दुधमा प्रतिलिटर १० रुपैया अनुदान

वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले कृषकलाइ दुधमा प्रति लिटर १० रुपैया अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को विनियोजित बजेट मार्फत दुधमा आत्मनिर्भर कार्यक्रम तथा गाइ भैसी प्रवर्धन कार्यक्रम अन्तर्गत वालिङ नगरपालिका र अकला नमुना कृषि सहकारी संस्थाबिच सम्झौता भएको नगरप्रमुखको सचिवालयले जनाएको छ । अकला नमुना कृषि सहकारी संस्थाले उपलब्ध गराएको पास बुकमा भएको विवरणको आधारमा नगरपालिकाले प्रति लिटर दुधमा १० रुपैया उपलब्ध गराउनेछ । नमुना कृषि सहकारीले नगरपलिकाको सम्झौता अनुसार दैवि प्रकोपको अवस्थामा बाहेक वार्षिक कम्तीमा ३५० दिन किसानको दुध खरिद गर्नुपर्नेछ । सहकारी संस्थाले हरेका एक महिनामा दुइ पटक संकलित दुधको विवरण वालिङ नगरपालिकालाई उपलब्ध गराउने छ । दुधको मुल्य नेपाल सरकारले तोकेको फ्याट र एसएनएफको आधारमा निर्धारण गरिनेछ ।
सम्झौतामा हस्ताक्षर गर्दै नगर प्रमुख कृष्ण खाँणले वालिङ नगरपालिकालाई दुधमा आत्मानिर्भर बनाउने प्रयास स्वरूप कृषकहरूलाई उत्पादनका आधारमा अनुदान दिन लागिएको प्रष्ट पारे। उत्पादनका आधारमा कृषकलाई अनुदान दिदा कृषक पनि उत्साहित हुने र युवा पुस्तामा कृषि फर्महरु सञ्चालन गर्न प्रोत्साहन मिल्ने नगर प्रमुख खाँणको विश्वास छ । नगर प्रमुख खाँणले वालिङ नगरपालिकाले गाइ पाल्ने कृषकलाई अधिकतम ५० हजार रुपैयाँ सम्म सहयोग अनुदान दिने पनि जानकारी गराए ।
स्वदेशमै बस्ने युवा र विदेशबाट फर्केका युवाहरुको आकर्षणका निम्ती बजार व्यवस्थापनको ग्यारेन्टी संँगै औषधि, बीमा र सडक व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको नगर उपप्रमुख कविता तिवारी गैह्रेले बताएकी छन् । तर दुग्ध व्यवसायमा संलग्न वालिङका किसानहरूले एउटा सिमित सहकारीमा आवद्ध किसानहरूलाई मात्रै भन्दा दुग्ध उत्पादन व्यवसायमा आवद्ध सबै किसानलाई उत्पादनका आधारमा अनुदान दिइनुपर्ने माग राखेका छ्न् ।

प्रतिक्रिया