जनप्रियको अभिभावक भेला, विद्यार्थीलाई पुरस्कार र छात्रवृत्ति वितरण
भीरकोट ।
भीरकोटको जनप्रिय माध्यमिक विद्यालयमा पुरस्कार वितरण र अभिभावक भेला सम्पन्न भएको छ । शैक्षिकसत्र २०८१ को विभिन्न शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हो । शैक्षिकसत्र २०८२ लाई फलदायी बनाउन प्रथम अभिभावक भेला गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा बोल्दै भीरकोट नगर उपप्रमुख भगवती रेग्मी अर्यालले महिला तथा बालबालिकाको शैक्षिक उपलब्धि अभिवृद्धि गर्न आफू अहोरात्र खटेर लागि परेको दाबी गरिन । उनले विद्यालयको समग्र विकासका लागि नगरपालिकाले सहयोग गरिरहेको बताउँदै निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
भीरकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष एवं विद्यालयका कार्यवाहक अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा भीरकोट नगरपालिका शिक्षा शाखा प्रतिनिधि विष्णु भट्टराई, निवर्तमान वडा अध्यक्ष याम प्रसाद अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष चोलाकान्त पौडेल, विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष राजेन्द्र बहादुर सिंह, हरिहर पंगेनी, विद्यालयका प्रधानाध्यापक राजेन्द्र कुमार खाँण, कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक सुनिता उच्चै, चन्दादाता देवी प्रसाद पौडेल, पूर्व शिक्षकहरू सूर्य प्रसाद तिवारी, ज्ञान प्रसाद पौडेल, प्रगति टोल विकास समिति अध्यक्ष इन्द्र प्रसाद पौडेल, जिल्ला बाल सञ्जाल अध्यक्ष सुजाता पौडेल, विद्यार्थी सुजन अधिकारी, शिक्षक खेमराज खनाल लगायतले आफ्ना शुभकामना मन्तव्य राखेका थिए ।
विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा शिक्षाप्रेमी व्यक्तित्वहरूद्वारा स्थापित अक्षयकोषबाट समेत पुरस्कृत गरिएको थियो । शैक्षिक सत्र २०८० को एसइइ परीक्षामा गणित विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई आफ्नो व्यक्तिगत तर्फबाट शिक्षक कृष्ण प्रसाद पौडेलले, अङ्ग्रेजीमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई विद्यालयका पूर्व शिक्षक धनु मानन्धरले र नेपाली विषयमा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षक राधिका अधिकारीले पुरस्कार प्रदान गरेका थिए।
शिक्षकलाई समेत पुरस्कृत गरिएको उक्त कार्यक्रममा सर्वध्वज स्मृति पुरस्कारबाट गणित शिक्षक कृष्ण प्रसाद पौडेल र विज्ञान शिक्षक कृष्ण प्रसाद अर्याल सम्मानित भएका थिए । विद्यालयको तर्फबाट नेपाली शिक्षक राधिका अधिकारी र दीपा न्यौपाने पुरस्कृत भए । विभिन्न सांगीतिक झलकहरु सहित सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक कृष्ण प्रसाद पौडेलले गरेका थिए ।


प्रतिक्रिया