प्रधानमन्त्री राहत कोषमा भीरकोटको ३ लाख सहयोग

भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख सहयोग गरेको छ । नगरप्रमुख गोविन्दकुमार कर्माचार्य सहितको कार्यपालिका बैठकले सहयोगको निर्याय गरेपछी उक्त रकम बराबरको चेक काटी कोषमा रकम जम्मा गरेको हो । नगरप्रमुख कर्माचार्यले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि स्थानीय सरकारको पनि ध्यानाकर्षण भएको बताए । कर्माचार्यले भूकम्पपछिको खोज र उद्धारमा सरकारको तदारुकता र तत्परताको प्रशंसा पनि गरेका छन् ।

कर्माचार्यले राहत र पुनःनिर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनःस्थापनामा जुट्न समेत सबैलाई अपिल गरेका छन् । कर्माचार्यले आगामी दिनमा भूकम्पलगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा भण्डारणको व्यवस्था गर्ने, आपतकालिन उद्धार कोषको व्यवस्थापन गर्ने लगायतका कामबारे छलफल भएको बताए । उनले नेपालीहरुमा संकटको बेला एकैठाउँमा उभिने संस्कार रहेको भन्दै विगतका प्राकृतिक विपतमा झैं यसपटक पनि सबै एकजुट भएको बताए । नगर प्रमुख कर्माचार्यले नगद सँगसँगै २० थान फाइबर सिरक लायन्स क्लब अफ भीरकोट मार्फत भूकम्प प्रभावित क्षेत्रमा पठाइएको बताए ।
यता लायन्स क्लब अफ भीरकोट पश्चिम रूकुमका भुकम्प पीडितहरूका निम्ति राहत सामाग्री बोकेर प्रभावित क्षेत्रमा पुगेको छ। पश्चिम रूकुमको आठबिसकोट नगरपालिकाका भुकुम्प पीडितहरूलाई राहत सामाग्री वितरण गरिने क्लबका अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण)ले पब्लिक आवाजलाई बताए । आफ्ना सदस्यहरू, भीरकोट र अर्जुनचौपारीका शुभेच्छुक व्यक्ती एवं संघसंस्थाहरूसँग आर्थिक सहयोग लिइ राहत सामाग्री खरिद गरी लगिएको क्लबले जनाएको छ। २० घरपरिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न , लत्ताकपडा लगायतका आधारभूत सामाग्री बोकेका २ वटा सवारी साधन र ११ जना क्लबका स्वयंसेवकहरू रूकुम पुगेका हुन्। “फाइबर सिरक, म्याट,त्रिपाल, चामल, दाल, नुन ,च्युरा लगायतका अत्यावश्यक राहत सामाग्रीहरू सहित क्लब प्रभावित क्षेत्रमै पुगेको छ। राहात वितरणका लागि स्थानीय प्रशासन र सरकारसँग समन्वय भैसकेको अध्यक्ष अधिकारीले बताए। समाजसेवाको मुख्य उद्देश्य सहित यही वर्ष स्थापना भएको लायन्स क्लब अफ भीरकोटले स्थानीय स्तरमा पनि सरसफाई, जनचेतना अभिवृद्धि, प्रतिक्षालय निर्माण लगायतका कामहरू गर्दै आएको छ।

 

 

 

प्रतिक्रिया