उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनको निगरानी

स्याङ्जा ।
उपभोक्ता हित संरक्षणमा स्थानीय सरकारहरु बेखबर बन्न थालेपछि यसको निगरानीमा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सक्रियता बढाउन थालेका छन् । उपभोक्ता हिसंरक्षणका लागि बजार अनुगमन गर्ने जिम्मेवारी कानुनले स्थानीय सरकारलाई दिएको छ । तर स्थानीय सरकार यसमा बेखबर बन्न थालेपछि जिल्ला प्रशासन र जिल्ला प्रहरीले यसको निगरानी बढाएका हुन् । लुम्बिनी प्रदेश लगायत अन्य भागबाट स्याङ्जा जिल्लामा र स्याङ्जाको बाटो हुदै पोखरा जाने दुध, तरकारी, मासुजन्य, फलफुल लगायतका सामाग्रीको गुणस्तर चेकजाँचमा कडाई गर्न थालिएको छ ।

प्रशासनले नेपालगञ्जबाट पोखरा लैजादै गरिएको दुधको गुणस्तर परिक्षण गरेर यसको शुभारम्भ गरेको छ । नमुनाका लागि प्रशासनले नेपालगञ्जबाट पोखरा स्थित सुजल डेरी उद्योगको ग २ ख ४३७ नंवरको ट्याङ्कराट नमुना दुध संकलन गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा पठाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरिक्षक शालिग्राम शर्मा पौडेल, घरेलु तथा पर्यटन कार्यालयका प्रमुख, पुतलीवजार नगरपालिकाका प्रतिनिधि, नागरिक समाज, पत्रकार महासंघका अध्यक्ष सहित पत्रकारहरु, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्रतिनिधि सहित सिद्धार्थ राजमार्गवाट स्याङ्जा हुँदै पोखरा तर्फ जाँदै गरेको सुजल डेरी उद्योगको दुध वोक्ने ट्याङ्करबाट तिनवटा नमुना संकलन गरि परिक्षणका लागि पोखरा पठाइएको छ ।

विभिन्न उद्योगवाट जिल्लामा विक्रि वितरण हुने दुध र दुधजन्य पदार्थको गुणस्तर कायम गर्न राजमार्गहुँदै विभिन्न उद्योगमा जाने दुधको परिक्षण गरी गुणस्तरको वारेमा जानकारी लिन नमुना परिक्षणका लागि पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । परिक्षण पश्चात उक्त दुध गुणस्तरहीन प्रमाणित भएमा खाद्य ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लामा भित्रने र बाहिरिने दुबै सामाग्रीको अब चेकजाँच अगाडी बढाउने गरी काम गरिएको सहायक प्रजिअ पौडेलले बताए । मानवको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कसैसगँ छैन उनले भने,‘यसमा प्रशासन निर्मम भएर लाग्ने छ ।’ सबै संयन्त्रलाई चलायमान बनाएर उपभोक्ता हित संरक्षणमा प्रशासन अव मौन बस्दैन उनले भने ।

संकलन गरिएको नमुना खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखरा पठाइएको छ । कार्यालयमा खाद्य निरिक्षक पुर्णकला थापाको नेतृत्वमा आएको टोलीले उक्त नमुना संकलन गरेको हो । यसको रिपोर्ट ४८ घण्टामा आइपुग्ने गुण नियन्त्रक निरिक्षक थापाले बताइन् ।
कृषिजन्य तरकारीको आयतमा जिल्ला भित्रिने फलफूल तथा तरकारीमा विषादी परिक्षणको काम समेत जिल्ला भित्रिने नाका राम्दीमा सुरु भैसकेको तथा बजारमा विक्रि वितरण गर्ने उपभोग्य वस्तुहरुको समेत अनुगमन गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख शालिग्राम शर्मा पौडेलले जानकारी दिए । पौडेल स्याङ्जामा प्रहरी प्रमुखको रुपमा आएपछि उपभोक्ता हित संरक्षणमा सक्रिय भएर लागेका छन् । उनले सिद्धार्थ रजामार्ग लगायत भित्रि सडकमा चल्ने सवारी साधनका चालकको लापसे चेकिङ् समेत शुरु गरेका छन् । शुभारम्भकै दिन लागु पदार्थ सेवन गरी सवारी चलाउने ६ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया