वालिङ महोत्सव— ‘मिति तोकियो—स्थान अन्योलमा’

वालिङ ।
स्याङ्जाको वालिङ उद्योग वाणिज्य संघ यतीबेला आठौं वालिङ महोत्सव २०८० को तयारीमा जुटेको छ । सातौ महोत्सव सफलतापुर्वक सम्पन्न गरेको वालिङ उद्योग वाणिज्य संघले आठौं महोत्सवको तयारीमा जुटेको हो । माघको १८ गतेदेखी २८ गतेसम्म आयोजना हुने आठौं वालिङमहोत्सव २०८० को मिति तोकिएपनि अहिले सम्म कुन ठाउँमा गर्ने हो भन्ने टुङ्गोमा पुग्न सकेको छैन । मिति तय गरिपनि स्थान अन्योलमा हुँदा वालिङमा महोत्सव हुन्छ या हुदैन भन्ने बहस पनि चल्न शुरु भएको छ ।

सातौ महोत्सव सम्म वालिङ खेलमैदानमा सम्पन्न गरेको संघले आठौ महोत्सव खेलमैदानमा हुन्छ भनेर भन्न नसक्दा महोत्सव हुने स्थान अन्योलमा परेको हो । वालिङ नगरपालिकाले राष्ट्रिय महिला फुटवल प्रतियोगिता वालिङ खेलमैदानमा आयोजना गर्दा झण्डै ५० लाखको लागतमा हरियो दुवो लगाएको थियो । अहिले दुवो लगाएको ठाउँमा नगरपालिकाले संरक्षण गर्ने भन्दै तारबार लगाएको छ । खेलमैदानलाई नगरपालिका र केही युवाक्लवले तारवार लगाएपछि महोत्सव खेलमैदानमा गर्ने निर्णय वालिङ उद्योग वाणिज्य संघले नसकेको हो । मितितय गरेर संघले महोत्सव आयोजना गर्न स्थानीय सरकारलाई खेलमैदान उपलब्ध गराइदिन माग गरेपछि नगरपालिकाले अहिले सम्म पनि खेलमैदान दिने वा नदिने भन्ने बिषयमा समेत अन्योल छ ।

जिल्लाका पालिकाहरुको सहयोगमा झण्डै आधा करोड रकम खेलमैदानमा लगानी गरिएको छ । महोत्सव आयोजना गर्न दिदा उक्त संरचना भताभुङ् हुने डरले नगरपालिकाले खेलमैदान भन्दा पनि बसपार्कमा महोत्सव गर्न सुझाव दिएको छ । तर महोत्सव खेलमैदानमै गर्ने व्यवस्था मिलाईदिन संघले आग्रह गर्दै आएको छ । यो चरण झण्डै एक महिनादेखी चलिरहेको छ । तर अहिले सम्म पनि महोत्सव कहाँ हुने हो भन्ने बिषय न आयोजकलाई थाहा छ न वालिङवासीलाई । महोत्सवको स्थान अन्योलमा हुँदा वालिङ ९ का वडावासीले औद्योगीकग्राम बैडीमा गर्न माग गर्दै नगरपालिका र वालिङ उद्योग वाणिज्य संघमा डेलिगेन समेत गरेका छन् ।

लाखौं रुपैया खर्चेर निर्माण गरिएको खेलमैदानलाई संरक्षण गर्नुपर्ने र महोत्सव बैडीमा गर्दा राम्रो हुने सुझाव सहित वालिङ ९ का वडावासीले नगरपालिका र संघलाई दवाव दिदै आएका छन् । महोत्सव गर्ने स्थानको टुङ्गो नलगाई संघले मितितय गरेपछि पछिल्लो समय महोत्सव गर्ने स्थान तानातानमा परेको छ । वालिङ ९ मा रहेको औद्योगीकग्राममा महोत्सव गरेर पछाडी परेको वडालाई अगाडी ल्याउन आग्रह गर्दै डेलिगेसन गएको वडा अध्यक्ष अमृत श्रेष्ठले बताए । खेलमैदानमा गरिएको लगानीलाई संरक्षण गर्नुपर्ने दायीत्व हामीसबैको भएको र महोत्सव गर्न बैडीमा पनि प्रसस्त जमिन भएकाले संघका पदाधिकारीलाई अनुरोध गरेको उनले बताए । बिहिवार संघका पदाधिकारी र वडावासी विच भएको छलफलमा कुनै महोत्सव बैडीमा गर्ने या नगर्ने भन्ने बिषयको टुङ्गो नलागेको बताइएको छ । बैठकमा सहभागीहरुले खेलमैदानमा महोत्सव गरेमा हाम्रो असहमति हुने जनाउ दिदै छलफल टुङ्गिएको बताइएको छ ।

यता संघका अध्यक्ष चेतनारायण श्रेष्ठले नगरपालिकाले खेलमैदानको बिषयमा टुङ्गो नलगाईदिदा स्थान अन्योलमा परेको स्विकार गरेका छन् । नगरपालिकाले लगानी गरेको दुवोलाई जस्तातस्तै बनाईदिन्छौ भनेर भनेका छौं अध्यक्ष श्रेष्ठले भने,‘यस बिषयमा नगरपालिकाले सहयोग नगर्दा अन्योलमा प¥यौं ।’ मेला गर्नका लागि बसपार्क ठिक छ तर संघले महोत्सव गर्ने हो त्यसैले खेलमैदानमै हुनपाउनुपर्छ उनले भने । अब छिट्टै महोत्सव खेलमैदानमै गर्न पाउनेगरी नगरपालिकाले टुङ्गाउनेमा हामी विश्वस्थ रहेको अध्यक्ष श्रेष्ठले बताए । यहाँका उद्योगी व्यवसायीले वालिङ चिनाउन आयोजना गरेको महोत्सव सफल बनाउन स्थानीय सरकारको पनि दायीत्व रहने उनले बताए । यसमा नगरपालिकाले सहयोग गर्छ उनले भने,‘वालिङका राजनीतिकदल, सामाजिक संघसंस्था सबैले महोत्सव खेलमैदानमै हुनुपर्ने सुझाव दिएकाले नगरपालिका सकरात्मक बन्छ ।’ अब स्थान अन्योल हुदैन छिट्टै खेलमैदानमै हुन्छ उनले भने । महोत्सवलाई सबैले सहयोग गरि सफल बनाउन आग्रह समेत उनले गरेका छन् ।

गण्डकी प्रदेशमै महोत्सव सफल बनाउनेमा वालिङ उद्योग वाणिज्य संघ पर्दै आएको छ । महोत्सवले गर्दा नै वालिङ उद्योग वाणिज्य संघको गरिमा र वालिङ नगरपालिका देशभर चिनाउन सफल भएको छ । यो महोत्सव सफल बनाउने दायीत्व पनि नगरपालिकाको रहेको नगर प्रमुख कृष्ण खाँणले बताएका छन् । नगर प्रमुख खाँणले महोत्सव खेलमैदानमा गर्ने बिषयको टुङ्गो छिट्टै लाग्ने बताए । संघले वालिङका राजनीतिकदल, सरोकारवाल, क्लवका प्रतिनिधि सबैको रोहवरमा बसेर खेलमैदानमा महोत्सव गर्नुपर्ने सुझाव नगरपालिकालाई दिएको र नगरपालिकाले यस बिषयमा छिट्टै टुङ्गोमा पु¥याउने बताए । खेलमैदानको जग्गा व्यवस्थापनको नगर प्रवक्ता पदमराज गुरुङ्को संयोजकत्वमा ३ सदस्यीय समिति बनाएका छौं उनले भने,‘उक्त समितिलाई यो बिषयमा पनि टुङ्ग्याउन जिम्मेवारी दिएका छौं ।’ उक्त समितिले राय र सुझाव पेस गरेपछि कार्यपालिकाको बैठकले टुङ्ग्याउने छ उनले भने ।

तर खेलमैदान महोत्सवका लागि पाउने वा नपाउने भन्ने बिषय भने अहिले भन्न नसकिने खाँणले बताए । समितिको सुझाव र कार्यपालिकाले नै यसको टुङ्गो लगाउने भएकाले यो बिषयमा अहिले बोल्न नमिल्ने खाँणले बताए । नगर प्रमुख खाँणका अनुसार पौषको २५ गतेभित्र यसको टुङ्गो लाग्ने जानकारी दिए । महोत्सव वालिङको पहिचान हो । विगतका बर्षहरुमा महोत्सव सफल भएपनि आर्थिक रुपले भने सफल बन्न नसक्दा उद्योगी व्यवसायीमा असन्तुष्ट रहदै आउको छ । विगतका महोत्सवमा भन्दा यो महोत्सवमा आम्दानी र सफल बनाउने प्रतिवद्धता सहित अहिलेको टिम लागेको छ । त्यसैले संघमा रहेका अहिलेको पदाधिकारीले आयोजना गर्न लागेको महोत्सवमा नगरपालिका सकरात्मक बन्नुपर्ने देखिन्छ । महोत्सव सफल बनाउने नै हो भने वालिङ खेलमैदानको व्यवस्था नगरपालिकाले मिलाइदिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया