अर्जुनचौपारी संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो

भीरकोट ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा प्रकाशित स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा आव २०८०÷८१ मा उत्कृष्ट ६ स्थानीय तहमा पर्न सफल भएको छ। अर्जुनचौपारी गाउँपालिका स्याङ्जा, खैरहनी नगरपालिका चितवन, तिलोत्तमा नगरपालिका रूपन्देही, निलकण्ठ नगरपालिका र बेनीघाट रोराङ्ग गाउँपालिका धादिङ, रूरू गाउँपालिका गुल्मी उत्कृष्ट स्थानीय तह बन्न सफल भएका हुन्। शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयका क्षेत्रमा गरिएको मूल्याङ्कनमा अर्जुनचौपारीले उच्चतम अंक ल्याउँदै देशकै उत्कृष्ट पालिकाको स्थान हासिल गरेको हो । संघीय सरकारले आगामी भदौ ६ गते सिंहदरबारमा आयोजना गर्ने “सम्मान तथा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली” शुभारम्भ कार्यक्रममा अर्जुनचौपारी लगायतका उत्कृष्ट स्थानीय तहहरूलाई मन्त्रीस्तरीय सम्मान प्रदान गर्ने भएको छ ।

केही वर्षअघिसम्म पूर्वाधार र सेवाप्रवाहमा कमजोर ठानिएको अर्जुनचौपारी गाउँपालिका अहिले देशैभर उत्कृष्ट प्रदर्शन गर्ने पालिकामा रुपान्तरण भएको छ । यस परिवर्तनको श्रेय गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको नेतृत्वलाई जान्छ । पदभार सम्हाल्दै उनले पारदर्शी प्रशासन, युवा सहभागिता, डिजिटल प्रविधिको प्रयोग, नवप्रवर्तन र समावेशी योजनालाई प्राथमिकतामा राख्दै आएका थिए। यसले पालिकाको समग्र व्यवस्थापन क्षमतामा गुणात्मक सुधार ल्याएको छ । हालै अनलाइनखबरले सार्वजनिक गरेको ‘४० प्रभावशाली युवा’ को सूचीमा अध्यक्ष तिवारीको नाम समावेश हुनुले उनको नेतृत्व क्षमता र राष्ट्रिय प्रभावलाई थप पुष्टि गरेको छ ।

 

प्रतिक्रिया