पूर्णामृत भवानी माविकोे जग्गा सहकारीको कब्जामा

वालिङ ।
सार्वजनिक सम्पत्ति संरक्षणमा पछिल्लो पटक चुनौती देखिन थालेको छ । संरक्षणको अभावमा व्याक्ति देखि सामाजिक संघसंस्था, सरकारी निकाय, गैह्र सरकारी निकाय लगायतले बिना अनुमति वा सार्वजनिक सम्पक्ति ऐन विपरीत हड्पेका खबरहरु आइरहेका छन् । यस्तै समस्यामा परेको छ स्याङ्जाको पुर्णमृत भवानी माध्यमिक विद्यालय । शिक्षा ऐन तथा नियमावलीले विद्यालयको नाममा रहेको जग्गा सार्वजनिक सम्पत्ति मानी बिक्री वा धितो राख्न बन्देज गरेको छ । तर ऐन–कानुनविपरीत पूर्णामृत माध्यमिक विद्यालयले विद्यालयको स्वामित्वमा रहेको जग्गा भाडामा लगाउदै आएको छ ।
जिल्लामै चल÷अचल सम्पत्तिको हिसावले यो विद्यालय धनी मानिन्छ । विद्यालयको जग्गामा नगरपालिकादेखि शसस्त्र प्रहरीको कव्जामा रहेको पाइएको छ । नगरपालिकाले भाडामा लिने सम्झौता गरी सहकारी संस्थालाई हाटबजार सन्चालन गर्न समेत दिइएको छ । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने नजिकको सरकार नै विद्यालयको जग्गा भाडामा लिने र दिने काममा संलग्न देखिनु नै सार्वजनिक सम्पत्तिको संरक्षण अभाव भएको प्रष्ट देखिन्छ । वाड नं ८ स्थित खेलमैदान जानेबाटो पतञ्जली भवनको पछाडी रहेको भत्तेविरौटाको १ रोपनी २ आना २ दाम जग्गा वडा कार्यालयले भाडा सम्झौता गरेको देखिएको छ । उक्त जग्गा मासिक २५ हजार विद्यालयले पाउनेगरी २०७६ भदौमा पाँच वर्षका लागि वडा कार्यालयले सम्झौता गरेको छ । तर वडा कार्यालयले यो जग्गा कसलाई भाडामा दिएको हो भन्ने कागतजात वडा कार्यालयमा छैन । हालसम्म विद्यालयले भाडा नपाएको गुनासो बाहिर आएपछि मात्रै वडा कार्यालयले विद्यालयको सार्वजनिक जग्गामाथी बदमासी गरेको देखिएको हो । वडा कार्यालयमा पटक पटक भाडा माग गर्दा भाडा नपाएको विद्यालयका प्रअ लम्सालले गुनासो गरे ।
तत्कालिन वडा अध्यक्ष कमल सुवेदी, वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका सदस्य, विद्यालयका शिक्षक प्रतिनिधि, सहायक प्रअद्धयले २०७६ साल भदौ ३० गते २०८१ साल भदौ ३० गतेसम्मका लागि भाडामा लिने÷दिने सम्झौतापत्रमा देखिएको छ । सम्झौता भएदेखि विद्यालयले ३५ महिनाको भाडा वडा कार्यालयले उपलब्ध गराएको छैन । नियमन र संरक्षक गर्ने वडा कार्यालय नै विद्यालयको जग्गा भाडामा लिएर पनि भाडा उपलब्ध नगराउनुले शंका पैदा भएको बताइएको छ । तत्कालिन वडा अध्यक्ष कमलप्रसाद सुवेदीले विद्यालय सगँ लिएको जग्गा हरितज्योति गौरव सहकारीलाई भाडामा लगाएको बताए । मेरो पालामा भएको सम्झौता अनुसार विद्यालयले भाडा पाउनु पर्छ निवर्तमान वडा अध्यक्ष सुवेदीले भने,‘मैले पटक पटक सहकारी सगँ भाडा माग गर्दा विवाद मात्रै निकाल्ने काम भयो ।’ माग गर्दागर्दै मेरो कार्यकाल सकियो अब वर्तमान वडा अध्यक्षले पहल गर्नुपर्छ उनले भने । अहिले सम्म पनि विद्यालयले भाडा नपाउनु दुखद भएको सुवेदीले बताए । आफुलाई हाट बजार संचालन गर्ने भनेर जग्गा भाडामा लिन सहकारीका व्याक्ति र नगरपालिकाले फसाएको उनले दुखेसो गरे ।
हाल पूर्णामृत भवानी माध्यमिक विद्यालयको नाउँमा २४ कित्ता जग्गामा झण्डै १ सय ७० रोपनी जग्गा मध्ये वालिङ १ स्थित मजुवामा रहेको ७ कित्ता ३३ रोपनी जग्गा वालिङ नगरपालिकाले पाँच वर्षका लागि भाडामा लिएर स्थायी संरचना सहितको फोहरमैला व्यवस्थापनका लागि सरसफाई केन्द्र सन्चालन गरिरहेको छ । उक्त जग्गाको सम्झौता सकिएको विद्यालयका प्रधानाध्यापक पर्शुराम लम्सालले जानकारी दिए ।
वालिङ नगरपालिका वाड नं ८ स्थित घ्याङलिङ स्थित २९ रोपनी जग्गा द्वन्दकालवाटै सशस्त्र प्रहरीले कव्जा गरेको छ । सशस्त्र प्रहरीलाई स्थायीरुपमा राख्न उक्त जग्गा नगरपालिकाले सशस्त्रको नाममा दिन गृहमन्त्रालयमा निर्णय गरी पठाएको थियो । विद्यालयले विरोध जनाएपछि उक्त जग्गा सशस्त्र प्रहरीको नाउँमा जानवाट रोकिएको समेत लम्सालले जानकारी दिए । उक्त जग्गा हाल पनि सशस्त्र प्रहरीकै कव्जामा रहेको छ ।
सरकारी विद्यालय सरकारकै नीति नियम अनुसार चल्नुपर्छ राज्यकोषबाट चल्ने भएकोले सरकारी विद्यालयको दायित्वमा रहेका सबै सम्पत्तिको संरक्षण गर्ने जिम्मा विद्यालय प्रशासन र व्यवस्थापन समितीको हो । वालिङकै गहनाको रुपमा रहेको पुरानो शैक्षिक संस्थाको सम्पत्ति संरक्षणमा नगरपालिका र विद्यालय प्रशासन जिम्मेवार नभएको नागरिकले गुनासो गरेका छन् ।
हरित ज्योति सगँ सम्झौता रद्ध गर्छु ः वडा अध्यक्ष तिवारी
वालिङ
म वडा अध्यक्षमा निर्वाचित भएर गएपछि पहिलो पटक पुर्णमृत भवानी माविले भाडा बुझाईदिन पत्रचार गरेको पत्र पाए । तत्कालिन वडा अध्यक्षले भाडा दिनेगरी सम्झौता गरेको बुझे । लामो समय वडाले किन भाडा नतिरेको भनेर खोज्दै जादा वडाले सहकारीलाई भाडा दिनेगरी सम्झौता गरेको भन्ने सुने । के कति र कति बर्षका लागि भाडामा दिइयो भन्ने कुनै कागतजात नभएपछि सहकारीलाई सम्झौतापत्र र भाडा बुझाउन पत्राचार गरेको छु वडा अध्यक्ष दामोदर तिवारीले पब्लिक आवाजलाई सुनाए । सहकारीलाई समय दिएका छौं उनले भने,‘दिएको समयमा सहकारीले भाडा नबुझाएमा वडा कार्यालयले सम्झौता रद्ध देखि कानुनी प्रक्रिया थाल्छ ।’ सार्वजनिक सम्पति प्रयोग गर्ने अनि भाडा नबुझाउने यस्ता सहकारी र संचालकलाई कारवाहि हुनुपर्छ उनले भने । अहिले सम्म लचकता अपनाएका छौ उनले भने,‘वडाले पठाएको पत्रको जवाफ समयमै नदिएमा कानुनी प्रक्रिया थाल्छौं ।’
यो जग्गामा अवैध संरचना निर्माण भएको बताइएको छ । विद्यालयको नाउँमा रहेको कित्ता नं १३९ को १ रोपनी २ आना २ दाम १ पैसा जग्गामा हरितज्योती गौरव कृषि सहकारी संस्थाले हाटबजारको नाममा संरचना निर्माण गरेको खुलेको छ । उक्त जग्गा विद्यालयले वालिङ नगरपालिका वाड नं ८ वडा कार्यालयलाई २०७६ साल भदौ ३० गते मासिक २५ हजार भाडा पाउनेगरी कृषि हाटबजार सन्चालनका लागि पाँच वर्षका लागि सम्झौता गरेको हो । उक्त जग्गामा हरितज्योती गौरव कृषि सहकारीले विभिन्न निकायवाट अनुदान जुटाई संरचना निर्माण गरी भाडामा लगाएको खुलेको छ ।
अनुदानको रकमवाट कुनैपनि सार्वजानिक सम्पत्तिमा स्थायी संरचना निर्माण गर्न पाइदैन । पाँचवर्ष वडा कार्यालयले भाडा सम्झौता गरेको जग्गामा हरितज्योतीले संरचना गराउन वडा कार्यालय संग कुनै सम्झौता वा निर्णय भेटिदैन । हरितज्योतीले टहरा निर्माण गर्न र सटर भाडामा लगाउन पाउने आधिकारिताका वारेमा वडा कार्यालयले समेत चासो राखेर पत्राचार गरिएको वडा अध्यक्ष तिवारीले जानकारी दिए । सहकारीले अन्य सटर भाडामा दिएर रकम असुल्दै आएको बताइएको छ । यता हरितज्योती सहकारीका कार्यकारी प्रमुख भोजराज गुरुङ्ले वडा सगँ मौखिक सम्झौता भएको तर लिखित सम्झौता नभएको बताए ।
संकलन केन्द्र सञ्चालन गर्नेगरी सहकारीले काम थालेको थियो गुरुङ्ले भने,‘कोभिडका कारण हाटबजार संचालनमा कठिनाई भयो ।’ हामीले उपभोग गरेको जग्गाको मात्रै भाडा दिन्छौ भन्दा समस्या बन्दै गएको हो उनले भने । सहकारी भाडा दिन तयार रहेको तर उपभोग गरेको जग्गाको र कोभिडमा देखापरेको समस्यामा भने वडा कार्यालयले बुझिदिन अनुरोध गरे । विद्यालयको सम्पति देखाएर अनुदानको रकम दुरुपयोग भएको हुन सक्ने आशंका बढेको छ । यस बिषयमा पब्लिक आवाजले अझै गहिरो अध्ययन गर्दै छ ।
प्रतिक्रिया