अर्जुनचौपारीको बजेट ४५ करोड ३७ लाख

भीरकोट ।
अर्जुनचौपारी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४५ करोड ३७ लाख १० हजार ६५३ रुपियाँ बजेट प्रस्तुत गरेको छ । गाउँसभाको १७ औँ अधिबेशनमा गाउँपालिका उपाध्यक्ष सपना गुरुङले चालु खर्च तर्फ ३२ करोड सात लाख २० हजार अर्थात ७०.६८ प्रतिशत र पूँजितगतर्फ १३ करोड २९ लाख ९० हजार ६५३ रुपियाँ अर्थात २९.३२ प्रतिशत अनुमानित आय ब्याय प्रस्तुत गरेकी हुन् । बजेटमा राजश्व बांडफांड तथा आन्तरिक श्रोततर्फ १३ करोड २७ लाख २१ हजार ६५३ आम्दानी हुने अनुमान गरिएको छ । यस्तै अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट ३२ करोड ९ लाख ८९ हजार प्राप्त हुने लक्ष्य लिइएको छ ।
अधिबेशनले यस बर्षको बजेटमा समेत सडक, शिक्षा तथा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । पालिकाले गाउँपालिकाको सदरमुकाम देखि सबै वडा कार्यालयहरु पक्की सडकले जोड्ने उद्देश्यले संघ र प्रदेशसगँ साझेदारी गर्ने गरी बजेट बिनियोजन गरिएको छ ।
यस्तै यहाँका मुख्य सडकको स्तरोन्नतिका साथै पालिकाको सदरमुकामसम्म जोड्ने अर्जुनचौपारी–पहुँमार्ग सडकको लागि सात करोड बजेट सुनिश्चित गरिएको छ । स्वास्य, शिक्षा, वन वातावरण र विपद् व्यवस्थापनलाई प्राथमिकता राख्दै पालिकाले एक करोड १८ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकामा सञ्चालनमा रहेको आँखा उपचार केन्द्रबाट प्रदान गरिएका सेवाहरुमा थप विस्तार गर्नका लागि १० लाख विनियोजन गरिएको छ ।
यस्तै नेपालकै पहिलो नवग्रह मन्दिर र मुक्तिनाथधाम जोड्ने छोटो दुरीको अर्जुनचौपारी–आग्रीखर्क–पर्वत–बाग्लुङ हुँदै मुक्तिनाथ सम्मको सडक निर्माण तथा स्तरोन्नतिको लागि प्रदेश सरकारको साझेदारीमा चार करोड बजेट बिनियोजन गरिएको छ । मृगौला प्रत्यारोपण गरेका डायलासिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधी उपचार खर्चका लागि बजेटको व्यवस्था गरिएको छ । खेलकुद, पर्यटन, कृषि लगायतका क्षेत्रका लागि पनि बजेटले सम्बोधन गरेको उपाध्यक्ष गुरुङ्ले सभामा पेश गरेकी छन् ।
प्रतिक्रिया