आँधीखोला गाउँपालिकामा पाँच दिने निःशुल्क दन्त शिविर

वालिङ ।
स्याङ्जाको आँधीखोला गाउँपालिकामा पाँच दिने निःशुल्क दन्त शिविर सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलका अनुशार माघ २ देखी सुरु भएको शिविर ६ गतेसम्म पालिका परिसरमा सञ्चालन हुनेछ । नेलम्बो नेपालको सहकार्यमा आयोजना गरिएको शिविरबाट दाँत सम्बन्धी समस्या भएका पालिकाबासीहरु लाभान्वित हुने पालिकाले विश्वास लिएको छ । शिविरमा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको जरैदेखि उपचार, गिजाको उपचार, औषधी वितरण भइृरहेको छ ।
दैनिक ६० देखि ७० जना सेवाग्राहीलाई मात्र सेवा उपलब्ध गराउन सकिने हुँदा समयमा नै उपस्थित भएर निःशुल्क सेवा लिन अध्यक्ष पौडेलले आग्रह गरेका छन् । गाउँ बस्तीमा पुग्दा होस् वा अन्य समयमा भेट हुँदा प्राय दाँतको समस्या सुनिएको बताउँदै पौडेलले वृद्ध बुबा आमाहरुले दाँत सम्बन्धी समस्या रहेको गुनासो गरेको बताए । दाँतको उपचार पद्धति अलि जटिल र महंगो रहेको गुनासो पनि सुनिएकाले यसपल्ट पालिकामै पाचँ दिनसम्म विशेषज्ञ डाक्टर सहितको निःशुल्क बृहत् दन्त शिविर गरेको पौडेलको भनाई छ । शिविरमा आँधीखोला गाउँपालिका मात्र नभई पुतलीबजार, फेदिखोला र पर्वतको फलेबासका बिरामी समेत सहभागी भएका छन् ।
पालिका स्वास्थ्य सेवाप्रति संवेदनशिल छ भन्दै प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेका ग्रामीण भेगमा स्थानीयवासीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताए । अधिकारीले भने, ʻयो पालिका उपचारात्मक सेवा सुविधामा यसै पनि कम छ, त्यसमा पनि पालिकाभित्र दाँतको त उपचार सेवा नै छैन् । त्यसैले डेण्टल हस्पिटलमा गएर पाउने सुविधा सहित उपचारात्मक सेवा उपलब्ध गराएका छौं ।ʼ पालिकाले स्वास्थ्य प्रवर्धनको कार्यक्रम अन्तरर्गत यो शिविर संचालन गरेको अधिकारीको भनाई छ ।
शिविरमा डा. सिजन मरासिनीको नेतृत्वमा ९ प्राविधिकले सेवा दिएको पालिकाले जनाएको छ । निःशुल्क दन्त शिविरबाट ३ दिनमा २ सय १० स्थानीयवासी लाभान्वित भएको कार्यक्रम संयोजक भिम भण्डारीले जानाकारी दिए । २ महिनापछि पुन बिरामीहरुको फ्लोअप परीक्षण समेत गरिने भएको छ । शिविरबाट दाँत सम्बन्धी समस्या भएका पालिकाबासीहरु लाभान्वित भएको पालिकाको विश्वास छ ।

प्रतिक्रिया