किसानलाई लघु उद्यममा जोड्दै पुतलीबजार

स्याङ्जा ।
पुतलीबजार नगरपालिकाले गरिवी निवारणका लागि लघु उद्यम कार्यक्रम मार्फत किसानलाई आयआर्जनमा जोड्ने काम गरिरहेको छ । प्रत्येक वडामा समुहमा जोडेर किसानलाई लघु उद्यम कार्यक्रममा जोडेको हो । समुहमा जोडिएका किसानलाई तालिम प्रदान गरी अनुदानमा प्रविधि र बाख्रा वितरण गर्दै आएको छ । लघु उद्यम कार्यक्रममा मौरी पालन, बाख्रा पालन, तरकारी खेती लगायतका आयआर्जन कार्यक्रम रहेका छन् ।
किसानले आयआर्जनमा रोजेको व्यवसायको तालिम नगरपालिकाले दिदै आएको छ । तालिम प्राप्त किसानलाई मौरीका घर, बाख्राहरु अनुदानमा नगरपालिकाले उपलब्ध गराउदै आएको नगर प्रवक्ता मनोज पौडेलले जानकारी दिए ।
नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ का लागि गरिवी निवारणका लागि लघु उद्यम कार्यक्रम मार्फत प्रविधि र बाख्रा वितरण गरेको छ । प्रविधिमा मौरीका घार र नयाँ तालिम प्राप्त किसानलाई बाख्रा वितरण गरिएको प्रवक्ता पौडेलले बताए । तालिम पश्चात व्यावसायमा जोडिएका किसानको मागका आधारमा चाहिने सामाग्रीहरु नगरपालिकाले उपलब्ध गराउदै आएको छ । किसानको मागका आधारमा पुतलीबजार नगरपालिकाले मौरी पालक किसानलाई जालीवाला टोपी, पन्जा वितरण गरेको छ भने बाख्राका लागि दाना खुवाउने भाडा, खोर बनाउन जस्तापाता, पानी ट्याङ्की लगायतका सामाग्रीहरु वितरण गरेको छ ।
सामाग्री वितरण गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले नगरवासीलाई आयआर्जनमा जोड्न विभिन्न कार्यक्रम अगाडी सारिएको बताए । हामी सबै नगरवासीलाई उद्यमी बनाउन चाहान्छौं नगर प्रमुख रेग्मीले भने,‘नागरिकको चाहाना अनुसारको व्यावसायमा सहयोग गर्न चाहान्छौं ।’ सिमित साधनश्रोतको उच्चतम प्रयोग गरी नगर र नागरिकको समृद्धीका लागि नगरपालिका सधै तत्पर छ उनले भने ।
कार्यक्रममा उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना लगायतले नगरले प्रदान गरेको अनुदानको उच्चतम प्रयोग गरी फाइदा उठाउन सहभागीहरुलाई सुझाए । नागरिकको नजिकको रुपमा रहेको स्थानीय सरकारले अगाडी सारेका हरेक कार्यक्रमलाई सफल बनाउन सबै नगरवासीको सहयोग आवश्यक रहेको उनीहरुको भनाई थियो ।
प्रतिक्रिया