आँधिखोला एग्रो फर्ममा लाखौंको क्षति

स्याङ्जा ।

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं १३ जिमिरेमा मा पशु प्राविधिकको हेलचेक्राइका कारण आँधीखोला एग्रो फर्ममा लाखौंको क्षती भएको छ। फर्म संचालक शेषकान्त सुवेदीको बाख्रा फर्ममा बाख्राहरू २१ गते अचानक बिरामी भएपछि उनले पशु प्राविधिकलाई बोलाए। तर न त पशु प्राविधिक समयमा फर्ममा आए न त बिरामी हुनाको सही कारण नै पत्ता लगाए। ढिलो गरी फर्ममा आइपुगेका पशु प्राविधिक अनिल गौतमले सामान्य फुड पोइजनिङ भएको र समस्या गम्भीर नभएको भन्दै रोगको कारण र निदानमा खासै राम्रो तरिकाले मतलब गरेनन् । बाख्रा बिरामी भएर मर्न थालेपछि उनले भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख डा। इन्द्र भट्टलाई समेत फिल्डमा आएर बाख्रा बिरामी हुनुको कारण पत्ता लगाइदिन र उपचारमा सहयोग गर्न अनुरोध गरे। तर भट्टले आफू वालिङ जान लागेको बताउँदै सुवेदीको अनुरोधलाई लत्याएर पशु प्राविधिक अनिल गौतमलाई बोलाउन भने। पशु विज्ञ एवं प्राविधिकले समयमा सही उपचार र सल्लाह नदिँदा करिब १० लाख बराबरको क्षति भएको फर्म संचालक सुबेदीको दाबी छ।
सुवेदीले ५० लाखको लगानीमा विगत ४ वर्षदेखि व्यवसायिक बाख्रापालन गर्दै आएका छ्न्। करिब एक दशक समय कतारमा वैदेशिक रोजगारीमा बिताएका ४४ वर्षीय सुवेदीले बाख्रापालन बाटै परिवार पाल्दै आएका छ्न्। उनको खोरमा सानाठूला गरि करिब ५० वटा बाख्रा थिए। तर दुई दिनको बिचमा २२ वटा बाख्रा मरिसकेका छ्न्। बाख्रा विरामी हुनुको कारण समेत थाह पाउन नसकेका परिवार अहिले एकदमै चिन्तामा छ्न्। आज मात्र फिल्डमा आएको डा। भट्ट सहितको टोलीले विषाक्त घाँस र दानाको कारण बाख्राको मृत्यु भएको बताएको पीडित कृषक सुवेदीले बताए।

उनले भने, हामी सामान्य कृषक हौं । बाख्रा पाल्न, स्याहार सुसार गर्न जानेका छौं। रोगको कारण पत्ता लगाउने र उपचार गर्ने काम विज्ञ र प्राविधिकको हो तर उहाँहरूको लापरबाहीले गर्दा मेरा बाख्रा सखाप हुन लागे। पाठापाठी टुहुरा भए। यस्तो दुख अरू कुनै कृषकलाई पनि नपरोस्। कृषककी आमा गौरा सुवेदीले गहभरी आँसु पार्दै रूदैं भनिन् , हाम्रो सबै लगानी डुब्ने भयो। मेरो जेठो छोराको दुख देखेर म राम्रोसँग बोल्न पनि सकेकी छैन। ठूलाबडाले हाम्रो दुख बुझ्लान र बाबू ।
बाख्रा व्यवसायी संघ स्याङ्जाका सदस्य उदय जि टी ले सुवेदीको बाख्रा फर्ममा भएको अकल्पनीय क्षतीले वरपरका सबै बाख्रापालक कृषक चिन्तित भएको बताए। उनले मरेका सबै बोयर जातीका उन्नत जातका बाख्रा भएको कारण फर्ममा ठूलो क्षती भएको बताए। जिटीका अनुसार सुवेदीको फर्ममा अष्ट्रेलियाबाट करिब २ लाख ५० हजार खर्चेर ल्याएको शुद्ध बोयर जातको बोका सहित २२ वटा बाख्रा मरेका छ्न्। पशु प्राविधिकको लापरबाहीका कारण समयमा सही उपचार नपाउँदा सुवेदीको फर्ममा ठूलो क्षती भएको जिटीको दाबी छ।

वडा नं १३ का वडा अध्यक्ष जुद्द बहादुर थापाले सुबेदीको फर्ममा भएको क्षती देख्दा आफू पनि दुखी भएको बताए। २१ वटा बाख्रा मरिसकेको पुष्टि गर्दै उनले भने, उहाँ मेहनती र इमानदार किसान हो। आवश्यक क्षतिपूर्तिको व्यवस्था मिलाउन मैले प्रयास गरिरहेको छु। यस विषयमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा। इन्द्र भट्टलाई सोध्दा आफू निरन्तर कृषकको सम्पर्कमा रहेको र उपचारका लागि सुबेदीको फर्ममा पुगी फर्कदै गरेको बताए। बाख्राको मृत्युको कारण पत्ता लगाउन नसकिएकाले नमुना संकलन गरि पोखरा पठाउन लागिएको डा। भट्टको भनाइ छ। उनले भने, “सुवेदीले भने जस्तो २१,२२ वटा बाख्रा मरेका छैनन् , १०,११ वटा जति मात्रै हो ।” वडा अध्यक्ष र विज्ञको तथाङ्क बाझिनुले पनि डा। भट्ट समयमा किसानको फर्ममा नपुगेको र उपचारमा लापरबाही गरेको देखिन्छ।

प्रतिक्रिया