स्याङ्जामा मुक्तिनाथ कृषि कम्पनी

स्याङ्जा ।
स्याङ्जामा मुक्तिनाथ विकास कृषि कम्पनी लिमिटेडको श्रोत केन्द्र स्थापना गरिएको छ । मुक्तिनाथ कृषि कम्पनी कृषक, कृषी उद्यमी र उपभोक्ता समेतलाई ध्यानमा राख्दै नेपालको कृषि अर्थतन्त्रलाई बलियो बनाउने अभिप्रायले २०७५ मा मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीसहित नेपालका विभिन्न व्यावसायिक क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरुको लगानीमा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो ।
कम्पनीको श्रोत केन्द्र उद्घाटन समारोहमा पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले कृषिका माध्यमबाटै ठूला र विकसित राष्ट्रले सफलता प्राप्त गरेको प्रसंग सुनाए । नेपालमा कृषिका लागि धेरै सम्भावना भएर पनि सो बमोजिम काम गर्न नसकेकाका कारण खरबौं रुपैया बराबरका खाद्य सामाग्री आयात गर्नु परेको उनको भनाइ थियो । रेग्मीले नेपाल कुरा उत्पादन गर्ने देश मात्र बन्दै गएको तर कृषि उत्पादन गर्ने देश बन्न नसक्नु दुःखको कुरा भएको जिकिर गरे । कृषि उद्यमको विकास विना मुलुकको आर्थिक परिवर्तन सम्भव नभएको रेग्मीले बताए ।
यस कम्पनीले देशमा कृषि उद्यमको विकास गर्ने लक्ष्य राखेको मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले बताए । उनले भने, ‘नेपालमा कृषकको उत्पादन र कृषि वस्तुको बजारका बिचमा थुप्रै समस्या छन् । उत्पादनदेखि बजार र प्रशोधनका प्रक्रियासम्म विभिन्न क्षेत्रमा यस कम्पनीले सहयोग पु¥याउनेछ । हामी नेपालको कृषि क्षेत्रलाई व्यासायिक र प्रविधियुक्त बनाउने दिशामा लागेका छौं ।’
कार्यक्रममा मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष एवं प्रदेश सांसद मिनप्रसाद गुरुङ्, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष खगेन्द्रराज रेग्मी र भरतप्रसाद लम्साल, सार्वजनिक निजी सामुदायिक साझेदारी कार्यक्रमका निर्देशक केशवराज लम्साल, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख इश्वरीप्रसाद अर्याल लगायतले सुलभ ऋण, प्रविधिमैत्री उपकरणको उपयोग गर्दे कृषिका माध्यमबाट ब्यावसायिक बन्नुपर्नेमा जोड दिएका थिए ।
मुक्तिनाथ कृषि कम्पनीमा ८ सय ३२ जना कृषक तथा व्यासायीहरुले लगानी गरेका छन् । यस कम्पनीको अगुवाइमा ८ वटा सब कम्पनीहरु स्थापना भएका छन् । यस कम्पनीको अधिकृत पूँजी करिब ४० करोड रहेको छ । कृषकको खेतबारीको उत्पादनलाई बजारसम्म पु¥याउने र कृषकहरुलाई गुणस्तरीय मल, बिउ, विषादी, कृषि उपकरण, व्यावसायिक योजना जस्ता पक्षमा सहयोग पु¥याउने यसको उद्देश्य रहेको छ ।
गुणस्तरीय वस्तु उत्पादन गरेर निर्यात गर्ने, गुणस्तरीय बिउ, पुँजीको अभाव भएकालाई पूँजीको व्यवस्था, तालिम नपाएकालाई सम्बन्धित व्यवसाय सम्बन्धी तालिम, उत्पादन भएको वस्तुको बजारको ग्यारेन्टी, कृषि उपजमा लाग्ने रोगको नियन्त्रण, सिँचाइका समस्या समाधानका उपाय तथा बाली एवं कृषि उपजमा हुने समस्याका लागि कृषि प्राविधिकको समेत व्यवस्था गर्ने गरी मुक्तिनाथ कृषि कम्पनी अगाडि बढिरहेको ढकालले बताए ।
प्रतिक्रिया