स्याङ्जामा ३९ जनालाई मृत्युको न्यायिक घोषणा

 

भवानी अधिकारी

स्याङ्जा ।
भीरकोट नगरपालिकाका तेजबहादुर मल्ल २०३५ सालदेखि वेखबर भए । युवा अवस्थामा घरबाट निस्केका उनी त्यसपछि कहाँ गए अहिलेसम्म परिवारले पत्तो पाउन सकेन। उनका परिवारले ४५ बर्षसम्म उनको बाटो र खबरको प्रतिक्षा गरिरहे । कहि कतैबाट केही पत्तो पाउन नसकेपछि जिल्ला अदालत स्याङ्जामा पुगेर उनका दाजु यामबहादुर मल्लले मृत्युको न्यायिक घोषणाका लागि निवेदन दिए ।

परिवारबाट २०३५ सालदेखि घरबाट निस्केका मल्ल हालसम्म फर्केर नआएकोले मृत्युको न्यायिक घोषणा गरिपाऊँ भन्ने निवेदनमा ‘मृत्युको न्यायिक घोषणा’ गर्ने निर्णय गरेको थियो। त्यसपछि अदालतले आफ्नो प्रक्रिया पुरा गरेर तेजबहादुर मल्लको मृत्युको घोषणा गरिदियो । निवेदनका अनुसार बेखबर भएका मल्लको हालको उमेर ९६ बर्ष छ ।

हरिनास गाउँपालिकाका बाबुलाल सार्किको अवस्था पनि २०५० सालदेखि अज्ञात छ । पत्नी र छोरी घरमा छाडेर हिडेका उनका २० बर्षसम्म अत्तोपत्तो लागेन । त्यसपछि पत्नी नेत्रकुमारी सार्किले अदालत मार्फत मृत्युको न्यायिक घोषणाका लागि निवेदन दर्ता गराईन् । यसैगरी, अर्जुनचौपारी गाउँपालिकाका लीलाकुमारी पौडेलले पनि विस २०६२ सालदेखि बेपत्ता पतिको मृत्युको न्यायिक घोषणाको माग गरिन् । रोजगारका लागि भारत जान्छु भनेर हिडेका थीरलाल पौडेल १८ बर्षदेखि बेखबर रहेको बताइएको छ । अदालतले आवश्यक कानूनी प्रक्रिया पुरागरी मृत्युको न्यायिक घोषणा गरिदिएको स्याङ्जा अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए ।

यी त केही उदाहरण मात्र हुन्। दिनहुँ जस्तो यस्ता मुद्धा लिएर अदालतमा धाउनेको संख्या बढ्न थालेको छ । सशस्त्र द्धन्द्ध वा अन्य कुनै कारणबाट लामो समयसम्म बेखबर भएपछि उनका परिवारले बेपत्ता वा न्यायिक घोषणाका लागि अदालत धाउन थालेका हुन । चालु आर्थिक बर्षको साउन यता ८ महिनाभित्र मृत्युको न्यायिक घोषणा गर्ने ३९ जना रहेको नायब सुब्बा शोभाकान्त पौडेलले बताए । एक जनाको भने मृत्यु न्यायिक घोषणा बदर भएको उनले जानाकारी दिए ।

मृत्युको घोषणाका लागि वडा कार्यालयदेखि, प्रहरी हुदै अदालतसम्म आउने प्रक्रिया हुन्छ । त्यसपछि भने अदालत मार्फत काम कारवाही अघि बढ्छ । धेरै बर्षसम्म अत्तो पत्तो पाउन नसक्नु र ज्यूँदो रहेको पनि मनन् गर्न नसकेपछि मृत्युको न्यायिक घोषणाका लागि अदालतमा पारिवारिक सदस्य आउने गरेका हुन्छन । मृत्युको घोषणापछि सम्बन्धित ब्यक्तिले आ आफ्ना धर्म, संस्कार, संस्कृति अनुरुपका काजकिरिया पाउनुका साथै पती÷पत्नी÷छोराछोरी÷ र दाजुभाईले पाउने अंशवण्डा, सहुलियत, भत्ता लगायतका अन्य कामकाजमा सहज बन्ने बताइएको छ ।

प्रतिक्रिया