वालिङ क्याम्पसमा रोचक भिडन्त

वालिङ ।
त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसहरुमा अहिले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनको रौनक छाएको छ । त्रिभुवन विश्वविद्यालयले तोकेको स्ववियु निर्वाचनको मिति नजिकिएसँगै चुनावकेन्द्रित गतिविधिमा जुटेका विद्यार्थी संगठनहरुसँग शिक्षा क्षेत्रको सुधारका साथै अन्य मुद्दा छन् । जिल्लाकै सबैभन्दा पुरानो क्याम्पस वालिङ बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनलाई यतिबेला सबैले चर्चाको बिषय बनाएका छन् । यस क्याम्पसमा मुख्य गरि कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियूबिच प्रतिस्पर्धा हुदैंछ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को चुनाव घोषणा गरेको छ । निर्वाचनको मिति नजिकिएसँगै विद्यार्थी संगठनहरु तयारीमा जुटेका छन् । विद्यार्थी संगठनका जिल्ला समितिदेखि क्याम्पस एकाइ समितिले चुनावकेन्द्रित गतिविधि बढाएका छन् । वालिङ क्याम्पसमा ४ वटा बिद्यार्थी संगठन दर्ता भएका छन् । प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने निर्वाचन लामो समयदेखि नियमित हुन सकेको थिएन । त्यसैले पनि यस निर्वाचनलाई सफल बनाउन जुटिरहेको विद्यार्थी संगठनहरुले बताएका छन् । निर्वाचनका लागि मुद्दा तय गर्न घोषणापत्र समिति, निर्वाचन परिचालन समिति लगायत विभिन्न उपसमितिहरु गठन गरेर विद्यार्थीहरु निर्वाचनको तयारीमा जुटेका छन् ।

वालिङ क्याम्पसमा नेविसंघका सन्दिप कडेंल (क्याण्डी) र अनेरास्ववियूका मिलन बहादुर अर्यालको समूहबिच चुनाबी प्रतिस्पर्धा हुदैंछ । कडेंललाई समाजवादी निकट अनेरास्ववीयू र माओवादी निकट अखिल क्रान्तिकारीले समर्थन गरेको छ । दुवै पक्ष स्ववियु निर्वाचन आफ्नो पक्षमा पार्ने हिसाबले लागिरहेको छ । त्यही आधारमा आफ्ना एजेन्डाहरु विद्यार्थीमाझ पु¥याउने काम गर्दै आएका छन् ।

नेविसंघले समयमा विद्यार्थीको भर्ना, परीक्षा सञ्चालन र नतीजा प्रकाशनमा क्याम्पसले ढिलासुस्ती गर्दा विद्यार्थीको भविष्यमा आँच पुग्दै आएको विषयलाई निर्वाचनको मुद्दा बनाएको सभापतिका उम्मेदवार कडेंल बताउँछन् । उनी भन्छन्, “क्यूएएमा सर्टिफाइड भैसकेको क्याम्पसमा राजनीतिक आस्थाका आधारमा नभई क्षमता र योग्यताको आधारमा प्रध्यापक छनौट गर्नुपर्ने, क्याम्पसमा प्रदान गरिने छात्रावृत्तिलाई पहुंचको आधारमा नभई प्राथमिकताको आधारमा वितरण गरिनुपर्ने, शिक्षालाई उद्यम र सीपसँग जोड्ने, प्रविधिमैत्री बनाउने कुरा हाम्रो मुख्य एजेन्डा रहनेछ । शिक्षालाई सर्वसुलभ र सहज बनाउने गरी अगाडि बढ्छौं ।” आफू चुनाव जितेर वालिङ क्याम्पसमा नयाँ इतिहास रच्ने आफ्नो योजना रहेको उनको भनाई छ ।

हिजोका विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धि पनि निर्वाचनका मुख्य विषय हुने कडेंल बताउँछन् । “हाम्रो आन्दोलनबाट प्राप्त स्वास्थ्य बीमा, ४५ प्रतिशत यातायात छूट, सहुलियत ऋण कर्जा लगायतका विषयहरु छन्” उनी भन्छन्‚ “सर्टिफिकेट राखेर सहुलियत ऋण दिने विषय कार्यान्वयनमा सहजीकरणको आवश्यकता छ । त्यसमा पनि काम गर्ने छौं ।” विद्यार्थीहरुको साथ र सहयोगले उनी यति बेला स्ववियु सभापतिमा उम्मेदवारी दिन हौसिएका हुन् । क्याम्पसभित्र हुने गरेको बेथिति अन्त्य गर्ने प्रतिबद्धता उनको छ । विद्यार्थी माझ अत्यन्तै लोकप्रिय मानिएका कडेंल आफुले जित्ने विश्वास लिएका छन् । कडेंलको प्यानलबाट सचिवमा राजिन कुंवर (विपिन), कोषाध्यक्षमा सुमना लामिछाने (मनिषा), सदस्यहरुमा अश्विन कुमार रेग्मी (अविनाश), आकृती पाण्डे, बादल लामिछाने, सविना सुनार, ओम प्रसाद गुरुङ, दिपा डाला मगर र डिला भूषाल उम्मेदवार रहेका छन् ।

क्याम्पसमा हुने बेथिति र सुधारको पक्षमा निरन्तर आवाज उठाउँदै आएको र अबका दिनमा यसलाई थप सशक्त बनाएर अघि बढ्ने अनेरास्ववियूबाट सभापतिको उम्मेदवार बनेका अर्यालको प्रतिबद्धता छ । क्याम्पसमा छात्रावासको समस्या, क्यान्टिनको सुधार, क्याम्पसका पूर्वाधार सुधार लगायतका कामलाई उनले आफ्नो एजेन्डा बनाएका छन् । विद्यार्थीका समस्या आफ्ना समस्या भएको अर्यालले बताए । त्यस्तै अध्ययन र अनुसन्धानको लागि सहज र अनुकूल वातावरण प्रदान गर्न पुस्तकालय सुविधाहरुको स्तरोन्नति गर्ने उनको योजना छ । विद्यार्थीहरुको सिकाइ अनुभव बढाउने आधुनिक र नवीन शिक्षण–सिकाइ विधिहरू लागू गर्ने उनको योजना छ । सर्वसुलभ र गुणस्तरीय शिक्षा, यातायात र शैक्षिक सामाग्री लगायतका पक्षमा अनेरास्ववियूले विगतदेखि वर्तमानसम्म निरन्तर आवाज उठाइरहेको अर्यालको दावी छ । अर्यालको प्यानलबाट सचिवमा सुशान्त श्रेष्ठ, कोषाध्यक्षमा विना रेग्मी, सदस्यमा विपुल डुम्रे, सन्दिप घर्ति, निर बहादुर सार्की, आयूष्मा काफ्ले, वसन्त भूषल, ओम बहादुर कुमाल र यू माया क्षेत्री उम्मेदवार रहेका छन् । दुवै विद्यार्थी नेताको चुनावी भिडन्त निकै रोचक हुने देखिन्छ । वालिङ बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा कसले बाजी मार्छ त्यो भने चैत्र ५ गतेपछि मात्रै थाहा हुनेछ ।

 

प्रतिक्रिया