मिलन समिरको ‘प्रिय दुस्मन’ काव्य लोकार्पण

वालिङ ।
स्याङ्जाको वालिङमा काव्य लोकार्पण तथा विमर्श गरिएको छ । मिलन समिरद्वारा लिखित कविता सङ्ग्रह ‘प्रिय दुश्मन’ को शनिबार एक कार्यक्रमका बीच लोकार्पण तथा विमर्श गरिएको हो । पुस्तक विमोचन गर्दै कवि तीर्थ श्रेष्ठले कविता लेख्न त्यति सजिलो नभएको बताए । कतिपय कवितामा व्याख्या गरिएको हुने उल्लेख गर्दै कवि श्रेष्ठले कविता लेखिसके पछि कविको काम सकिन्छ र त्यसको व्याख्या गर्ने काम पाठकको रहेको बताए ।
नेपालमा राजनीति गर्ने र कविता लेख्ने काम सजिलो मानिन्छ तर सोंचे झैं सजिलो नभएको कवि श्रेष्ठले बताए । मानिसले जीवनमा एक न एक दिन कविता नै नलेखेपनि कवितात्मकरुपमा गुन गुनाउँछ तर त्यो कविता नभएर अनुराग मात्र हुने उनले उल्लेख गरे । कवि श्रेष्ठले मानिसमा चेतना अभिवृद्धिका साथै सामाजिक परिवर्तनमा ठुलो भूमिका खेल्ने बताए ।
कविताको समिक्षात्मक टिप्पणी लक्ष्मण वियोगी र सञ्जिव पौडेलले गरेका थिए । कार्यक्रममा कमला अधिकारी, बालकुमार क्षत्री, मनिषा कोइराला, भोजकुमारी पाण्डे, चिन्तु गिरी, लोकहरि पाण्डे, ध्रुव शर्मा पङ्गेनी, लेखनाथ काफ्ले लगायतले रचना वाचन गरेका थिए ।
वसन्त खनालले स्वागतसँगै सुरु भएको कार्यक्रमको सभापतित्व वाल साहित्यकार तथा वालिङ प्रज्ञा प्रतिष्ठानका संयोजक देविप्रसाद वनवासीको रहेको थियो भने सञ्चालन कवि शम्भु अर्यालले गरेका थिए ।
प्रतिक्रिया