अध्यक्ष कोइरालाद्वारा कागतीका विरुवा वितरण

भीरकोट ।
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं १३ मा अवस्थित कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद कोइरालाले विद्यालय परिवारलाई निशुल्क सुनकागतीका विरुवा वितरण गरेका छन्। कोइरालाले विद्यार्थी र शिक्षकलाई १ हजार वटा सुनकागतीका विरुवा निशुल्क वितरण गरिएको बताए ।
उनका अनुसार कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी र शिक्षकलाई कागतीको विरुवा वितरण गरिएको हो। उनले विद्यार्थीलाई र शिक्षकलाई कृषिप्रति थप आर्कषित बनाउने हेतुका साथ विद्यालयमा नै लगेर विरुवा वितरण गरेको बताएका छन् । उनले भने, “पछिल्लो समय मानिसहरु आयतित वस्तुमा निर्भर हुदैँ गएकाले उनीहरुलाई कृषिप्रति आकर्षित गर्ने र आत्मनिर्भर बनाउने हेतुले नै विरुवा वितरण गरेको हो ।’’ कोइरालाले आजको दिनमा कागतीको बजार राम्रो रहेको हुनाले यसको उत्पादनमा जोड दिदाँ भोलिको दिनमा यसले राम्रो उत्पादन दिने बताएका छन् ।कोइरालाले व्यक्तिगत लगानीमै कागतीका विरुवा वितरण गरेको बताएका छन्। नेकपा माओवादीको राजनीति गर्दै आएका कोइराला कृषि उद्यमी पनि हुन् ।
कोइराला वि सं २०६६ सालमा उक्त विद्यालयको अध्यक्षतामा निर्वाचित भएका थिए भने गत जेठ ७ गते उनी पुन विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया