बालज्योती स्कूलमा एबाकस प्रतियोगिता
भीरकोट ।
भीरकोट १ को बयरघारीमा अवस्थित बालज्योती स्कुलले आफ्नै प्राङ्गणमा भव्य रूपमा एबाकस प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा १ देखि ६ सम्म करिब २०० विद्यार्थीको सहभागिता रहेको यस प्रतियोगिता एलरोज एजुकेशनको सहकार्यमा आयोजना गरिएको थियो । प्रतियोगितामा रोनिश अधिकारी प्रथम, हृदय गुरुङ द्धितिय र समिप थापा तृतिय भएका छन् । विजयी विद्यार्थीहरुलाई ट्रफीसहित पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै, बालज्योती स्कुलका प्रिन्सिपल रेशम देवकोटाले विद्यालय पाठ्यक्रममा एबाकसको समावेशीकरणको महत्त्वबारे बुझाए । उनले भने, ‘एबाकस केवल गणनाको साधन मात्र होइन, यसले बालबालिकाको स्मरण शक्ति, केन्द्रीकरण, आलोचनात्मक चेत र समस्या समाधान गर्ने क्षमता वृद्धिमा महत्वपूर्ण योगदान दिन्छ। शिक्षणलाई अझ प्रभावकारी बनाउन बालज्योती स्कूलले यस्ता कार्यक्रमलाई प्राथमिकता दिइरहेको छ’ । देवकोटाले आजको युग सिर्जनशीलता र प्रविधिमैत्री शिक्षाको युग हो भन्दै स्कूलले अबका दिनहरूमा रोबोटिक्स, कोडिङ र कृत्रिम बुद्धिमत्ताका कक्षाहरू सञ्चालन गर्ने बताए । जसले विद्यार्थीलाई प्रविधिमैत्री भविष्यको लागि सक्षम बनाउने उनको विश्वास छ।
एलरोज एजुकेशनका निर्देशक विनयराज न्यौपानेले विद्यालयसँगको सहकार्यबारे धारणा राख्दै भने, ‘हाम्रो कार्यक्रम विद्यार्थीहरूको शीघ्र गणना गर्ने क्षमता मात्र नभई तर्कशक्ति विकास गर्न केन्द्रित छ । स्कूलले नवीनतम शिक्षण पद्धति अंगीकार गर्दै आएको छ, जसले विद्यार्थीहरूलाई अभ्यासमैत्री सिकाइ उपलब्ध गराउँछ ।’ यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो बौद्धिक क्षमताको परीक्षण गर्ने अवसर मात्र दिएको छैन, बालज्योती स्कूलले समग्र शिक्षामा नवीनतम दृष्टिकोण अवलम्बन गरिरहेको स्पष्ट सङ्केत समेत गरेको छ ।


प्रतिक्रिया