स्याङ्जामा ७३ जनाले नागरिकता त्यागे

स्याङ्जा ।
स्याङ्जाका ७३ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । १३ वर्षको अवधिमा ७३ जना युवायुवतीले नागरिकता त्यागेका हुन् । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार वि.सं. २०६७–०२–०३ देखि २०८०–११–२७ गतेसम्ममा ७३ जना स्याङ्जालीले विदेशी नागरिक बन्नका लागि नेपाली नागरिकता परित्याग गरेको उल्लेख छ ।

नेपाली नागरिकता परित्याग गर्नेमा २५ जना महिला र ४८ जना पुरुष छन् । महिलाका तुलनामा पुरुषको संख्या झण्डै दोब्बर छ । नेपाली नागरिकता परित्याग गरी उनीहरूले बेलायत, हङकङ, बेल्जियम, अमेरिका, युगाण्डा, अष्ट्रेलिया, फ्रान्स, जर्मनी, फिनल्याण्ड, न्यूजील्याण्ड, पोर्चुगल, क्यानडा, केन्या, कोरियन, चाइनिज नागरिकता लिएका छन् ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार,मुख्यतः गैरआवासीय नेपाली नागरिकले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिकता लिन र नेपालमै नबस्ने लक्ष्य लिएर नागरिकता परित्याग गर्नेहरु बढेका हुन् । डीभी, पीआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग विवाह गरी बसेकाले पनि नागरिकता त्याग गर्ने गरेको प्रजिअ नेपालको भनाइ छ । त्यसो त, विदेशी नागरिकता लिने प्रक्रिया थालेसँगै नेपाली नागरिकता परित्याग गर्नुपर्ने हुन्छ ।

यसरी नागरिकता त्याग गर्नेमध्ये अमेरिका, अष्ट्रेलिया र यूरोप पुग्नेहरु धेरै छन् । प्रशासनको तथ्यांक अनुसार अमेरिकी नागरिकता प्राप्त गर्नेमा स्याङ्जाका १७ जना छन् । त्यसपछि क्रमश ः अष्ट्रेलियाको १५, हङकङ १२, बेलायत ११, कोरियन ३, जर्मनी ३, न्यूजील्याण्ड २, चाइनिज २, पोर्चुगल २ र क्यानडा, केन्या, बेल्जीयम, युगाण्डा, फ्रान्स, फिनल्याण्डका नागरिकता लिने एक÷एक जना रहेका छन् ।
वि.सं. २०४० सालदेखि २०७६ सालभित्रमा जारी गरिएका ती नागरिकता सबैभन्दा धेरै यही वर्ष २०८० सालमा ३६ जनाका नागरिकता परित्याग भएको प्रशासनले जनाएको छ । यसैगरी, वि.सं. २०६७ मा २ वटा, २०६८ मा ३ वटा, २०७० मा २ वटा, २०७१ मा ३ वटा, २०७२ मा ४ वटा, २०७३ मा ६ वटा, २०७४ मा ६ वटा, २०७५ मा ३ वटा, २०७६ मा एउटा, २०७७ मा ५ वटा, २०७८ मा एउटा र २०७९ मा २ वटा नागरिकता त्याग भएका छन् । २०६९ सालमा भने एउटा पनि नागरिकता त्याग नगरेको पाइएको छ ।

राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगार, शिक्षा र स्वास्थ्यलाई मुख्य कारण देखाउँदै विदेशी मुलुक छिरेका नेपाली नागरिक उतै बस्न चाहेको पाइएको हो । राज्यले आफ्नो नागरिकको शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारको ग्यारेन्टी गर्न नसक्नु विदेश पलायनको प्रमुख कारण रहेको स्याङ्जाबाट केही महिनाअघि अमेरिका पुगेका युवा दिपक वाग्लेको भनाइ छ ।

भष्ट्राचार नियन्त्रण, शिक्षा, स्वास्थ्य रोजगारका निम्ति यस्तै अवस्था रहीरहे अझै धेरै युवाहरू विदेशिन वाध्य हुनेछन् । अब, युवा शक्ति स्वदेशमै रमाउने राज्यको नीति बनाइनुपर्छ ।’ राष्ट्रिय जनगणना २०७८ का अनुसार स्याङ्जाको जनसंख्या २ लाख ५३ हजार २४ जना रहेको छ । गत वर्ष झण्डै १२ हजार जनाले राहदानी लिएका थिए । ती मध्ये अधिकांश युवायुवती रोजगार र अध्ययनका लागि भन्दै विदेशिने गरेका छन् ।

 

प्रतिक्रिया