सुन्तला खेती प्रविधिसम्बन्धी स्थलगत तालिम

भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिकामा ५ वटा वडाका कृषकहरुलाई सुन्तला जात फलफूल खेती प्रविधि सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ ।
हरीत पुनर्उत्थान तथा कोभीड १९ प्रतिकार्य परियोजनाको आयोजनामा भदौ ६ देखि २० गतेसम्म सञ्चालन भएको तालिमको कृषिबिज्ञ ईश्वरी प्रसाद ढकालले सहजिकरण गरेका थिए । ९० जना कृषक सहभागी भएको तालिममा पछिल्लो समय सुन्तला जात फलफूल खेतीमा देखिएको रोगको कारण र नियन्त्रणको उपायका विषयमा प्राविधिक, सैद्धान्तिक र व्यवहारिक ज्ञान सीप प्रदान गरिएको थियो । सहभागीलाई सिकेचर, आरो र स्पेयर निःशुल्क वितरण गरिएको थियो ।
औंसा परेर झरेका सुन्तलाको दाना सुरक्षित व्यवस्थापन गर्ने र पासो थाप्ने ज्ञान, सीप र प्रविधि सिकाउन नमूना प्रर्दशनी पनि गरिएको थियो । यसैगरी स्रिट्रोस फ्रुट, फलाई मार्ने खाद्यपासो, प्रोटिन बेट र झरेका दाना प्लास्टिकको बोरामा राखेर व्यवस्थापन गर्ने विषयमा जानकारी गराइएको थियो । यस क्षेत्रका सुन्तलामा पाक्ने बेलामा दाना झर्ने र बोट सुक्ने समस्या पनि देखिएको छ । सुन्तला जातका फलफूलको दानाभित्र पसेको औंसाले असोजदेखि पुससम्म पहेंलो बनाई दाना भुइमा खसाल्छ । आगामी वर्ष यस्तो समस्या हुन नदिन झरेको दाना व्यवस्थापन गर्ने र चैत वैशाख महिनामा प्रोट्रिनबेटसँगै विषादी मिसाएर बोटमा छर्कनुपर्ने कृषि प्राविधिकले बताएका छन् ।
तालिमको समापन गर्दै भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले भीरकोटलाई सुन्तला लगायतका फलफुलमा आत्मनिर्भर बनाउने बताए । प्रमुख कर्माचार्यले उत्पादित कृषि उपजलाई बजारीकरण गर्न नगरपालिकाले सहयोग गर्ने समेत बताए । तालिममा सिकेका ज्ञान र सिपलाई व्यावहारमा उतार्न आग्रह गर्दै कर्माचार्यले कृषकहरुलाई व्यावसायिक बन्न समेत आग्रह गरे । तालिमको समापन समारोहमा नगर उपप्रमुख भगवती रेग्मी अर्याल, वडा नं. ८ का अध्यक्ष नन्दलाल खनाल, कार्यपालिका सदस्य चित्रबहादुर राना भूजेल, सहभागि मनप्रसाद गुरुङ, देवीलाल श्रेष्ठ, सुरेश मल्ल र मिरा बुढाथोकी लगायले बोलेका थिए ।
प्रतिक्रिया