भिडभाडजन्य क्रियाकलापमा प्रशासनको रोक

स्याङ्जा ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले भिडभाडजन्य क्रियाकलाप नगर्न सर्वसाधरणमा अनुरोध गरेको छ । मंसिर ४ गते हुनगइरहेको आम निर्वाचनलाई मध्यनजर राखेर जिल्ला प्रशासनले भिडभाडजन्य क्रियाकलापन नगर्न अनुरोध गरेको हो । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले एक सुचना जारी गर्दै निर्वाचन आयोगले जारी गरेको ‘निर्वाचन आचार संहिता २०७९’ विपरीत २५ जनाभन्दा बढी जम्मा हुन नपाईने व्यवस्था उल्लेख गरेकोले सोही बमोजिम क्रियाकलाप गर्न अनुरोध गरिएको छ ।
जिल्लामा खेलकुद, विभिन्न पर्व, महोत्सव तथा अन्य भिडभाडजन्य कार्यक्रम गरी निर्वाचन आचार संहिता उल्लघंन हुने गरी अयोजना हुन लागेकाले यस्ता क्रियाकलाप निर्वाचन सम्पन्न नहुन्जेल नगर्न अनुरोध गरिएको छ प्रजिअ क्षेत्रीले जारी गरेको सुचनामा उल्लेख छ । स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन प्रक्रियामा बाधा पुग्ने खालका गतिविधि संचालन भएको पाइएमा निर्वाचन आचार संहिता २०७९ अनुसार कानुन बमोजिम कारवाही हुने चेतावनी समेत प्रशासनले दिएको छ ।
यस्ता कार्यक्रमले मतादातालाई प्रलोभनमा पार्न सक्ने र यसबाट हुनसक्ने समस्यालाई मध्ये नजर गरेर प्रशासनले सचेत गराएको छ । केही समयदेखी स्याङ्जामा खेलकुद प्रतियोगिता र मेला महोत्सव हुदै आएका थिए । केही आचार संहिता उल्लघंन भएको भन्दै उजुरीहरु समेत दर्ता भएका छन् । उजुरी बढ्न सक्ने र निर्वाचन प्रक्रियामा निष्पक्षताका प्रश्न उठ्न सक्ने तर्फ प्रशासन सचेत हुदै सुचना जारी गरेर यस्ता क्रियाकलापलाई रोक्न आग्रह गरेको हो ।
प्रतिक्रिया