वालिङ खेलमैदानमा गाई संरक्षण गर्न महायज्ञ

वालिङ ।
जिल्लाको वालिङ ८ स्थित खेलमैदानमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ । धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रमले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी फागुन १ गते देखी ७ गते सम्म वालिङ खेल मैदानमा ज्ञान महायज्ञ सञ्चालन गरिने यज्ञ कार्यसम्पान समितिका संयोजक दिलिप्रताप खाँणले जानकारी दिए । छाडा गाईको संरक्षण गरिदै आएकोमा गाईको पालनपोषणमा समस्या देखिएपछि महायज्ञ आयोजना गर्न लागिएको खाँणले बताए । गाईको महत्व हराउदै जानुले गाईलाई छाडा छोड्ने प्रवृत्तिको विकास भएकाले उनीहरुको संरक्षण गर्नु मानवजातीको दायीत्व ठानेर यो कार्य थालनी हुन थालेको खाँणले पत्रकार सम्मेलनमा बताए ।

महायज्ञमा प्रखर तात्विक वक्ता पं. नेत्रप्रसाद पराजुली बाट मूल पाठ तथा पूजा अर्चना गरिने निर्देशक उपसमितिका संयोजक हरिहर पाण्डेले जानकारी दिए । वालिङ ८ मा निर्माण गरिएको गौशालाको संरक्षणका लागि महायज्ञ आयोजना गर्न लागिएको यज्ञ व्यवस्थापन समितिले जनाएको छ । हाल उक्त गौशालामा १ सय २५ वटा गाईहरु रहेका छन् ।

फागुन १ गते कलश यात्रा निकालिने छ । महायज्ञमा बिहान ५ बजेदेखि ९ बजेसम्म रुद्री, चण्डी पाठ तथा वेद ध्वनीहरुको उच्चारण, ९ बजेदेखि ११ बजेसम्म पाठ परायण ध्यान एवं जप, ११ बजेदेखि ४ बजेसम्म संगीतमय कथा प्रवचन एवं दानदाता सम्मान, ४ बजेदेखि ४ः३० सम्म विश्राम, ४ः३० देखि ५ः३० सम्म पुष्पाञ्जली र फूल, प्रसाद वितरण र ५ः३० देखि ७ बजेसम्म सन्ध्या पूजा भजन किर्तनको कार्यक्रम रहेको यज्ञ व्यवस्थापन समितिले जनाएको छ । फागुन १ गते स्नान सहित यज्ञमा पाल्नुहुन आयोजकले सम्पूर्णमा आग्रह समेत गरेको छ ।

गाई संरक्षणको लागि आयोजना गरिने यज्ञले नयां पुस्तामा गौमाताको सेवा, सद्भाव र संरक्षणमा आफ्नो दायित्व र कर्तव्य बोध गराउने लक्ष्य लिईएको छ । यज्ञमा विशेष गौदान, ब्रतबन्ध, तुलादान, भूमिदान, नवग्रह शान्ति, कालसर्प योग शान्ति, पितृदोष शान्ति, लघुरुद्री पाठ, सतचण्डी पाठ परायण, सवा लाख गायत्री मन्त्रजप तथा हवन र पितृहरुको वैकुण्ठवासको कामना हेतु १० लाख दिप प्रज्वलन कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ । यस महायज्ञबाट संकलित बचत रकमलाई अक्षयकोष स्थापना गरि गौसंरक्षणमा खर्च गरिने महायज्ञ आयोजक समितिका सदस्य भुपराज वगालले बताए । महायज्ञ मार्फत धार्मिक चेतना, गाईको महत्व, मानवीय सभ्यता, गौसंरक्षणमा हाम्रो दायित्व, सभ्य र अनुशासति समाजको निर्माण, धार्मिक पर्यटनको विकास तथा विशेष गरी गाई पालन संरक्षण, गोमूत्र प्रशोधन एवं गोबरबाट विभिन्न संभावित धुपबत्तिहरुको प्रयोग गर्दै गाईको व्यवस्थापन गर्ने उद्देश्य रहेको छ ।

प्रतिक्रिया