‘भीरकोटलाई सुन्दर नगरपालिका बनाउने योजना छ’

गोविन्द कुमार कर्माचार्य,
नगर प्रमुख,
भीरकोट नगरपालिका,
बयरघारी, स्याङ्जा ।

जिल्लाको मध्य भागमा अवस्थित भीरकोट नगरपालिका संविधान घोषणासंगै घोषणा भएको नगरपालिका हो । यो नगरपालिका जिल्लाको एकमात्रै बालमैत्री नगरपालिका हो । गोविन्द कुमार कर्माचार्य नवनिर्वाचित भीरकोट नगरपालिकाका मेयर हुन् । नेपाली कांग्रेसबाट निर्वाचित उनी भीरकोटमा कांग्रेसको विरासत कायमै राख्ने मेयर समेत हुन् । बालमैत्री नगर समेत घोषणा भएको नगर भएको कारण भीरकोटलाई विशेष महत्वको साथ हेरिएको छ । नव निर्वाचित जनप्रतिनिधिहरुलाई ५ बर्षे विकासको खाका कोर्ने जिम्मेवारी पनि आएको छ । आर्थिक बर्ष नजिकिँदै गर्दा नीति तथा कार्यक्रम समेत बनाउनुपर्ने आवश्यकता देखिन्छ । सोही सन्दर्भमा नवनिर्वाचित मेयरसंग गरिएको सम्वाद ः

१. मेयर साव आराम हुनुहुन्छ ? भीरकोट नगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्याक्त गर्दछौं । यहांका प्रमुख योजना र प्राथमिकता के के छन् ?

धन्यवाद, नमस्कार । आरामै छु । हाम्रा प्रमुख योजना र प्राथमिकतामा वैज्ञानिक तथा आधुनिक कृषि प्राणाली, युवा स्वरोजगार, कृषकलाई मल तथा विउमा अनुदान, आंधीखोला, लुब्दिखोला र सामदीखोलामा तटबन्ध, एक घर एक खानेपानी धारा लगायतका धेरै योजनाहरु छन् । ति सबैको फेहरिस्त यहां संभव नहोला । २०७९ को निर्वाचनमा मैले भीनपामा कांग्रेसको तर्फबाट नगर प्रमुखको उम्मेदवारी दिएको थिएँ । उम्मेदवारी पाएपछि सवै वडामा उम्मेदवारको हैसियतले पुगियो । भीरकोट नगरपालिका अत्यन्तै नयां नगरपालिकाको रुपमा चिरपरिचित छ । २०७२ सालमा स्थापना भएको नगरपालिका ऐतिहासिक हिसाबले महत्वपुर्ण रहेको छ । साविकको नगरपालिकामा १४ वटा वडा थिए । पछि स्थानीय तह घोषणा भएपछि ९ वटा वडामा समायोजन गरेर नगरपालिका बनाउने काम गरियो । साविक नगरपालिकाको वडाहरु र त्यसपछि थपिएका वडाहरु सबै ग्रामिण क्षेत्रहरुबाट थपिएका छन् । लगभग सबै वडाहरु पुर्वाधार, शिक्षा, कृषि र स्वास्थ्यको हिसाबले अत्यन्त विकट र विकास नभएको वडाको रुपमा परिचित छ । म ४० वर्षदेखि निरन्तर सामाजिक क्षेत्रमा क्रियासिल राजनीतिक कार्यकर्ता पनि हो । भीरकोटको भुगोल विकास, कुन क्षेत्रमा कुन समुदाय कसरी बसेको छ भन्ने अवगत छ । तथापि वडाहरुमा मतदाताहरुसंग भेट्दा धेरै कुराहरु सुने र मेरा कुराहरु पनि राखे । स्थानीय तह घोषणा गर्नुअघिको भीरकोट नगरपािलकामा भौतिक संरचना, सडक, शिक्षा, स्वास्थ्य र खानेपानीमा धेरै समस्या थियो । सुन्दर नगरपालिकाको रुपमा भीरकोटलाई हामीले विकास गर्ने योजना हामीसंग छ । अब हामी ग्रामीण क्षेत्रमा लगानी बढाएर काम गर्छौ ।

२. प्राय नेताहरु सत्तामा पुगेपछी जनतासंग गरेका वाचा विर्सने गरेका छन् नि ?

हामीले विर्सने छैनौं । हामीले जनतासंग सत्तामा पुग्यौं भने आंधीखोला नियन्त्रण गरि खेतीयोग्य जमिनको संरक्षण गर्छाै भनेर पहिलो वाचा गरेका थियौं । अहिले हामीले आंधीखोलामा तटवन्धको काम सुरु गरिसकेका छौं । ग्रामिण क्षेत्रबाट बनेका वडाहरुमा सवै कुरामा हामीले बढि प्राथमिकता दिएर विकास गर्नुपर्छ भन्ने अवधारणामा निर्वाचित भएर आएका उपप्रमुख र वडाध्यक्षहरु पनि सहमत हुनुहुन्छ । हामीले जुन हिजो बोलेका थियौँ प्रत्येक वडामा त्यही हिसाबले बजेट विनियोजन गर्छौ । मुलभुत कुरा के भने बजेट विनियोजन गर्दा कम्तीमा वडाहरुमा उपलब्ध हुने हिसाबका योजनाहरु कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र पुर्वाधारको क्षेत्रमा प्राथमिकिकरण गरेर शिक्षा, स्वास्थ्य र त्यसपछि कृषिको क्षेत्रमा बिषयगत अनुभव भएका व्यक्तिहरु, बिषयगत विशेषज्ञहरु, शिक्षामा, स्वास्थ्यमा सबैको सुझाव लिएर अघि बढ्छौँ । कृषिको क्षेत्रमा तल्लो गरिब बिपन्न बर्गहरुलाई व्यवसायिक र रोजगारी दिने कुरामा कसरी गर्न सकिन्छ भन्ने अध्ययन र छलफल गरिरहेका छौ । त्यो अनुरुप हामीले नीतिगत छलफल गरेर बनाएपछि इन्डिकेटरको रुपमा वडाध्यक्षहरु समेत बसेर परिणाम आउने किसिमको नतिजामुखी योजनाहरु बनाउने योजना छ । हामीले धेरै कुराहरु सोचेका छौ कृषिको क्षेत्रमा अन्य दातृ संस्थाहरु कुन कुनले सहयोग गर्छ त्यस तर्फ पनि छलफल चलाइरहेका छौ । उनीहरुलाई कृषि प्रर्वद्धनका लागि समन्वय गरेर नीति बनाउने कुरा पनि रहेको छ । हाललाई मैले भनेको क्षेत्रमा उपलब्धी हुने हिसाबले सबै वडाध्यक्षहरुलाई राखेर योजना बनाउने काम भइरहेको छ ।

३. वालमैत्री नगर घोषणा भैसकेको भीरकोट नगरपालिकालाई वालमैत्री शासनयूक्त नगरपालिका बनाउने के छ योजना ?

बालबालिकाको हित र चौतर्फी विकासका लागि काम गर्ने योजना छ । हामीले बालबालिकाको स्वास्थ्यलाई सुधार गर्ने र गरिबिको रेखामुनि भएका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने योजना बनाएका छौँ । भीरकोटलाई बालमैत्री, सफा, हरियाली एवं सुन्दर बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्राउन एवं हेर्न लायकको ठाउँ बनाउन धेरै महत्वकाँक्षी योजना बनाइएको छ । भीरकोटलाई साँच्चीकै बालमैत्री बनाउन नयाँ सिराबाट काम शुरु गर्नुपर्ने देखिन्छ । शुरुमै दातृ निकायको सहयोग पर्खेर काम हुन सक्दैन । नगरपालिकाका पहिले आफूमा सक्षम हुनुप¥यो, अनि दातृ निकायले पत्याउँछ । त्यो पत्याउने परिस्थिति निर्माण गर्ने कार्य हाम्रो हो, त्यसका लागि हामी सम्पूर्ण टोली लागिरहेका छाँै । हामी आत्मनिर्भर भएपछि कोकोसँग कुरा गर्ने, कुन परियोजनालाई आगाडि बढाउने भन्ने कुरा आउँछ । प्राचीन भीरकोटलाई संरक्षण गर्ने र आधुनिक बालमैत्री भीरकोट बनाउने हाम्रो उद्देश्य रहेको छ ।

४. यहांको पर्यटकीय विकासका लागि के कदम चाल्ने योजनामा हुनुहुन्छ ?

पर्यटनतर्फ प्याराग्लाईडिङ, गडहरे गुफाको अन्वेषण तथा प्रचार प्रसार, धार्मिक पर्यटनमा जोड, छांयांक्षेत्र मन्दिर, भीरकोट कालिकाको संरक्षण, देउपुजे ढुंगाको प्रचार प्रसार तथा पर्यटकीय मार्ग निर्माण गर्ने योजनामा छौं । पर्यटनको क्षेत्र प्रर्वद्धन गर्ने सन्दर्भमा भीरकोट नगरपालिकाले नगरपालिका भित्रको क्षेत्र मात्र प्रर्वद्धन गर्ने होइन, समग्र जिल्लाको पर्यटनलाई प्रर्वद्धन गर्न सकियो भने मात्र पर्यटकीय हिसाबले महत्व राख्न सक्ने ठान्दै प्याराग्लाईडिङको वल्र्ड कप समेत सम्पन्न गरिसकेको छ । खिलुङकालिका मन्दिर, सुन्दरचौर, मुल्काबराह, कोखे छहरा, होमस्टे प्रवर्धन आदिको विकास सम्वन्धमा सबैसंग छलफल गरेर एकिकृत योजना बनाउन सकिन्छ की भन्ने लागेको छ । त्यो हिसाबले काम ग¥यौ भने समग्र भीरकोटको पर्यटन प्रर्वद्धन गर्न सहज हुन्छ भन्ने विश्लेषण छ । ५ बर्ष नगरको विकासको लागि सवै नागरिकको आर्थिक उन्नती गर्न शिक्षा, स्वास्थ्य र कृषिमा आधुनिकिकरण गर्ने व्यवसायिक रुपमा कृषकहरुलाई उन्मुख गराउन सकिन्छ की भन्ने सोचेका छौ । केन्द्र, प्रदेश र जिल्लामा छलफल चलाएर एग्रो टुरिज्मतर्फ पनि जाने योजना तयार गरेका छौ ।

५. तपाईसंग जनताले के आशा राखेका होलान् ?

जनताले हामीसंग छिटोछरितो सेवा प्रवाह होस्, जनचाहना अनुशार काम होस्, भीरकोट नगरपालिकाको दांयाबांयाको बाटो पिच होस् भन्ने आशा राखेका होलान् । निर्वाचनको क्रममा मतदाताको घरदैलोमा पुग्दा र अहिले विजयी भएपछि अधिकांश मतदाताको मूल चाहना भनेको बांदर नियन्त्रण गरि खेतीवालीको संरक्षण गर्नु पनि रहेको छ । व्यवस्थित ढल, नालीको व्यवस्था गरेर खेतीयोग्य जमिन डुबानको समस्याबाट मुक्त गराउन पनि आवश्यक छ ।

६. बर्षेनी आंधीखोलाले खेतीयोग्य जमिन कटान गरिरहेको छ, आंधीखोलाको तटबन्धको योजना के छ ?

अहिले भीरकोट नगरपालिकाले आंधीखोला नियन्त्रण सम्वन्धमा बृहत सोच बनाएको छ । हामीले आंधीखोला नियन्त्रणका लागि तत्काल १ करोड रुपैयां विनीयोजन गरेका छौं । आंधीखोलाको तटबन्ध गर्नु निकै आवश्यक छ । बर्षेनी आंधीखोलाले बहाव परिवर्तन गर्दा आसपासको खेतीयोग्य जमिन असुरक्षित छ । आंधीखोलाकै कारण छेउछाउको सडक पनि भत्किरहेको छ । त्यसैले आंधीखोलाको तटबन्धसंगै छेवैको सडक निर्माणतर्फ ध्यान दिनु जरुरी छ । हामीले यसको दिर्घकालिन योजना बनाएर काम गर्ने सोचमा छौं ।

७. नगरपालिकामा शिक्षा, स्वास्थ्य जस्ता बिषयलाई कसरी अघि बढाउने सोचमा हुनुहुन्छ ?

अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमाको व्यवस्था मिलाएका छौं । शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि धेरै काम गर्नुपर्ने देखिन्छ । उच्चस्तरको अस्पतालको आवश्यकता छ । कतिपय विपन्न जनता अहिलेको कर तिर्न असमर्थ रहेकाले करको दर घटाउने र करको दायरा बढाउनु पर्ने देखिन्छ । सामुदायिक विद्यालयमा निजी विद्यालयस्तरको जस्तै स्तरीय पठनपाठनको सुनिश्चित गरी प्रत्येक वडामा त्यस्तो विद्यालय स्थापना गर्नु आवश्यक छ । त्यसपछि पनि नगरपालिकाका गरिबका छोराछोरी जसले आर्थिक अवस्थाका कारण उच्च शिक्षा अथवा आफूले अध्ययन गर्न चाहेको विषयमा आवश्यक सहयोगको प्रबन्ध गरिनेछ ।

८. दलका उम्मेदवारले जितेर गएपछि नगरपालिकामा आफ्ना कार्यकर्ता र आफन्तलाई भर्ती गर्ने गरेका थिए । तपाईले चांहि के गर्नुहुन्छ ?

मैले त्यस्तो गर्दिन् । कुनै कर्मचारीले गल्ती गरेमा गल्ती गर्नेलाई अवश्य हटाउछु । आफ्नो दलको कार्यकर्ता भर्ना गर्ने सोच छैन् । हिजोका कर्मचारीहरु पनि प्रतिस्पर्धाबाट आएको जस्तो लाग्छ । सिमित मान्छेलाई जागिर दिने भन्दा युवा स्वरोजगारका कार्यक्रमलाई अगाडि बढाउन सकिन्छ । भीरकोटका संस्थापक मेयरले सुशासनको बीउ रोपेर जानु भएको छ । सिमित मान्छे भर्ती गर्ने भन्दा भीरकोटभरिका नागरिकलाई विभिन्न आयमूलक काममा सक्रिय गराउन सकिन्छ कि भन्ने मलाई लागेको छ ।

९. भीरकोट नगरपालिकामा नाम मात्रको नगर अस्पताल छ । नगर अस्पताल निर्माणको लागि वडा नं. ६ मा जग्गा प्राप्ति भैसकेको पनि छ, अब उक्त जग्गामा नगर अस्पताल बनाउनुहुन्छ कि कालिका सामुदायीक अस्पताललाई नै नगर अस्पतालमा रुपान्तरण गर्नुहुन्छ ?

नगर अस्पतालको नाममा प्राप्त भएको जग्गा अनुपयुक्त र अपर्याप्त भएकाले कालिका सामुदायिक अस्पताललाई नै नगर अस्पताल बनाउनुपर्ने भएको छ । भर्खरै मात्र यस अस्पतालको लागि आवश्यक उपकरणहरु खरिदका लागि ४० लाखको टेण्डर भएको छ । कालिका सामसदायिक अस्पताल भीरकोट सरकारको मातहतमा आएपछि जनतालाई स्वास्थ्य सेवा लिन थप सहज भएको छ । नगरवासीले सेवा लिएकै छन् । गुणस्तरीय सेवा र सेवा वृद्धि गर्न नगरपालिकाले के गर्न सक्छ, साविकको अस्पताल संचालक समितिसँग हातोमालो गर्न तयार छौँ । यस अस्पतालबाट स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गरी काम गर्नेछौँ ।

१०. अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

मलाई अत्याधिक बहुमतले प्रमुखमा विजयी गराउनु भएकामा सम्पूर्ण नगरवासीप्रति हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्न चाहन्छु । नगरवासीले जुन विश्वासका साथ मलाई यो जिम्मेवारी सुम्पिनु भएको छ, त्यसलाई कत्ति पनि कम हुन नदिई इमान्दारपूर्वक काम गर्नेछु । एउटा व्यक्तिको प्रयासले मात्रै सम्पूर्ण नगरको मुहार फेर्न सम्भव हुँदैन । सबैको साथ र सहयोगको जरुरत पर्दछ । सँगसँगै अन्जानमा बाटो बिराएमा खबरदारी र सचेत गराउन पनि आग्रह गर्दछु । निर्वाचनको क्रममा मैले सार्वजनिक गरेको प्रतिबद्धताको कार्यान्वयन गर्ने कुरामा आशंका नगर्न पनि आश्वस्त तुल्याउन चाहन्छु ।

प्रतिक्रिया