
भीरकोट नगरपालिकाको सदरमुकाम बयरघारी बजार भौगोलिक हिसाबले त्यति ठूलो नभएपनि दैनिक रुपमा फोहर संकलन गरी सरसफाई केन्द्रबाट कुहिने र नकुहिने वर्गीकरण गर्ने गरिएको छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गर्ने र नकुहिने फोहर बिक्री वितरण गरी राजश्व वृद्धि समेत भइरहेको छ । भु वर्गीकरण नीति अबलम्वन गरी व्यवसायिक तथा अव्यवसायिक क्षेत्र निर्धारण गरिएकोले सोही अनुसार काम भइरहेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालयसँग समन्वय गरी व्यवस्थित पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । बजारमा बिक्री वितरण हुने खाद्यान्न तथा औषधीजन्य वस्तुहरुको गुणस्तरीयता कायम गर्नका लागि नियमित अनुगमन गर्ने गरिएको छ ।
१०. अन्त्यमा पब्लिक आवाज मार्फत् आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
नगरबासी आमाबुबा, दाजुभाई तथा दिदिबैनीहरुले हालसम्म दिनुभएको सल्लाह सुझाव र सहयोगको लागि धन्यवाद दिन चाहन्छु । मैले नगरपालिकाको आर्थिक तथा सामाजिक विकासका लागि चालेका हरेक क्रियाकलापमा यस्तै किसिमको सकारात्मक सहयोग र सल्लाह सुझाव दिनुहुनेछ भन्ने अपेक्षा पनि लिएको छु । मेरा प्रतिवद्धता र नगरपालिकाका आगामी कार्यक्रमबारे प्रकासन गरिदिन चाहना राख्नु भएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु । आगामी २ बर्ष भित्र भीरकोट नगरपालिकालाई एक नमुना नगरपालिकाको रुपमा चिनारी गर्नका लागि सम्वन्धित सवैमा सहयोगको अपेक्षा राखेको छु । आशा एवं विश्वास छ, राजनैतिक दल, जनप्रतिनिधी, कर्मचारी एवं सम्वन्धित सरोकारवालाको सक्रिय सहयोग रहने छ ।
प्रतिक्रिया