आखाँ पाक्ने संक्रमणले स्याङ्जामा विद्यालयहरु बन्द

स्याङ्जा ।
आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि स्याङ्जामा विद्यालय बन्द गरिएको छ । बालबालिकामा आँखा पाक्ने रोगको संक्रमण बढी देखिन थालेपछि शिक्षण संस्थाहरु केहीदिनका लागि बन्द गरिएको हो । ग्रामिण क्षेत्रका पालिकाहरुमा भन्दा शहरीया क्षेत्रका पालिकाहरुमा आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि स्याङ्जाका स्थानीयतहरुले सुचना जारी गरेर केही दिनका लागि सामुदायीक र संस्थागत विद्यालय बन्द गरिदिन आग्रह गरेका छन् ।

स्याङ्जाका पुतलीबजार, वालिङ र गल्याङ् नगरपालिकाले आँखा पाक्ने रोगको संक्रमण बढेपछि ४ दिनदेखी ६ दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरेका हुन् । दैनिक २५ देखी ३५ जना बालबालिकामा आँखा पाक्ने रोगको शिकार हुन थालेपछि यसको न्युनिकरण गर्न विद्यालय बन्द गर्नुपरेको पालिकाहरुले जनाएका छन् । ११ पालिका मध्ये सबैभन्दा बढी संक्रमण वालिङमा देखिएको छ । वालिङ आँखा अस्पतालमा आँखाको बिरामीहरु दैनिक ६० भन्दा माथीको हाराहारीमा आउन थालेको आँखा डाक्टर तेज गुरुङ्ले बताए ।

यो रोग संक्रामक रहेकाले धेरै मानिसहरुको भिडभाडमा सजिलै सर्न सक्ने र धेरै संख्यामा यसको संक्रमण फैलन सक्ने चिकित्सकहरुले जनाएका छन् । आँखा पाक्ने रोगको संक्रमण रोक्नका अन्य विदाबाट कट्टी गरिने गरी विद्यालय बन्द गरिएको पालिकाहरुले जनाएका छन् । यो बन्दले विद्यार्थीको कोर्षमा कुनै असर नर्गर्ने समेत बताइएको छ ।

आँखा रातो हुने, चिलाउने, आँखाबाट आसु बगिरने कचेरा तथा चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने सुनिने, आँखा विझाउने, दुख्ने, घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराई स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधी प्रयोग गर्न समेत पालिकाहरुले नागरिकलाइृ अनुरोध गरेका छन् ।

यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले संक्रमित व्यक्तिको नजिक नजाने, संक्रमित भिडभाडमा नजाने, संक्रमित व्यक्तिले प्रयोग गरेका सामानहरु जस्तै रुमाल, सिरानी तन्ना प्रयोग नगर्ने, तथा जथाभावी आँखा नछुने, आँसु पुछ्नु परेमा छुनु अगाडि र छोईसकेपछि राम्रोसंग साबुन पानीले हात धुने, व्यक्तिगत सरसफाईमा ध्यान दिने जस्ता उपाय अपनाएमा यो रोग अर्थात आँखा पाक्ने रोगबाट बच्न सकिने चिकित्सकहरुले सुझाव दिएका छन् । यो संक्रमण अझै फैलिएमा स्याङ्जामा औषधीको अभाव समेत हुने औषधी व्यवसायीहरुले जनाएका छन् ।

प्रतिक्रिया