स्याङ्जाका सुनचाँदी व्यवसायीले प्रशासनलाई चावी बुझाउने

वालिङ ।
आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा सुनचाँदी व्यवसायसँग सम्बन्धित नयाँ कर नीतिको विरोधमा स्याङ्जाका व्यवसायीहरु आन्दोलित भएका छन् । सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि देशभरका व्यवसायीहरु आन्दोलित बनेका हुन् । यसै सन्दर्भमा स्याङ्जाका सुनचाँदी व्यवसायीहरुले बिहीबार आ–आफ्ना पसल बन्द गर्दै विरोध जनाएका छन् । सुनचाँदी व्यवसायीहरुको आन्दोलनको बारेमा जानाकारी गराउने उद्देश्यले सुनचाँदी व्यवसायी संघ स्याङ्जाले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । स्याङ्जा सुनचाँदी व्यवसायी संघका अध्यक्ष लेखनाथ गहतराजको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।
संघले आफ्ना मागहरु सहित ६ बुँदे प्रेस विज्ञप्ती जारी गरेको छ । पत्रकार सम्मेलनमा स्याङ्जा सुनचाँदी संघका साधारण सदस्यहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । प्रेस विज्ञप्ती मार्फत सुन र गहनामा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न, हिरा तथा जवाहरात जडित गहनामा लगाइएको १३ प्रतिशत भ्याट फिर्ता लिन, सुनचाँदीको कारोबारलाई प्रोत्साहित गर्न नयाँ ऐन, नियम तथा नीतिहरु निर्माण गर्न माग गरिएको छ । साथै, छिमेकी देश भारतमा झैं नेपालमा पनि सुनमा केवल ६ प्रतिशत भन्सार शुल्क मात्र लगाउनुपर्ने माग व्यवसायीहरुले राखेका छन् ।
सरकारले आगामी बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता र हिरामा १३ प्रतिशत भ्याट लगाएको विरोधमा आन्दोलनमा उत्रिएको नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य हिमलाल वि.क.ले बताए । सरकारले आगामी बजेटमार्फत सुनमा विलासिता कर लगाएको र सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा १३ प्रतिशत भ्याट लगाएको छ उनले भने, ‘यसले सुनचाँदी व्यवसाय नै संकटमा पर्ने देखिएको छ । यो खारेजको माग गर्दै देशभर सुनचाँदी पसल बन्द गराएर विरोधमा उत्रिएका हौँ ।’
संघका अध्यक्ष लेखनाथ गहतराजले भने, ‘सरकारको नयाँ कर प्रणालीले व्यवसायलाई धरापमा पारेको छ । स्याङ्जामा मात्रै १ सयभन्दा बढी सुनचाँदी पसल रहेका छन् र त्यसमा आश्रित सयौं व्यवसायी संकटमा परेका छन् ।’ व्यवसायीहरुले सरकारको निर्णय तत्काल फिर्ता नभए थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । सुनचाँदीमा बिलासिता कर लगाउदा उपभोक्ता समेत मारमा पर्ने उनीहरुले बताएका छन् । शुक्रवार सुनचाँदी व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयमा चावी बुझाउने समेत जनाएका छन् । पत्रकार सम्मेलनको संचालन सचिव रुद्रबहादुर विकले गरेका थिए ।
प्रतिक्रिया