आँधीखोला सहकारीको १६औं साधारणसभा सम्पन्न

अमृत अर्याल
भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिका–१ बयरघारीमा केन्द्रिय कार्यालय रहेको आँधीखोला बचत तथा ऋण सहकारी संस्थाको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले आ.व. २०७९÷८० मा १ करोड ३९ लाख ४६ हजार १ सय २५ रुपैयाँ आम्दानी गरेको छ । जुन आ.व. २०७८÷७९ को तुलनामा बढेको देखिन्छ । सहकारीको १६औँ वार्षिक साधारणसभामा आयव्यय प्रतिवेदन पेश गर्दै सहकारीका ब्यवस्थापक भरत खड्काले आ.व. २०७९÷८० मा संस्थाले २२ लाख ४५ हजार ८ सय १२ रकम खुद नाफा आर्जन गरिएको बताए । उनका अनुसार यो नाफा अघिल्लो वर्षको तुलनामा केही बढी हो । सहकारीमा बचतकर्ताको संख्यामा वृद्धि भएसँगै बचत रकम ६ करोड ४८ लाख ५७ हजार ५२ पुगेको छ । यसवर्ष शेयर सदस्य संख्या पनि केही वृद्धि भई १ हजार ६३ पुगेको छ । खड्काका अनुसार सहकारीको लगानीमा रहेको ऋण ६ करोड २९ लाख ५ हजार १ सय ९४ रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले संस्थालाई सही दिशामा अगाडी बढाउन सदस्यहरुको महत्वपुर्ण भुमिका हुने बताए । यस्तै उनले यो संस्था भीरकोटमा उत्कृष्ट रहेको बताउँदै जिल्लामा पनि उत्कृष्टता हासिल गर्नका लागि अझ बढी प्रभावकारी कार्य गर्नुपर्ने बताए । राजनीतिक लगायत कुनै पनि कारणबाट सहकारी संस्थाहरु पछाडी पर्न नुहनेमा कर्माचार्यले जोड दिए । उनले पछिल्लो समय सहकारीका नाममा जनतालाई ठगिरहेका समाचार आइरहेको भन्दै त्यसबाट माथी उठेर सहकारी संस्थाहरुले काम गर्नुपर्ने जानकारी दिए ।
यस सहकारी संस्थालाई अझ फराकिलो पार्नका निम्ति आफ्नो र नगरपालिकाको तर्फबाट कुनै कसर बाँकी नराख्ने उनले बताए । सहकारीको चौतर्फी विकासका लागि आफु सधै संस्थाको साथमा रहेको उनले वताए । हरेक सहकारी संस्थाले आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षका आधारमा काम गर्नुपर्छ, उनले भने । यस्तै उनले हरेक सहकारी संस्था प्रविधिमैत्री हुनुपर्ने बताए । कागजी भन्दा पनि अब डिजिटल प्रविधिमा केन्द्रित भएर संस्थाले काम गर्नुपर्ने कर्माचार्यले जानकारी दिए । सहकारी संस्थासंग समन्वय गरेर आफुहरु अगाडी बढ्न प्रतिवद्ध रहको समेत नगरप्रमुख कर्माचार्यले बताए ।
यस्तै सहकारीका अध्यक्ष तथा कार्यक्रमका सभापति तोयनाथ अर्यालले कुशल व्यवस्थापकीय पक्ष, उच्च मनोवल तथा लगनशीलताका साथ काम गर्ने कर्मचारीहरुका कारण यस आर्थिक वर्षमा संस्थाले करिब २३ लाख बराबरको मुनाफा आर्जन गर्न सफल भएको बताए । राज्यले सहकारीलाई तीन खम्वे अर्थनीतिको रुपमा लिए पनि सहकारीको प्रवद्र्धनका लागि कुनै ठोस कार्यक्रम आउन नसकेको उनले बताए । साथै उनले स्थानिय क्षेत्रको विकासका लागि सार्वजनिक निजी साझेदारीका कार्यक्रमहरुमा पनि आफुहरु सहकार्य गर्न तयार रहेको जानकारी दिए । नगरस्तरीय सहकारी सञ्जालका समेत अध्यक्ष रहेका अर्यालले सहकारीको महत्व नबुझी, कुनै दीर्घकालिन सोच र योजना विना देखासिकी प्रवृत्ति गरी सहकारी संस्थाहरु खोल्ने क्रम बढिरहेको बताए । उनले भने, नियमनकारी निकायको नियमन तथा अनुगमन नहुँदा सहकारी क्षेत्रमा विकृति बढीरहेको छ ।
कार्यक्रमको विशिष्ट अतिथि निवर्तमान नगरप्रमुख छायाराम खनालले सहकारी कृषि र अन्य उत्पादनमा समेत जोडिनुपर्ने बताए । यसैगरी कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङ्जाका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक वालिङ शाखाका प्रमुख टिकाराम अधिकारी, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भक्तबहादुर केसी, संस्थाको तर्फबाट चोपनारायण श्रेष्ठ, जितमान श्रेष्ठ, हर्कबहादुर गुरुङ, शेषकान्त खनाल लगायतले सहकारीको बारेमा बोलेका थिए ।
कार्यक्रममा वार्षिक प्रगती प्रतिवेदन संस्थाका अध्यक्ष तोयनाथ अर्यालले पेश गरेका थिए भने कार्यक्रमको सञ्चालन आँधीखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सहायक ब्यवस्थापक ठगेन्द्र जिटीले गरेका थिए । कार्यक्रममा उत्कृष्ट कारोबारी, जेष्ठ नागरिक र विद्यार्थीहरुलाई संस्थाले सम्मान समेत गरेको छ । प्रविधिमैत्री कारोवार, कृषि कार्यक्रमहरुमा लगानी, संस्थाको पुँजी तथा सम्पत्ती वृद्धि गर्ने संस्थाको आगामी योजना रहेको संस्थाका अध्यक्ष अर्यालले बताए । यस्तै सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम, उद्यमशिलता सम्वन्धि कार्यक्रम गर्ने योजना रहेको पनि उनले जानकारी दिए । सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु, संस्थाको भवन निर्माण गर्ने, संस्थागत क्षमता अभिवृद्धिका कार्यक्रमहरु, सेवा केन्द्र तथा बचत संकलन केन्द्र स्थापना लगायत दीर्घकालिन थुप्रै लक्ष्यहरु रहेको अर्यालले बताए ।

 

 

प्रतिक्रिया