भाग्योदय माविले माघ १२ देखि १४ सम्म स्वर्ण महोत्सव मनाउने

अमृत अर्याल
भीरकोट ।

भीरकोट नगरपालिका–६, उजेलीडाँडामा अवस्थित भाग्योदय माध्यमिक विद्यालयले आफ्नो स्थापना दिवसको ५० औँ वर्ष प्रवेश गरेको अवसरमा आगामी माघ १२, १३ र १४ गते स्वर्ण महोत्सव मनाउने भएको छ। विसं २०३३ सालमा एउटा समीको चौपारीको नाङ्गो चौरमा खरको छाना मुनिबाट सुरु भएको विद्यालय आज सुव्यवस्थित भौतिक संरचना, गुणस्तरीय शैक्षिक वातावरण र प्राविधिक शिक्षासहित जिल्लाको एक प्रतिष्ठित शिक्षालयको रूपमा विकसित हुँदै आएको छ। पाँच दशक लामो यात्रालाई स्मरण गर्दै विद्यालयले स्वर्ण जयन्तीलाई भव्य र स्मरणीय बनाउन विविध शैक्षिक, सांस्कृतिक तथा अतिरिक्त गतिविधिहरू सहित शैक्षिक महोत्सवको रूपमा मनाउने तयारी गरेको हो।

५ सय १ सदस्यीय मूल आयोजक समिति

स्वर्ण महोत्सवको तयारीलाई व्यवस्थित ढंगले अघि बढाउन विद्यालयले ५ सय १ सदस्यीय मूल महोत्सव आयोजक समिति गठन गरेको छ। विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालका अनुसार महोत्सवलाई सफल बनाउन ८ वटा विषयगत उपसमितिहरू समेत गठन गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालको नेतृत्वमा बनेको मूल आयोजक समितिले महोत्सवको सम्पूर्ण कार्य सञ्चालन, समन्वय तथा व्यवस्थापनको जिम्मेवारी लिएको छ। साथै अध्यक्ष खनालकै संयोजकत्वमा आर्थिक समिति पनि गठन गरिएको छ। अध्यक्ष छायाराम खनालका अनुसार स्वर्ण महोत्सव सञ्चालनमा करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। स्थानीय समुदाय, पूर्वविद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न संघ–संस्थाबाट हुने योगदान र सहयोगमा आधारित भएर महोत्सवको बजेट व्यवस्थित गरिने विद्यालयले जनाएको छ।

प्रचार–प्रसारलाई पूर्वविद्यार्थीको नेतृत्व

महोत्सवलाई देश–विदेशसम्म प्रचार–प्रसार गर्न ढाकाराम खनालको नेतृत्वमा स्वर्ण महोत्सव प्रचार–प्रसार समिति गठन गरिएको छ। प्रचार–प्रसार समितिसँगै विद्यालयका पूर्वविद्यार्थीहरूले गठन गरेको भाग्योदय पूर्व विद्यार्थी समाजले समेत देश–विदेशमा रहेका पुराना विद्यार्थीलाई जोड्ने, विद्यालयको पाँच दशक लामो योगदान सार्वजनिक गर्ने तथा महोत्सवमा सहभागिता सुनिश्चित गर्ने काम गरिरहेको छ। यही क्रममा गत शुक्रबार विद्यालयमा स्वर्ण महोत्सव विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। पत्रकार सम्मेलनमा विद्यालयको ऐतिहासिक यात्रा, उपलब्धि, आगामी योजनासहित महोत्सवमा हुने कार्यक्रमहरूको विस्तृत जानकारी सार्वजनिक गरिएको थियो।

स्मारिका, सांस्कृतिक कार्यक्रम र अतिथि सत्कारका छुट्टाछुट्टै समिति

स्वर्ण महोत्सवका अवसरमा विद्यालयले ऐतिहासिक तथ्य, पूर्वविद्यार्थीको अनुभव, शिक्षक–विद्यार्थीको योगदान तथा विद्यालयको वर्तमान प्रगतिलाई समेटी विशेष स्वर्ण महोत्सव स्मारिका प्रकाशित गर्ने छ। यसका लागि पूर्वविद्यार्थी डा. तुलसीराम खनालको नेतृत्वमा स्मारिका प्रकाशन समिति गठन गरिएको छ। स्मारिकाले विद्यालयको ५० वर्षको यात्रालाई दस्तावेजीकरण मात्र होइन, भविष्यका लागि प्रेरणादायी मार्गदर्शन गर्ने विद्यालयको विश्वास छ। यस्तै, महोत्सवमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रमहरूको व्यवस्थापनका लागि नारायण प्रसाद अर्यालको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ। विद्यालयका विद्यार्थी, पूर्वविद्यार्थी, स्थानीय कलाकार तथा समुदायका विभिन्न समूहले विविध परम्परागत, सांस्कृतिक तथा आधुनिक प्रस्तुतिहरू गर्नेछन्। समितिहरूमा अतिथि सत्कार समितिको नेतृत्व मुक्ति चापागाईंले, मञ्च व्यवस्थापन समितिको नेतृत्व खडानन्द खनालले, खाजा व्यवस्थापन समितिको संयोजकत्व तुलसी प्रसाद अर्यालले र स्वयंसेवक, खेलकुद तथा अतिरिक्त कार्यक्रम व्यवस्थापन समितिको नेतृत्व भोजबहादुर थापाले गरेका छन्। यी सबै समितिहरूले आफ्ना–आफ्नै क्षेत्रका तयारीलाई तीव्रता दिएका छन्।

