लायन्स क्लब अफ भीरकोटद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
भीरकोट ।
लायन्स क्लब अफ भीरकोटले जेष्ठ नागरिकप्रति सम्मान र सेवाभाव व्यक्त गर्दै जेष्ठ नागरिकको घरघरमा पुगेर न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको छ। क्लबले ८४ वर्ष नाघेका जेष्ठ नागरिकलाई लक्षित गर्दै न्यानो कपडा उपहारसहित सम्मान गर्ने अभियानको शुभारम्भ भीरकोट नगरपालिका वडा नम्बर ९ बाट गरेको हो। लायन्स क्लब अफ भीरकोटले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न सामाजिक तथा रचनात्मक कार्य गर्दै आइरहेको छ। यसै क्रममा चालु वर्ष जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई प्राथमिकतामा राख्दै क्लबले जाडो मौसममा उपयोगी न्यानो कपडा उपहार प्रदान गर्ने निर्णय गरेको हो। क्लबले भीरकोटका ९ वटै वडामा रहेका ८४ वर्षभन्दा माथिका जेष्ठ नागरिकको घरघरमा पुगेर सम्मान गर्ने लक्ष्य लिएको छ।
अभियानको पहिलो चरण अन्तर्गत वडा नम्बर ९ मा रहेका २० जना जेष्ठ नागरिकको घरमा पुगेर सिरेक, टोपी र जुत्ता उपहार प्रदान गरिएको क्लबका सचिव अमृत अर्यालले जानकारी दिए। उनका अनुसार जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गर्दा उनीहरू भावुक हुनुका साथै निकै खुसी देखिएका थिए। “जेष्ठ नागरिक हाम्रो समाजका अमूल्य धरोहर हुन्, उहाँहरूको अनुभव र आशीर्वाद नै हाम्रो प्रेरणा हो,” सचिव अर्यालले बताए। कार्यक्रममा लायन्स क्लब अफ भीरकोटका संस्थापक अध्यक्ष लक्ष्मण अधिकारीले क्लब सेवाभावका साथ निरन्तर अगाडि बढिरहेको उल्लेख गरे। जेष्ठ नागरिकको सम्मान गर्दै उहाँहरूबाट आशीर्वाद लिन पाउँदा आफूहरू निकै खुसी भएको बताउँदै उनले भने, “जेष्ठ नागरिकले जीवनभर समाज र परिवारका लागि गरेको योगदानको कदर गर्नु हामी सबैको दायित्व हो। सानो सहयोगले पनि उहाँहरूको जीवनमा खुसी थप्न सकिन्छ भन्ने विश्वासका साथ हामी यो अभियानमा जुटेका हौं।”
कार्यक्रममा भीरकोट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भिमबहादुर गुरुङले लायन्स क्लबको प्रशंसा गर्दै यस्ता सामाजिक अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए। उनले जेष्ठ नागरिकप्रति सम्मान र सहयोगको भावना सबैमा विकास हुनुपर्नेमा जोड दिए। यस्तै वडा नम्बर ७ का वडा अध्यक्ष ताराप्रसाद अर्यालले पनि क्लबको पहल सराहनीय रहेको उल्लेख गर्दै स्थानीय तह र सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताए। उक्त कार्यक्रममा लायन्स क्लब भीरकोटका निवर्तमान अध्यक्ष ढाकाराम खनाल, वर्तमान अध्यक्ष चिन्तामणि चापागाँई, उपाध्यक्ष किरण केसी, सचिव अमृत अर्याल, कोषाध्यक्ष राजन सुनार, वडा नम्बर १ का वडा सदस्य सुरेश खांण, विश्वनाथ अर्याल, खेमबहादुर गुरुङलगायतको उल्लेखनीय सहभागिता रहेको थियो। उपस्थित सबैले जेष्ठ नागरिकको घरमै पुगेर सम्मान गर्दा आत्मीयता बढ्नुका साथै समाजमा सकारात्मक ऊर्जा फैलिने धारणा व्यक्त गरेका थिए।
क्लबले एक जना जेष्ठ नागरिकलाई करिब ४ हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरेको जनाएको छ। पहिलो चरणमा २० जना जेष्ठ नागरिकलाई जम्मा ८० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको हो। आगामी दिनमा बाँकी वडामा पनि क्रमशः कार्यक्रम विस्तार गर्दै लगिने क्लबले जनाएको छ। लायन्स क्लब अफ भीरकोटका अनुसार यो कार्यक्रम क्लबको सामाजिक उत्तरदायित्व कोष अन्तर्गत रहेको रकमबाट सञ्चालन गरिएको हो। क्लबका सदस्य तथा पदाधिकारीले आफ्नो जन्मदिन, वार्षिकोत्सवजस्ता अवसरमा हुने फजुल खर्च कटाएर सो रकम कोषमा जम्मा गर्ने परम्परा रहेको छ। त्यही कोषबाट नै जेष्ठ नागरिक सम्मान, स्वास्थ्य शिविर, शैक्षिक सहयोगलगायतका सामाजिक कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
क्लबले व्यक्तिगत खुशीभन्दा सामाजिक सेवामा लगानी गर्दा समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरेको छ। जेष्ठ नागरिक सम्मान कार्यक्रमले केवल सहयोग प्राप्त गर्नेहरूलाई मात्र राहत र खुसी दिएको नभै नयाँ पुस्तामा पनि सेवा र सम्मानको संस्कार विकास गर्न मद्दत पुगेको क्लबका अध्यक्ष चिन्तामणि चापागाईले बताए। लायन्स क्लब अफ भीरकोटले आगामी दिनमा पनि यस्ता मानवीय र समाजोपयोगी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। जेष्ठ नागरिकको अनुभव, माया र आशीर्वादलाई जीवनको मार्गदर्शनका रूपमा लिँदै समाज निर्माणमा सबैको साझा भूमिका आवश्यक रहेको सन्देशसहित कार्यक्रम सम्पन्न भएको अध्यक्ष चापागाईको भनाई छ।


प्रतिक्रिया