भीरकोटले निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण गर्दै

अमृत अर्याल
भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिकाले दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर गर्ने भएको छ । शिविरमा ३० बर्ष देखि ६० बर्ष उमेर सम्मका प्रजनन् रुपमा सक्रिय महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ्ग खस्‍ने समस्या, अब्स्टेट्रिक फिस्टुला र बाझोपना सम्बन्धी चेक जाँच हुने नगरपालिकाले जनाएको छ । यही चैत २९ र ३० गते हुने शिविर वडा नं. ३ को रोजीखोला र वडा नं. १ को नगर अस्पतालमा संचालन हुनेछ । पहिलो दिन २९ गते राजीखोलामा र दोश्रो दिन ३० गते हेलुस्थित नगर अस्पतालमा परीक्षण शिविर संचालन हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

नगरपालिकाको आयोजना मनमोहन मेमोरियल अस्पताल काठमाडौं तथा जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाको प्राविधिक सहयोगमा शिविर संचालन गर्न लागिएको भीरकोटका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले बताए । कर्माचार्यले महिलाका संवेदनशील अंगमध्ये स्तन र पाठेघरको समस्या समयमै पहिचान गरी उपचार गर्नुपर्ने बताए । फैलिँदो स्तन क्यान्सर र पाठेघर क्यान्सरबाट धेरै महिलाहरु पीडित बनिरहेको अवस्थामा शिविरबाट लाभ लिनसमेत आयोजकले अनुरोध गरेको छ । प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले महिलामा हुने आङ खस्ने समस्याको पहिचान र निराकरणका साथै महिलाहरूको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भएका तथा हुने सम्भावित खतरामा रहेका महिलाहरूको जाँच र उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको बताए । स्तन र पाठेघरको उपचार निकै महँगो भएकाले समयमै यो रोगको पहिचानका लागि भीरकोटका सबै वडामा शिविर सञ्चालन गर्ने योजना रहेको बताउँदै पहिलो चरणमा वडा नं. १ र ३ मा सञ्चालन गरिने बताए।

मनमोहन मेमोरियल अस्पतालका डा. मनोहर मियाले पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको समयमै पहिचान गरेमा पाठेघरको समस्या केही मात्रामा समाधान हुने र हरेक महिलाले ३० देखि ६० वर्ष उमेरमा चेकजाँच गर्नुपर्ने बताए । महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरेर क्यान्सर भए–नभएको पत्ता लगाइने र व्यक्तिगत सरसफाइमा ध्यान दिन सके मात्रै पनि धेरै रोगबाट बच्न सकिने डाक्टर मियाको भनाइ छ । मनमोहन मेमोरियल अस्पतालका चिकित्सक सहित जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली शिविरमा खटिनेछ ।

प्रतिक्रिया