भीरकोटमा मनाइयो विश्व बालश्रम विरुद्धको दिवस

भीरकोट ।

बालश्रम विरुद्धको विश्व दिवस (जुन १२) को अबसरमा बिहीवार भीरकोट नगरपालिका वडा नं. ८ मा विविध कार्यक्रम सम्पन्न गरिएको छ । “बालश्रमको मुद्दामा विगतका वर्षहरु भन्दा प्रगती भएको स्पष्ट देखिन्छ तर, अझै धेरै कुराहरु गर्नुपर्ने छन् र ति प्रयासहरुलाई शिघ्र तीव्रता दिन आवश्यक छ” भन्ने मुल नाराका साथ वालवालिका लक्षित कार्यक्रम सम्पन्न भएको हो । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना, भीरकोट वडा नं ८ को संमन्वय एव सहजीकरण तथा व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।

वडा नं. ८ को पब्लिक एकेडेमी माध्यमिक विद्यालयमा प्रभातफेरी, अन्तरक्रिया तथा अभिमुखीकरण र विभिन्न रचनात्मक प्रस्तुतिसहित विश्व बालश्रम विरुद्धको दिवस मनाइएको हो । कार्यक्रममा विद्यार्थीहरुले गीत, कविता मार्फत बाल अधिकार र बालश्रमको विषयमा आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । पब्लिक एकेडेमी मा.वि., सिरुखर्क जोगिस्थान मा.वि. र भाग्योदय माध्यमिक विद्यालयका विद्यार्थीहरुले प्लेकार्ड, व्यानर बोकेर बालश्रमका विरुद्ध जनचेतना जगाउदै पन्चेबाजासहित प्रभातफेरी गरेका थिए ।

कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बाल अधिकार र बालश्रमका विरूद्ध सबै एकजुट हुनुपर्ने बताए । सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले देशव्यापी रुपमा सकारात्मक संदेश प्रवाह गर्न बालमैत्री नगरपालिका भीरकोटमा कार्यक्रम गरिएको बताए । गीत र कवितामार्फत बालश्रम विरुद्ध आवाज उठाएकोमा खुशी व्यक्त गर्दै पौडेलले बालश्रम विरुद्धको अभियानमा सबै एकजुट भएर निरन्तर लाग्नुपर्नेमा जोड दिए । उनले बालश्रम र बाल अधिकारका विषयमा प्रष्ट पार्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी व्यवस्थाको बारेमा जानकारी समेत गराएका थिए ।

कार्यक्रममा कविता, गीत र पन्चेबाजा प्रस्तुत गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कारसहित प्रोत्साहन गरिएको थियो । कार्यक्रममा भीरकोटका नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, निवर्तमान नगर प्रमुख छायाराम खनाल, कार्यपालिका सदस्य चित्र बहादुर भुजेल, वडा अध्यक्ष नन्दलाल खनाल, प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरी, जिल्ला बाल संजालका अध्यक्ष सुजाता पौडेल लगायतले बालश्रम र बालअधिकारका विषयमा आफ्नो धारणा राखेका थिए । अन्तराष्ट्रिय श्रम संगठन आईएलओ कन्भेसनको भाग १३८ मा नेपालले पनि हस्ताक्षर गरि एैक्यवद्धता जनाएको छ । नेपालमा बालबालिकासम्बन्धी ऐन २०४८ ले १६ वर्षमुनिकालाई बालबालिका भनेर परिभाषित गरेको छ ।

प्रतिक्रिया