मोवाइल चोरी गर्ने दुई युवक पोखराबाट पक्राउ

स्याङ्जा ।
स्याङ्जाबाट मोवाइल चोरी गरी पोखरा पुगेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका –१३ मजुवास्थित चुनीकुमारी मल्लको कोठाबाट मंगलबार साँझ विभिन्न कम्पनीका तीन थान मोवाइल चोरी गरी पोखरा पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरिएको हो । प्रहरीले चोरी गरी भागेको अवस्थामा पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।

पक्राउ पर्नेमा स्याङ्जा आँधिखोला गाउँपालिका –५ चिलाउनेभाटी घर भई कास्की पोखरा महानगरपालिका –५ बस्ने २१ बर्षीय पवन परियार र अर्जुनचौपारी गाउँपालिका –४ स्थायी घर भई पोखरा बस्ने २४ बर्षीय शाहिल गुरुङ रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट रेडमी कम्पनीको स्मार्ट मोवाइल एक थान, ओप्पो कम्पनीको स्मार्ट मोवाईल एक थान र भिभो कम्पनीको स्मार्ट मोवाइल एक थान बरामद भएको सूचना अधिकारी चौधरीले बताए ।

पक्राउ परेका दुई जनालाई जिल्ला अदालत स्याङ्जाबाट ९ दिनको म्याद थप गरी चोरी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफ्ना मातहतका प्रहरी युनिटलाई गाउँगाउँमा पुगेर शान्तिसुरक्षा र अपराधिक क्रियाकलापका बारेमा नागरिकलाई जानकारी गराउने गरी मोवाइल गस्ती खटाउदै आएको छ । जिल्लामा नयाँ प्रहरी प्रमुखको आगमन सगै सबै युनिटहरुलाई गाउँगाउँमा मोवाईल गस्ती गर्न खटाएका हुन् ।

प्रतिक्रिया