चापाकोट सम्भावना बोकेको नगर हो—मन्त्री गुरुङ

वालिङ ।
कतै ठाउँ चिनाउन महोत्सवको आयोजना गरिन्छ त कतै व्यापारिक कारोबार गर्न महोत्सव गरिन्छ । पछिल्लो समय जिल्लामा मेला महोत्सव आयोजना गर्ने होड नै चलेको छ । पर्यटन र कृषिको प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्ने गरिएको छ । जिल्ला सदरमुकाम स्याङ्जामा महोत्सव सकिएको १ महिना नबित्दै वालिङमा अर्काे महोत्सव सम्पन्न भयो । वालिङमा महोत्सव सकिएको १ साता पनि नवित्दै चापाकोटमा अर्काे महोत्सवको आयोजना गरिएको छ । चापाकोटको सुन्तलीटारमा बिहिवारबाट दाश्रो चापाकोट महोत्सव शुरु भएको छ । चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव शुरु भएको हो । स्थानीय उत्पादनको प्रसारप्रसार बजारीकरणमा सहयोग गर्न तथा जिल्लाका पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन गर्दै नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले आर्थिक समृद्धिका लागि लगानी गर्न व्यवसायीहरुलाई आग्रह गरे । सरकारले मात्रै समृद्धिका लागि काम गरेर देश समृद्ध नबन्ने बताउँदै गुरुङले नीजि क्षेत्रले लगानी गरेर उद्योग, कलकारखाना खोल्नुपर्ने आवश्यकता रहेको बताए । गुरुङले मेला महोत्सव मनोरन्जनका रुपमा मात्रै आयोजना नगरि जिल्लाको फाईदाका लागि आयोजना हुनुपर्नेेमा जोड दिए । उनले चापाकोट धेरै क्षेत्रमा राम्रो संभवना बोकेको नगरपालिका भएको भन्दै चापाकोटलाई चिनाउन महोत्सवले टेवा पुग्ने विश्वास व्यक्त गरे । मुलुक बदल्छु भन्ने नेताहरु पहिला आफैँ बदलिन आवश्यक रहेको उनले बताएका छन् ।

गुरुङ्ले अबको राजनीति भ्रष्टाचारमा केन्द्रित नभै विपन्नलाई सम्पन्न बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए । सबैमा राजनीतिक संस्कार हुनुपर्छ भन्दै गुरुङले एउटा राजनीतिक दलले अर्काेलाई सम्मान गर्नुपर्ने बताए । समाजमा रहेका विभिन्न समुदायविच सहिष्णुता कायम हुनुपर्नेमा जोड दिदैं मन्त्री गुरुङले यस्ता खाले मेला महोत्सवले सामुहिक एकता र समभाव प्रकट हुने बताए । आफुले मुलुकको समुन्नतीका लागि राजनीति गरेको दावी गर्दै गुरुङले आफु मन्त्री हुँदा गफ नभै काम गरेर देखाउने बताए । चापाकोटको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सिंचाईको बिषयमा आफु जानाकार रहेको बताउदै उनले थप संरचना निर्माणका लागि आवश्यक सहयोग गर्ने बताए ।

महोत्सवमा २ सय ५० स्टल रहेको आयोजकले जनाएको छ । फागुन ३ गतेबाट सुरु भएको महोत्सव १३ गतेसम्म संचालन हुदैंछ । ‘यसरी आयोजना हुने मेला महोत्सवमा व्यापारी उद्योगीले आफ्नो सामानको प्रचारप्रसार गर्न पाउँछन्,’ उद्योग वाणिज्य संघ चापाकोटका अध्यक्ष निर्मल राना मगरले भने, ‘जसले गर्दा आर्थिक आयमा वृद्धि हुन्छ ।’ उनका अनुसार महोत्सवमा विभिन्न जिल्लाबाट सर्वसाधरण आउने भएकाले जिल्लामा उत्पादित वस्तुको छोटो समयमा धेरै प्रचारप्रसार गर्न सकिन्छ ।

प्रतिक्रिया