खेलमैदानमा महोत्सव, नाफाको ५ प्रतिशत खेलकुदलाई छुट्टाइने

वालिङ ।
स्याङ्जाको वालिङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको आठौं वालिङ महोत्सव खेलमैदानमै हुने भएको छ । महोत्सव हुने स्थानको टुङ्गो नलाग्दा वालिङ उद्योग वाणिज्य संघ महोत्सव कहाँ गर्ने भन्ने अन्योलमा थियो । महोत्सव हुने स्थानको टुङ्गो नलगाईकन संघले माघको १८ गतेदेखी २८ गतेसम्म महोत्सवको मिति तय गरेको थियो । वालिङ नगरपालिकाले महोत्सवलाई खेल मैदानमा गर्न दिने निर्णय गरेपछि महोत्सव हुने स्थानको बल्ल टुङ्गो लागेको हो । महोत्सव आयोजना गर्न विभिन्न ठाउँ देखाइएपनि खेलमैदान बाहेक अन्यन्त्र महोत्सव गर्दा सोचे अनुशारको उदेश्य र सफलता प्राप्त नहुने सुझाव आएपछि नगरपालिकाले खेलमैदान दिने निर्णय गरेको छ ।

खेलमैदानमा झण्डै ५० लाख खर्चेर दुवो लगाएका कारण संरचना ध्वस्त हुने भन्दै नगरपालिकाले खेलमैदानमा महोत्सव गर्न इन्कार गर्दै आएको थियो । तर यहाँका राजनीतिक दल, युवाक्लव, सरोकारवाला निकाय र उद्योगी व्यवसायीको संयुक्त अनुरोध र सुझावका आधारमा खेल मैदानमा महोत्सव गर्न दिने निर्णय गरेको वालिङ नगरपालिकाका प्रवक्ता पदमराज गुरुङ्ले बताए । महोत्सव गर्न धेरै ठाउँबाट नगरपालिकामा प्रस्ताव आएको थियो, प्रवक्ता गुरुङ्ले भने,‘महोत्सव सफल बनाउन खेलमैदान नै उपयुक्त ठानिएकाले नगरपालिकाले खुला गरिदियो ।’ सरकारी लगानीमा लगाइएको हरियो दुवो जोगाउन सबैले अनुरोध गरेपनि उक्त संरचना जस्ताको तस्तै बनाउने सर्तका आधारमा महोत्सव खेलमैदानमा गर्न दिएका हौं उनले भने ।

महोत्सव वालिङको पहिचान भएकाले भविष्यलाई हेरेर नगरपालिकाले खेल मैदानमै महोत्सव गर्ने निर्णय गरेको प्रवक्ता गुरुङ्ले बताए । वालिङ ९ को बैडीलाई औद्योगीकग्राम बनाउने गरी अगाडी बढाइएकोले भविष्यमा उक्त ठाउँमा महोत्सव गर्न नमिल्ने उनले तर्क राखे । संघले मैदानमा लगाइएको दुवोलाई जस्ताको तस्तै बनाउने अनुरोध अनुसार नगरपालिकाले उक्त निर्णय गरेको छ उनले भने,‘महोत्सव सकिएको एक महिनाभित्र संघले उक्त संरचना बनाइदिने सर्त छ ।’ बनाइदिने लिखित निवेदन दिएको आधारमा नगरपालिका सकरात्मक भएको हो, यो संघले व्यवहारमा उतार्नेछ उनले भने । संघलाई नाफाको ५ प्रतिशत रकम खेलकुद क्षेत्रलाई छुट्टाउन पनि नगरपालिकाले निर्देशन गरेको उनले बताए ।
नाफाको ५ प्रतिशत दुवोलाई छुट्टाउने गरी खेलमैदान दिएको भन्ने खबर नभएको बताउदै प्रवक्ता गुरुङ्ले ५ प्रतिशत रकम खेलकुद क्षेत्रलाई संरक्षण गर्न छुट्टाउन संघलाई निर्देशन दिएको बताए । महोत्सवबाट आएको ५ प्रतिशत रकम संघ र नगरपालिका मिलेर खेलकुद क्षेत्रमा खर्चिने पनि उनले बताए । नगरपालिकाले खेलमैदानमा महोत्सव गर्न दिने निर्णय गरेपछि उद्योग वाणिज्य संघ तयारीमा जुटेको छ । महोत्सव गर्ने स्थलका लागि अन्योलमा रहेको संघ नगरपालिकाले खेलमैदान दिने निर्णयसगै तयारीमा जुटेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए ।

खेलमैदानमा बनेको संरचना नविगार्न सबैबाट अनुरोध हुदै आएकोप्रति संघको गम्भिर ध्यानाकर्षण रहेको अध्यक्ष श्रेष्ठले बताए । वालिङमा रहेको खेलमैदान संघको पनि मैदान हो उनले भने,‘यसको संरक्षणमा संघले कुनै कसुर बाँकी राख्दैन ।’ खेलमैदानमा लगाइएको दुवोलाई जस्ताको तस्तै बनाएर छाड्छौं उनले भने । केही साथीहरुले यसमा असन्तुष्ट व्यक्त गरिरहनु भएको छ उनले भने,‘यसप्रति संघ सचेत छ र रहन्छ ।’ महोत्सव संघको मात्रै नभएर सबै वालिङवासीको हो, सबै मिलेर महोत्सव सफल बनाउन हाम्रो आग्रह छ उनले भने । महोत्सव सकिएपछि अझै व्यवस्थित र स्तरीय खेलमैदान बनाउन संघले पनि पहल गर्ने उनले बताए ।

माघ १८ देखी २८ सम्म हुने आठौं वालिङ महोत्सव २०८० प्रादेशीक कृषि, पर्यटन, सांस्कृतिक एंव औद्योगीक व्यापार मेला सम्पन्न गर्न सबैसगँ संघले आग्रह गरेको छ । यो महोत्सव पछि सांस्कृतिक महोत्सवहरु पनि गर्न सकिने बताउदै संघका अध्यक्ष श्रेष्ठले नेवार, गुरुङ्, मगर लगायत सबैको कला र संस्कृति जोगाउन महोत्सव गर्न सकिने बताए । सबै मिले यस्ता कल्चरल महोत्सव सफल बनाउन सकिन्छ उनले भने,‘सबै नेगेटिभ भए यस्ता कल्चरल महोत्सव गर्न सकिदैन ।’ त्यसैले जहाँ जुन समुदायको बसोबास छ त्यहाँ त्यहीखालका सांस्कृतिक महोत्सव गर्न सकिन्छ उनले भने ।

राष्ट्रिय खेलकुद आयोजना गर्दा वालिङ नगरपालिका लगायत केही स्थानीयतहको लगानीमा खेलमैदानमा हरियो दुवो लगाइएको थियो । महोत्सव गर्दा दुवो मासिने र लाखौं खर्चेर निर्माण गरेको संरचना ध्वस्त हुने भन्दै केही मानिसहरु असन्तुष्ट हुदै आएका छन् । लामो समय महोत्सव गर्न खेल मैदान नदिन आग्रह गर्दै आएपनि वालिङ नगरपालिकाले महोत्सव सफल बनाउन भन्दै खेल मैदान दिने निर्णय गरेको छ ।

प्रतिक्रिया