उपकार सहकारी अधिवेसन—१६ पदमा ३० जनाको उम्मेदवारी

वालिङ ।
जिल्लाकै धेरै सदस्य र सेवाकेन्द्र रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लि.को अधिवेसनले वालिङ लगायत यसको कार्यक्षेत्रलाई तताएको छ । संचालक समिति र लेखा सुपरिवेक्षण समितिका लागि कात्र्तिक १७ गते शुक्रवार निर्वाचन हुदै छ । सहकारी संस्थाको संचालक समिति र लेखा सुपरिवेक्षण समितिका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए । १६ सदस्यीय संचालक समितिका लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेकोमा ६ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३० जना उम्मेदवार निर्वाचनमा सहभागी हुने निर्वाचन समितिले जनाएको छ ।

संस्थाको अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । २ जनाले उम्मेदवारी फिर्ता लिएपछि ४ जना बिच निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । गोविन्द पंगेनी र भरतप्रसाद वगालेले सहमतिका लागि भन्दै अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएपछि ४ जना विच निर्वाचन हुने भएको हो । उपकार सहकारीको अध्यक्ष पदका लागि चेतनारायण श्रेष्ठ, जगदिश गैह्रे, यामकान्त खनाल र लक्ष्मीपति पौडेल बिच निर्वाचन हुने समितिले जनाएको छ ।

यसै गरी उपाध्यक्षका लागि २ जना बिच निर्वाचन हुने छ । उपाध्यक्ष पदमा यज्ञप्रसाद अधिकारी र यामलाल शर्मा पंगेनी बिच निर्वाचन हुने समितिले प्रकाशित गरेको अन्तिम नामावलीमा उल्लेख छ । सचिवका लागि कमल प्रसाद पंगेनी, गोकर्ण भट्टराई र विश्वनाथ अर्याल बिच निर्वाचन हुने छ । कोषाध्यक्षका लागि दुर्गा कुमारी न्यौपाने र यज्ञप्रसाद पाठक बिच निर्वाचन हुने समितिले जनाएको छ । ३ जनाले उम्मेदवारी दर्ता गराएको भएपनि समय अवधिमा एक जनाले उम्मेदवारी फिर्ता लिएपछि २ जना बिच मात्रै निर्वाचन हुने निर्वाचन समितिका संयोजक मुक्तिप्रसाद पाण्डेले जानकारी दिए ।

त्यसैगरी ४ महिला सदस्यका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । चार महिला सदस्यका लागि तारा तिवारी, दुरपति दर्जी, मोतिसरा बस्नेत, लक्ष्मी राना, सरस्वती पाण्डे र सिर्जना वस्ती न्यौपाने चुनावी मैदानमा छन् । खुला सदस्यका लागि ८ जना चुनावी मैदानमा छन् । ५ जना सदस्यका लागि शालिकराम न्यौपाने, भविराज गुरुङ्, राजिवकुमार अर्याल, घनश्याम पाठक, सुमनकल्याण अर्याल, राजेन्द्र बगाले, मोहोनीलाल गैह्रे र केम्रबहादुर सुनार चुनावी मैदानमा छन् ।

यसैगरी लेखा तथा सुपरीबेक्षण समितिको संयोजकमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संयोजकमा परशुराम लम्साल र मोहन गुरुङ बिच निर्वाचन हुने छ । सदस्यमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सदस्यमा कृष्ण प्रसाद डुम्रे, गोपाल बहादुर जिटी र सिर्जना सिग्देल काफ्ले बिच निर्वाचन हुने समितिले जनाएको छ । कात्र्तिक ३ गते हुने निर्वाचनलाई उम्मेदवार र राजनीतिक सहमतिका आधारमा कात्र्तिक १७ गतेलाई सारिएको थियो । बडा दशैंको पुर्व सन्ध्यामा निर्वाचन हुने कारण देखाउदै सहमतिका आधारमा दशैंपछि निर्वाचन गर्ने निर्णय समितिले गरेको हो । निर्वाचन समितिले कात्र्तिक २ गते नै अन्तिम नामावली प्रकाशन गरेको थियो । अब ३० जनाको नाम मतपत्रमा छाप्नेगरी अगाडी बढेको समितिले जनाएको छ । निर्वाचन प्रक्रिया सबै पुरा भएको बताइएको छ । बुधबारदेखी मतपत्र छाप्ने र बिहिवार बेलुका सम्म सबै सेवाकेन्द्रका निर्वाचन स्थलमा कर्मचारी पुग्ने गरी तयारी थालिएको निर्वाचन समितिका संयोजक पाण्डेले बताए ।

 

प्रतिक्रिया