स्याङ्जाका ७ पालिकाको हिउँदे अधिवेशन सम्पन्न

अमृत अर्याल
वालिङ ।
जिल्लाका ११ पालिकामध्ये ७ वटा पालिकाहरुको हिउँदे अधिवेशन सम्पन्न भएको छ । यहाँका ५ नगरपालिकाहरु मध्ये पुतलीबजार, वालिङ, भीरकोट र चापाकोटले यसअघि नै नगरसभा सम्पन्न गरिसकेका छन भने गल्याङ नगरपालिकाको नगरसभा हुन बाँकी छ । ६ वटा गाउँपालिका रहेको स्याङ्जामा ३ वटाको गाउँसभा सम्पन्न भैसकेको छ भने ३ वटा पालिकाको सम्पन्न हुन बाँकी छ । आँधीखोला, कालीगण्डकी र अर्जुनचौपारीले गाउँसभा सम्पन्न गरिसकेका छन भने फेदीखोला, बिरुवा र हरीनासको गाउँसभा सम्पन्न हुने क्रममा छन् ।
फेदीखोला गाउँपालिकाको गाउँसभा माघ २९ गते मात्र हुदैंछ । बिरुवा गाउँपालिकाको गाउँसभा माघ १५ मा हुने अध्यक्ष सुर्यबहादुर कुँवरले जानाकारी दिए । पुस महिनामै सम्पन्न गर्ने भनिएको गाउँसभा घरेलु मदिरा सम्वन्धि ऐन निर्माणको क्रममा ढिलाई भएकाले माघमा गर्नुपरेको अध्यक्ष कुँवरले बताए । यता हरीनासको गाउँसभा भने कहिले गर्ने भन्ने मिति हालसम्म पनि तय भएको छैन् । प्रमुख प्रशासकीय अधिकृतको टुंगो नलाग्दा गाउँसभा अनिश्चित बनेको अध्यक्ष खिमनारायण मानन्धरले बताए ।
यता वालिङ नगरपालिकाकी उपप्रमुखसहित १५ जना जनप्रतिनिधिले बहिस्कार गरे पनि बहुमतबाट नगरसभा सम्पन्न भएको छ । पुस २७ मा भएको १५औँ नगरसभा नगरपालिकाकी उपप्रमुख कविता गैह्रेसहितले बहिस्कार गरेका थिए । नगरसभामा नगर प्रमुख कृष्ण खाँणले नगर शिक्षा ऐन २०७४ मा पहिलो संशोधनको प्रस्ताव पेश गरेका थिए । नेपालको संविधानसँग बाझिँने गरी सो ऐनको संशोधन गरेको भन्दै उपप्रमुखसहित अन्य सदस्यहरुले नगरसभाको बहिस्कार गरेका थिए ।
उपप्रमुखले नगरसभा बहिस्कार गरे पनि बहुमतले सो संशोधित ऐन पारित गर्नुका साथै सभा पनि सम्पन्न भएको नगरप्रमुख खाँणले पब्लिक आवाजलाई बताए । उपप्रमुखले नेपालको संविधानविपरित संशोधन गरेको आरोप लगाए पनि आफूले विधायन समितिको छलफलबाट नगर शिक्षा ऐन २०७४ संशोधन गरेको उनले सुनाए । विधायन समितिबाट छलफल गरेर कार्यपालिका बैठकबाट पारित भई सो ऐनलाई नगरसभामा प्रस्तुत गरेको उनको भनाइ छ । तर उपप्रमुखले आफ्नो भनाइ नै नराखी नसरसभा बैठक बहिस्कार गरेको उनको आरोप छ । उनका अनुसार पालिकाका ७२ जना जनप्रतिनिधिमध्ये ५९ जना सभामा उपस्थित रहेका थिए । सहभागी सबैले पारित गरेको उनको भनाइ छ ।
उता उपप्रमुख गैह्रेले आफूहरुसँग छलफल नै नगरी ऐन संशोधन गरेको आरोप लगाएकी छन् । आफूले तीन पटकसम्मको कार्यपालिका बैठकमा ऐनको संशोधनबारे माग गरे पनि कुनै सुनुवाइ नभएको उनले पब्लिक आवाजलाई सुनाइन् । सो ऐनमा वडा अध्यक्षलाई नै स्वतः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने गरी संशोधन भएको छ ।
‘शिक्षा स्वास्थ्य र पूर्वाधार, समुन्नत पुतलीबजारको आधार’ भन्ने नाराका साथ पुतलीबजार नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न भएको छ । स्याङ्जाको सिटीहलमा सम्पन्न भएको उक्त नगरसभाले सार्वजनिक खरिद नियमावली २०८० र सुशासन ऐन २०८० सर्वसम्मत पारित गरेको छ । पुस २९ मा सम्पन्न भीरकोटको १३ औं नगरसभाले आर्थिक ऐन र विनियोजन ऐन २०८० को पहिलो संशोधन गरेको छ । यसैगरी नगरसभाले घ वर्गका निर्माण व्यावसायीहरुको इजाजतपत्र नविकरण तथा वितरण सम्वन्धि कार्यविधि २०७७ मा दाश्रो संशोधन गरेको छ ।
पुस २९ मै सम्पन्न चापाकोटको १४ औं नगरसभाले वन ऐन २०८० सर्वसम्मत पारित गरेको छ । नगरसभाले उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि र अभिभावकको स्वास्थ्य बिमा सम्वन्धि कार्यविधि पारित गरेको हो । जसअनुशार अब किसानहरुले उत्पादन गरेको दुधमा प्रतिलिटर २ रुपैंया अनुदान पाउने भएका छन भने अभिभावकको निशुल्क स्वास्थ्य बिमा हुने भएको छ । यसैगरी पुस २५ मा सुरु भएर २८ गते सम्पन्न कालीगण्डकीको १४ औं गाउँसभाले वातावरण र प्रज्ञा प्रतिष्ठान शिक्षा ऐन गरी २ वटा ऐन पारित गरेको छ ।
पुस २६ मा सम्पन्न अर्जुनचौपारीको १४ औं गाउँसभाले ३ वटा नयाँ ऐन पारित गरेको अध्यक्ष प्रकाश तिवारीले बताए । तिवारीका अनुशार वन ऐन, खानेपानी तथा स्वच्छता सम्वन्धि ऐन र लिलाम बिक्री सम्वन्धिको आर्थिक ऐन सर्वसम्मत रुपमा पारित भएको हो । करको दायरामा नपरेकालाई उक्त दायरामा समेट्नका लागि केही आर्थिक ऐन संशोधन गरेको तिवारीको भनाई छ । सोही दिन सम्पन्न आँधीखोलाको १४ औं गाउँसभाले विनीयोजन ऐन २०८० संशोधन गरेको प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए । गाउँसभाले विभिन्न योजनाहरुका केही बजेटमा शिर्षकान्तर गरेको अधिकारीको भनाई छ ।

प्रतिक्रिया