‘शसस्त्र प्रहरी गुल्म वालिङमा राख्न जोड’

श्रीकृष्ण सिग्देल,
(वालिङ) स्याङ्जा ।
२२ बर्षदेखी अस्थाईरुपमा रहदै आएको सशस्त्र प्रहरी बलको गुल्म वालिङमा रहनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । वालिङ नगरपालिकाले सशस्त्र प्रहरी बललाई जग्गा व्यवस्थापनका लागि आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाहरुले वालिङमै राख्नुपर्नेमा जोड दिएका हुन् । सशस्त्र प्रहरीबल वालिङले जग्गा ब्यावस्थापन गर्न यहाँका सबै सरोकारवाला निकायसगँ अनुरोध गरेपछि नगरपालिकाले यसको भुमिका निर्वाह गरेको हो । पटक—पटक सशस्त्र प्रहरी बलले अस्थाईरुपमा बसोवास गर्दा कठिन परिस्थीती झेल्न बाध्य भएको अनुभव सुनाउदै यसले सेवाप्रवाहमा समेत कठिनाई भएकाले महशुष गर्दै जग्गा व्यवस्थापन गरिदिन आग्रह गरेको थियो । सुरक्षाको आवश्यकता ठान्ने तर जग्गा व्यवस्थापनमा यहाँका समुदायले जोडले चासो नदिदा कतै सशस्त्र प्रहरी बल अन्तै सर्छ कि भन्ने चिन्ता सरोकारवालाहरुले लिएका छन् ।

वालिङ नगरपालिका सभाहलमा आयोजित अन्तरक्रियामा सहभागीले सुरक्षाको दृष्टिकोणले सशस्त्र गुल्म वालिङमा अपरिहार्य रहेको बताएका छन् । सशस्त्र प्रहरी बल नं. ३० गुल्म पुर्णमृत भवानी माविको जग्गा रहेको वालिङ ८ घ्याङलिङमा विगत २२ वर्षदेखि अस्थाई रुपमा रहँदै आएको छ । गुल्मलाई जग्गा व्यवस्थापन गर्न नगरपालिकाले सांसद, जनप्रतिनिधि, राजनीतिकदल, उद्योगी व्यवसायी, पत्रकार लगायत सरोकारवाला निकायका सबै प्रतिनिधिहरुलाई बोलाएर अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सशस्त्र प्रहरी बल गुल्मका गुल्मपति प्रहरी नायव उपरिक्षक राजनलाल श्रेष्ठले २०५८ सालमा बेस क्याम्पमा रहेको सशस्त्र प्रहरी बल २०७५ सालबाट गुल्ममा स्तरोन्नती भएको जानकारी दिए । १६० जनाको स्थायी दरबन्दी रहने गुल्मका लागि भौतीक संरचना निर्माण गर्न नपाउदा शसस्त्र प्रहरी जवान देखी अधिकृतहरु सम्मले समस्या झेल्नुपरेको गुनासो उनले सुनाए । टहरामा बसेर सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा जवानहरुले काम गर्नुपर्ने अवस्था छ उनले अन्तरक्रियामा भने,‘जसले गर्दा सुरक्षाको कार्यसम्पादनमा कठिन भएको छ ।’ स्थायी संरचनाका लागि जग्गा आवश्यक परेकाले तत्काल जग्गाको व्यवस्थापन हुन नसकेमा सशस्त्र प्रहरी बलको गुल्म सदरमुकाम वा अन्य ठाँउमा जानसक्ने जानकारी समेत उनले दिए ।

कार्यक्रममा प्रदेश सांसद सरस्वती तिवारी, पुर्व सांसद मोहन रेग्मी, वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले वालिङको दिगो विकास र सुरक्षित महशुष गराउन सशस्त्र प्रहरी बललाई राख्नुपर्नेमा जोड दिए । उपयुक्त ठाँउ अन्यन्त्र नभएकाले विद्यालय सगँ सहमति गरी हाल बसेकै ठाँउमा सशस्त्र प्रहरी बललाई राख्न उनीहरुले सुझाव दिए । आ—आफ्ना क्षेत्रबाट यसलाई बहसको बिषय बनाएर भएनी सुरक्षा जस्तो संवेदनशिल युनिटलाई यथास्थानमा राख्न सके वालिङ लगायत आसपासका क्षेत्रलाई अत्यन्तै राम्रो हुने तर्क उनीहरुको छ । यसका लागि विद्यालय परिवार, राजनीतिकदल, उद्योगी व्यवसायी, मिडिया क्षेत्र र नगरपालिका संवेदनशिल हुनुपर्ने बेला आएको उनीहरुको जोड थियो । सुरक्षा मजबुद भएकै कारण दर्जनौ बैंक तथा वित्तिय संस्थाहरु आएको स्मरण गर्दै सशस्त्र प्रहरी बल हाम्रो सम्पती हो भन्ने भावना बोकेर अगाडी बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

पुर्णामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले यसअघि विद्यालय व्यवस्थापन समितिले सशस्त्र प्रहरी गुल्म रहेको जग्गा स्थायी रुपमा दिने निर्णय नगरेको जानकारी दिए । यसअघि विद्यालयले आफ्नो जग्गालाई आम्दानीको स्रोत बनाउन खोजिएको जानकारी दिए । आवश्यकता भएमा सबै सरोकारवालाहरु सगँको छलफललाई विद्यालय प्रशासन कुनै बाधक नहुने उनले बताए । विद्यालयसगँ कुनै समन्वय नगरी २०७५ सालमा वालिङ नगरकार्यपालिका बैठकले सशस्त्र प्रहरी बललाई हाल बसेको जग्गादिने निर्णय गरेपछि विवादमा आएको उनले बताए । समन्वयको अभावमा यो समस्या आएको हुनसक्ने उनले बताए ।

वालिङ नगरप्रमुख कृष्ण खाँणले वालिङ नगरभित्रको शान्ति सुरक्षा संगै विपत्को समयमा पनि ठुलो सहयोग गरिरहेको यो सुरक्षा फौजलाई वालिङमा नै राख्नुपर्ने बताए । अस्थायी रुपमा लामो समय सम्म रहेको हुदा भौतिक निर्माण गर्न सहज हुनेगरी जग्गा व्यवस्थापनका लागि सबै एकजुट भइदिन खाँणले आग्रह गरे । वर्षात्को समयमा राति बस्न असहज भएको स्मरण गराउदै नगर प्रमुख खाँणले तिन महिनाभित्र यो जग्गाको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । शसस्त्र प्रहरी बलको गुल्म यो क्षेत्रमा रहदा सुरक्षाको ठुलो महशुष भइरहेको सहभागीहरुले बताएका थिए ।

प्रतिक्रिया