स्याङ्जामा फरार सूचीमा रहेका २० जना पक्राउ

वालिङ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले २० जना फरार प्रतिवादी पक्राउ गरेको छ । असार महिनामा ७ र साउनको पहिलो हप्तामा १३ जना गरी प्रहरीले २० जना फरार सुचीमा रहेका प्रतिवादी पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक गरेको असार महिनाको कार्यसम्पादन प्रतिवेदनमा बर्षेदेखी फरार रहेका चोरी मुद्दाका २, लागूऔषधका १, सार्वजनिक अपराधका २, बहुविवाहका १ र लेनदेन मुद्दाका १ गरी ७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको उल्लेख गरेको छ भने साउन १ गते एकै दिन १३ जना पक्राउ गरेको छ । असार महिनामा पक्राउ परेका प्रतिवादीहरुबाट अदालतले तोकेको १ वर्ष ३ महिना २६ दिन कैद र ३ लाख २८ हजार रुपैयाँ जरिवाना असुल गराइएको छ ।
साउनको पहिलो हप्ता पक्राउ परेका अंशबण्डा मुद्धाका ३, लुटपिट मुछाका २, सम्वन्ध विच्छेद मुद्धाका २ कुटपिट २, चोरी २, चेक अनादर १ र लेनदेन मुद्धाका १ गरी १३ जना रहेका छन् । ९ जना पुरुष र ४ जना महिलालाई ३० दिनको कैद र २३ हजार ४ सय २० जरिवाना असुल गराइएको छ । स्याङ्जामा झण्डै ६ सय फरार सुचीमा रहेका प्रतिवादीहरु रहेका थिए । एकबर्षको दौडानमा प्रहरीले झण्डै ४ सय जना फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यन्वयनमा सफल भएको अनुमान गरिएको छ ।

असार महिनामा प्रहरीले अपराध अनुसन्धान, शान्ति सुरक्षा, लागूऔषध बरामद तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा गरेका कार्यप्रगतिको विवरण अनुसार कुल २७ वटा मुद्दा दर्ता भएको उल्लेख गरेको छ । २७ मुद्धामा २१ जना प्रतिवादीहरु पक्राउ परेको जनाएको छ । लागुऔषध न्युनिकरण अभियानअन्तर्गत असार प्रहरीले २ जना पक्राउ गरेको उल्लेख गरेको छ । वर्षायामको सुरुवाती महिना भएकाले असारमा बाढीपहिरोका २०, आगलागीका २, चट्याङको १ र अन्य २ गरी कुल २५ वटा विपद्का घटनाहरू घटेको प्रहरीले जनाएको छ । बाढीपहिरो र आगलागीमा परी १–१ जनाको मृत्यु भएको छ ।

यस्तै, असार महिनामा २ वटा सवारी दुर्घटना भएका छन् । सवारी नियम उल्लंघन गर्ने १ हजार ४ सय ९२ वटा सवारी साधनलाई कारबाही गरी १३ लाख ३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ । प्रहरीले भन्सार छलि गरी ल्याएका २ लाख २ हजार ९९४ रुपैँया बराबरको मोटर पार्टसका सामानहरु बरामद गरेको छ ।

प्रहरीले समाजमा हुने अपराध न्यूनीकरणका लागि समुदाय तथा विद्यालय केन्द्रित विभिन्न १४८ वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । यसका साथै, स्याङ्जा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सुरक्षा र सडक सुरक्षाको जानकारी दिन प्रहरीले लिखित (नेपाली÷अंग्रेजी) र अडियो साउण्ड सहितको ’क्यूआर कोड’ तयार गरी प्रचलनमा ल्याएको छ । कार्यालयमा आउने सेवाग्राहीहरूलाई छिटो र पारदर्शी सेवा दिन ‘युवामैत्री नागरिक सहायता कक्ष’ स्थापना गरिएको र असार महिनामा मात्रै १ हजार ६ जना सेवाग्राहीले सेवा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । अपराध न्युनिकरणमा प्रहरीले गस्ती र सचेतनालाई तिब्र बनाउदै लगेको छ ।

 

प्रतिक्रिया