शैक्षिक उपलब्धि र प्राविधिक कार्यक्रम

स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा विद्यालयले आफ्नो शैक्षिक प्रगतिका विभिन्न आयामहरू सार्वजनिक गरेको छ। हाल विद्यालयमा ४ सय ६४ विद्यार्थी अध्ययनरत छन् भने ३५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। पूर्व–प्राथमिक तहदेखि कक्षा १२ सम्मको नियमित पठन–पाठनसँगै विद्यालयले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै १८ महिने कृषि प्राविधिक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ। भीरकोट नगरपालिकाको नमुना विद्यालय विकास कार्यक्रम कार्यान्वयन गरिरहेको भाग्योदय माध्यमिक विद्यालयलाई शैक्षिक सुधार, भौतिक संरचना, पाठ्यक्रम सुदृढीकरण र विद्यार्थीमैत्री वातावरणका कारण स्थानीय अभिभावकको पहिलो रोजाइको विद्यालयका रूपमा पनि लिइन्छ।

विद्यालयको पाँच दशकसम्मको यात्रा र उपलब्धि

समीको चौपारीको नाङ्गो चौरमा थोरै विद्यार्थी र सीमित स्रोत–साधनबाट सुरु भएको विद्यालयले अहिले आधुनिक कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय, कम्प्युटर कक्षा, खेल मैदान तथा प्राविधिक कक्षा सञ्चालनमा ल्याइसकेको छ। समयक्रममा हजारौं विद्यार्थीले यस विद्यालयबाट शिक्षा हासिल गरी देश–विदेशमा प्रतिष्ठित पद, सीप र व्यवसायिक सफलताका साथ योगदान गरिरहेका छन्। स्थानीय समुदाय, शिक्षक–अभिभावक, पूर्वविद्यार्थी, नगरपालिका तथा विभिन्न संघ–संस्थाको निरन्तर सहयोगमै विद्यालय आजको अवस्थामा आइपुगेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

स्वर्ण महोत्सवबाट अपेक्षा

विद्यालयले स्वर्ण महोत्सवलाई शैक्षिक विकासको नयाँ लक्ष्य निर्धारण गर्ने, पूर्वविद्यार्थी तथा समुदायबीच सञ्जाल विस्तार गर्ने र विद्यालयलाई अझ आधुनिक तथा प्रतिस्पर्धी बनाउन आवश्यक सहयोग जुटाउने अवसरको रूपमा लिएको छ। महोत्सवका अवसरमा पूर्वविद्यार्थी भेला, सम्मान कार्यक्रम, प्रदर्शनी, खेल प्रतिभा प्रदर्शन, नवप्रवेशी विद्यार्थी अभिमुखीकरण, कृषि प्राविधिक प्रदर्शन, विषयगत सत्र तथा विभिन्न प्रतियोगिताहरू सञ्चालन हुनेछन्। विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालका अनुसार, “स्वर्ण महोत्सव केवल उत्सव मात्र होइन, यो विद्यालयको भविष्यको दिशा निर्धारण गर्ने ऐतिहासिक अवसर हो। पाँच दशकको यात्रालाई मूल्याङ्कन गर्दै अबका वर्षहरूमा विद्यालयलाई थप प्रविधिमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन महोत्सवले ठूलो भूमिका खेल्नेछ।” भाग्योदय माध्यमिक विद्यालयले माघ १२ देखि १४ गतेसम्म गर्न लागेको स्वर्ण महोत्सव केवल विद्यालयको इतिहासकै उत्सव मात्र होइन, भीरकोट नगरपालिका र आसपासका क्षेत्रको शैक्षिक गतिशीलतासँग जोडिएको महत्त्वपूर्ण पर्व पनि हो। स्थानीय समुदायको सहभागिता, पूर्वविद्यार्थीको समर्पण र विद्यालय परिवारको प्रतिबद्धतामा आधारित यस महोत्सवले विद्यालयको भविष्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया