स्याङ्जामा २७ दुर्घट्नामा ४० को मृत्यु

स्याङ्जा ।
स्याङ्जामा एक वर्षको अवधिमा २७ सवारी दुर्घटना हुदा ४० जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका विभिन्न स्थानमा सवारी दुर्घटना परेर ४० जनाले अकालमै ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा १७ पुरुष, १८ महिला, चार बालक र एक बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिए । एक वर्षको अवधिमा १४ पुरुष, १५ महिला, दुई बालक र दुई बालिका गरी ३३ जना गम्भीर घाइते भएका थिए भने १५ जना मध्यम घाइते भएका थिए ।

आव २०७७÷०७८ मा स्याङ्जामा १६ सवारी साधन दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो । विभिन्न दुर्घटनामा १२ पुरुष, दुई महिला, दुई बालकको मृत्यु भएको थियो भने २१ जना गम्भीर घाइते र पाँचजना मध्यम घाइते भएका थिए । आव २०७७÷०७८ मा भन्दा गत आव २०७८÷७९ मा २४ जना बढीले ज्यान गुमाएका छन् । गएको वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वालिङ–१४ अर्खलवासस्थित ग्रामीण सडकमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।

त्यस्तै आव २०७६÷७७ मा स्याङ्जामा १५ सवारी साधन दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा चार पुरुष, तीन महिला र दुई बालबालिका थिए । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा स्याङ्जामा सवारी दुर्घटना, मृत्यु र घाइतेको संख्या बढ्दै गइरहेको देखिएको छ । ग्रामीण भेगमा ट्राफिक प्रहरीको निगरानी पुग्न नसक्नु, यात्रु तथा चालकको लापरबाही, पुराना र मर्मत नगरिएका सवारी साधन, कच्ची र ग्रेडिङ नमिलेका ग्रामीण सडकका कारण पनि दुर्घटनामा वृद्धि हुँदै गएको कार्यालयले जनाएको छ ।

जिल्लामा सवारी साधन दुर्घटना भई अकालमै धेरैको मृत्यु हुन नदिनका लागि ट्राफिक प्रहरीले आव २०७८÷०७९ मा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी छ सय दुई सचेतना कार्यक्रम सञ्चालन गरेको कार्यालय प्रमुख कुँवरले बताए । उक्त कार्यक्रममार्फत ४६ हजार ४० जना लाभान्वित भएको ट्राफिक कार्यालयको दावी छ । आव २०७७÷०७८ मा पनि चार सय १२ सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा ३३ हजार सात सय २५ जना लाभान्वित भएको तथ्याङ्क ट्राफिक कार्यालयमा रहेको छ । दुर्घट्ना न्युनिकरणका लागि यातायात व्यवसायी, यात्रुहरुमा सचेतना र ट्राफिक प्रहरीको निगरानी बढाउनु पर्ने सरोकारवालाहरुको भनाई छ ।

प्रतिक्रिया