गण्डकीका १० ठाउँमा खुल्यो ‘करियर बुथ’

वालिङ ।

नेपालमा बेरोजगारी र दक्ष जनशक्तिको अभाव दुबै समस्या छन् । एकातर्फ रोजगारीको अवसर खोज्दै युवाहरू वैदेशिक रोजगारीमा धाइरहेका छन् भने अर्कोतर्फ यहाँका उद्योग–व्यवसायीले आवश्यक सीपयुक्त जनशक्ति नपाएर कार्यक्षेत्रमा कठिनाइ भोगिरहेका छन् । यस्तै समस्या समाधान गर्न गण्डकी प्रदेशमा करियर बुथको स्थापना गरिएको छ । काठमाडौँ विश्वविद्यालय र इटीएच जुरिचको साझेदारीमा सञ्चालन भइरहेको शिक्षा प्रणाली कार्यशाला (आइल्याव) नेपाल कार्यक्रम अन्तर्गत गण्डकी टिम मार्फत १० स्थानमा करियर बुथ स्थापना हुने भएको हो ।

करियर बुथ स्थापना गर्नका लागि प्रदेशका शैक्षिक र व्यवसायिक संस्थाहरुसँग पोखरामा आयोजित एक कार्यक्रमका वीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी भई हस्ताक्षर भएका संस्थाहरुमा रोजगार सूचना केन्द्र (सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय) पोखरा, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद गण्डकी प्रदेश, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान, व्यवसाय प्रवर्धन केन्द्र पोखरा महानगरपालिका, वालिङ नगरपालिका, माछापुच्छ्रे गाउँपालिका, पोखरा प्राविधिक शिक्षालय, किसान प्राविधिक शिक्षालय, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युट रहेका छन् ।

गण्डकी प्रदेशमा स्थापना भएको करियर बुथ को पहललाई भविष्यमा रोजगारी, सीप र युवाको भविष्यसँग प्रत्यक्ष जोडिने महत्वपूर्ण कदमका रूपमा हेरिएको आइल्याव गण्डकीका संयोजक तथा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी (गैरे)ले बताइन् । उनी भन्छिन्, “यसको लक्ष्य भनेको बेरोजगार युवाहरूलाई रोजगारीका अवसरसँग जोड्नु, विभिन्न संस्थालाई दक्ष जनशक्ति उपलब्ध गराउनु र कामदारलाई उनीहरूको सीप र रूचिअनुसार मार्गदर्शन गर्नु हो ।”

विशेषगरी पाँच प्रकारका व्यक्तिहरूलाई सेवा दिने गरी करियर बुथ डिजाइन गरिएको आइल्याव गण्डकीका सदस्य शरद कोइरालाले बताए । रुचि र क्षमताबारे स्पष्टता नभएकाहरु, काममा संलग्न तर अपूरो दक्षता वालाहरू, अनौपचारिक रूपमा दक्षता हासिल गरेका व्यक्तिहरू, अनुभवी व्यक्तिहरू र पेशागत रूपमा स्थापित व्यक्तिहरूले यो कार्यक्रमबाट प्रत्यक्ष फाईदा लिन सक्ने कोइरालाको भनाई छ । शिक्षा प्रणाली कार्यशाला कार्यक्रम नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम प्रणालीलाई सुदृढ बनाउन लक्षित छ । काठमाडौँ विश्वविद्यालयले देशभरबाट करियर बुथ स्थापनाका लागि प्रस्ताव आह्वान गरेको थियो । सो आह्वानमा गण्डकी प्रदेशको टिमले प्रस्तुत गरेको अवधारणा छनोट भई कार्यान्वयन र परीक्षणका लागि स्वीकृत भएपश्चात १० वटा संस्था छनौट भएको आइल्याव गण्डकीका सदस्य नवराज अधिकारीले जानकारी दिए ।

करियर बुथले सेवाग्राहीलाई पेशागत विकासका लागि आवश्यक पहिचान, तालिम, सीप परीक्षण, रोजगार अवसर र उद्यमशीलता परामर्श उपलब्ध गराई प्रदेशभित्रै दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्‍याउनेछ । यसले बाहिर रोजगारी खोज्नुपर्ने बाध्यता कम गर्न सक्छ । यससँगै प्रदेशको आर्थिक चक्रभित्रै युवाको श्रम–शक्ति परिचालन हुने र उद्यमशीलता बढ्ने अपेक्षा गरिएको छ । यसरी छनोट भएपछि गण्डकी प्रदेशको टोलीले करियर बुथको मोडालिटी, सञ्चालन प्रणाली र परामर्श सेवाबारे अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम समेत सम्पन्न गरेको छ ।

यसरी करियर बुथले केवल बेरोजगारलाई मात्र होइन, रोजगारीमा लागिसकेकाहरूलाई पनि थप सशक्त बनाउन भूमिका खेल्नेछ । शिक्षा विज्ञहरूका अनुसार, नेपालमा शिक्षा र रोजगारीबीच ठूलो खाडल छ । शिक्षाले दिने सीप र बजारले माग गर्ने सीपबीच मेल छैन। करियर बुथजस्ता अभ्यासले त्यो खाडल घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । यदि यसलाई निरन्तरता दिइयो भने गण्डकी प्रदेश केवल प्राकृतिक सुन्दरता लागि होइन, सीपयुक्त मानव संसाधनको केन्द्रका रूपमा समेत चिनिनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया