सीप परीक्षणको लागि आवेदन खुल्यो

अमृत अर्याल
भीरकोट ।
स्वदेश तथा विदेशमा रोजगारको अनुभव भएका युवाहरुको सीप परीक्षण गरिने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत गण्डकी प्रदेशको सीप परीक्षण समितिले सहुलियत शुल्कमा सीप परीक्षणकोे लागि आवेदन दिन आह्वान गरेको छ । सीप परीक्षणमा सहभागी हुन तोकेका केन्द्रमा गइ सीप परीक्षण गराउनुपर्नेछ । यसका लागि समितिले गण्डकी प्रदेशमा ४ वटा सीप परीक्षण केन्द्र तोकेको छ ।

ती केन्द्रमा युवाहरुले टेलरिङ, कम्प्युटर अपरेटर, कृषि जेटिए, पशुपालन जेटिए, प्लम्बर, बिल्डिङ पेन्टर, वेटर, बिल्डिङ इलेक्ट्रिसियन, हाउस किपिङ, क्लिनर, गार्मेन्ट फेब्रिकेटर लगायतका विधामा सीप परीक्षण गराउन पाउनेछन् । आवेदन फारम समितिको वेबसाइट वा इभेन्ट परियोजनाको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ अथवा स्थानीय तहको रोजगार शाखाबाट पनि प्राप्त गर्न सकिन्छ । फागुन ३० गतेसम्म आवेदन बुझाईसक्नुपर्नेछ । आवेदन दिने व्यक्तिमा सम्बन्धित व्यवसायको ज्ञान, सीपको अनुभव भएको हुनुपर्ने समितिले जनाएको छ ।

सीप परीक्षणको लागि तहगत रुपमा शुल्क तोकिएको छ । सीप परीक्षणमा सहभागी हुनका लागि १६ बर्ष उमेर पुगेको हुनुपर्ने समितिले जनाएको छ । जिल्लाको भीरकोट नगरपालिकाले छुट्टै सूचना प्रकाशित गरेर सीप परीक्षणमा सहभागी हुन आव्हान गरेको छ । भीरकोटले फारम भर्ने काममा सहजीकरण समेत गरेको रोजगार संयोजक बसन्त बस्नेतले जानाकारी दिए । यस सम्बन्धी थप जानकारीको लागि मोबाईल नम्बर ९८५६०४२८३३ र ९८४१०६८०९१ मा सम्पर्क गरेर पनि बुझ्न सकिने समितिले जनाएको छ ।

प्रतिक्रिया