प्रदेशलाई पाँच वर्षमा आत्मनिर्भर बनाउँछौं ः मुख्यमन्त्री पाण्डे

तोलाकान्त वगाले,
वालिङ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशलाई पाँच वर्षमा कुनै न कुनै क्षेत्रमा आत्मनिर्भर बनाउने बताएका छन् ।
स्याङ्जाको वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाले आयोजना गरेको आठौं वालिङ महोत्सवलाई बिहीबार वालिङ खेलमैदानमा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई दूध, मासु, तरकारी र फलफूलमध्ये कुनै न कुनैमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताएका हुन् ।

गण्डकी प्रदेशलाई पाँच वर्षभित्रमा सके दूध, मासु, तरकारी र फलफूल सबैमा आत्मनिर्भर बनाउने गरी अगाडि बढेका छौं उनले भने, ‘जहाँसम्म हाम्रो लक्ष्य पूरा भएरै छाड्छ, सबै भएन भने पनि कुनै न कुनै एउटामा पक्कै पनि आत्मनिर्भर हुन्छौं, हुन्छौं ।’ गण्डकी प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाएर काम अगाडि बढाएको बताए । उनले युवाहरुको बसाईसराई दर घटाउने र प्रदेशलाई दूध, मासु, तरकारी र फलफूलमा आत्भनिर्भर बनाउने लक्ष्य रहेको जानकारी दिए ।

युवा विदेशिनेक्रम संसारको ट्रेण्ड हो, यो जहाँतहीँ चलिरहन्छ उनले भने, ‘यो शून्यमा झर्दैन तर यसका सन्दर्भमा युवालाई स्वदेशमै दक्ष बनाएर युवालाई आकर्षित गर्ने खालका नीति तथा कार्यक्रमहरु ल्याएर कम गर्न सकिन्छ ।’ गण्डकी प्रदेशले एघार वटै जिल्लामा प्राथमिकता र आवश्यकताका आधारमा योजनाहरु अगाडि बढाईरहेको बताए । वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले यहाँका उत्पादनहरुको प्रचार प्रसार, प्रवद्र्धन तथा बजारीकरणकालागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले ब्यक्त गरे ।

कार्यक्रममा नेकपा एमालेका नेता महेश बस्नेत, गण्डकी प्रदेशका उर्जा जलश्रोत तथा सिञ्चाई मन्त्री सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल, लेखा समितिका सभापति सुधीरकुमार पौडेल, गण्डकी प्रदेश सांसद कल्पना तिवारी, वालिङ नगर प्रमुख कृष्ण खाँण, गाउँपालिका महासंघका महासचिव खिम थापा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य युवराज भण्डारी लगायतले महोत्सवले समग्र स्याङ्जाको कृषि, हस्तकला, सांस्कृतिक, पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार र आर्थिक विकासमा सहयोग पुग्ने धारणा ब्यक्त गरेका थिए ।

बिहीबारबाट सुरु भएको महोत्सव माघ २८ गतेसम्म सञ्चालन हुने छ । महोत्सव तीन लाख दर्शकले अवलोकन गर्ने र करीव दश करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको महोत्सव मुल आयोजक समितिका संयोजक एवं वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए । संघका बरिष्ठ उपाध्यक्ष अनुपमा तिवारीले स्वागत र महासचिव रमेश अर्यालले संचालन गरेका थिए ।

 

प्रतिक्रिया