स्याङ्जाको हरिनास गाउँपालिकामा करोडौ रकम अनियमितता
स्याङ्जा ।
आर्थिक कार्यविधि विपरीत अनियमित रुपले खर्च गर्ने पालिकाहरुमा हरिनास गाउँपालिका पहिलो देखिएको छ । स्याङ्जाका ११ ओटै पालिकाहरु मध्ये सबैभन्दा बढी आर्थिक कार्यविधि विपरीत अनियमित खर्च गर्नेमा हरिनास गाउँपालिका पहिलो देखिएको हो । २०७४/०७५ देखी २०८०/०८१ सम्मको लेखापरीक्षणको तथ्याङ्क हेर्दा स्याङ्जामा सबैभन्दा बढी बेरुजु हरिनास गाउँपालिकाको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षक तथ्याङक केलाएर हेर्दा जिल्ला ११ पालिका मध्ये सबैभन्दा बढी अनियमित खर्च गर्ने पालिकाको रुपमा हरिनास रहेको देखाएको छ ।
पालिकाले सबैभन्दा बढी कागतजात प्रमाण र अनियमित खर्च धेरै रहेको महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक बर्ष २०८०/०८१ मा हरिनास गाउँपालिकाको १ अर्व ३ करोड ८५ लाख ९८ हजारको महालेखाले लेखापरीक्षण गरेको थियो । ४ करोड ८१ लाख ११ हजार ६ सय १४ रुपैयाँ बेरुजु देखाएको छ । आर्थिक बर्ष २०७४/०७५ देखी २०८०/०८१ सम्म आइपुग्दा हरिनास गाउँपालिकाको बेरुजु १४ करोड ५ लाख २६ हजार पुगेको छ । गाउँपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०८२/०८३ को बजेटको अनुपातमा झण्डै ३३ प्रतिशत बेरुजु देखिन्छ । यो आर्थिक सुचाङ्कमा अत्यन्तै दुखलाग्दो तथ्याङ्क रहेको विज्ञहरु बताउछन् ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/०८१ प्रतिवेदनमा प्रमाण पेश नगरी आर्थिक अनियमित गरेको खुलाएको छ । सुरक्षित नागरिक आवास कार्यक्रम, अधुरा आयोजना, सवारी भाडा, भवन आचार संहिता विपरीत नेपाल विकास तथा कन्सलटेन्ट प्रा.लि. नागार्जुनलाई भुक्तानी, व्यामशाला लगायत दर्जनौ कार्यक्रममा ९५ लाख ५४ हजार ४ सय ९४ रुपैयाँ भुक्तानी गरेको उल्लेख गरेको छ । विभिन्न आयोजना र आर्थिक कार्यविधि विपरीत ३ करोड २० लाख ८३ हजार २ सय २३ रुपैयाँ अनियमित गरेको भनेर टिप्पणी उठाएको छ । पालिकाको आन्तरिक आय अत्यन्तै न्युन रहेको र अनुदानको रकममा आर्थिक कार्यविधि विपरीत खर्च नगर्नु भन्ने सुझाव समेत दिएको छ ।
पालिकाको आन्तरिक आय २७ लाख ६८ हजार ७३ रहेको र गाउँसभा बैठकको निर्णयबाट १ करोड २८ लाख ५० हजार रुपैयाँको हाइलक्स टोयटा गाडी खरीद गरेको समेत टिप्पणी उठाएको छ । कार्यलयको आवश्यकता र आन्तरिक आम्दानी विश्लेषण नै नगरेर सवारी साधन खरिद गर्दा पूर्वाधारको विकासमा असर परेको उल्लेख गरेको छ । खर्चको बिश्लेषण समेत गरिदएको छ । पालिकाको आर्थिक बर्ष २०८०/०८१ खर्च बिश्लेषण गर्दा अनुदान र राजस्व बाँडफाँडको रकमबाट ७८ प्रतिशत चालु र ३९ प्रतिशत पुँजीगत निर्माणमा खर्च गरेको देखाएको छ । जनतासगँ अध्यक्ष भन्ने कार्यक्रममा अवण्डा बजेट राखेर अनियमित खर्च गरेको समेत महालेखाले उठाएको छ ।
पोषणका लागि शशर्त अनुदानबाट कार्यक्रम नै नगरी मोटरसाईकल खरीद गरेको र जुन मोटरसाईकल पनि पालिकामा दाखिला नगरिएको महालेखाले उठाएको छ । ८ लाख ८ हजार ५ सय अनियमित खर्च गरेको ठहर गरेको छ । आवश्यकता नहेरी औषधी खरीद गरिएको साथै २०४ ओटा न्यानो झोलाको अभिलेख नराखिएको समेत महालेखाले उल्लेख गरेको छ । पुँजीगत खर्चबाट चालुका प्रकृतिमा खर्च गरेको समेत उल्लेख गरेको छ । आमा समुह, भलिवल प्रतियोगिता, युवाक्लव लगायतका समुहलाई पुँजीगत खर्चबाट भुक्तानी गर्दा पुँजीगत खर्चमा निर्माण भएका पूर्वाधारका योजनाहरु कटौती भएको उल्लेख गरेको छ ।
पालिका प्रमुखबाट अनियमित खर्च गराउन बढी प्रेसर दिदा पालिकाको बेरुजु बढ्न गएको नाम उल्लेख नगर्ने सर्तमा पुर्व प्रमुख प्रशासकीय अधिकृतहरु बताउछन् । यसको उदाहरण असार २३ गते पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विच भुक्तानीका बिषयमा भएको विवादले पनि प्रष्ट पारेको देखिन्छ । बिना योजनाको भुक्तानी माग गर्दा पालिका प्रमुख खिमनारायण मानन्धरले प्रमुख प्रशासकीय अधिकृतमाथी हातपात गरेको खबर बाहिरीएको थियो । जसले गर्दा पालिकाको भुक्तानी सहित सबै काम ठप्प भएको थियो । पछि जिल्ला समन्वय उपप्रमुखको रोहवरमा दुवै पक्षले कानुन अनुसार काम गर्ने सहमति पछि पालिकाको काम कारवाही अगाडी बढेको बताइएको छ ।


प्रतिक्रिया