किसानले पाएनन् क्षतिपूर्ति

भीरकोट ।
जिल्लाको भीरकोट नगरपालिका आलुको पकेट क्षेत्रको रुपमा चिनिएको छ । २०७७ सालको फागुनमा यहाँ आलु महोत्सव पनि गरिएको थियो । विशेष गरी वडा नं. ५ को पकान फाँट आलु खेतीका लागि अब्बल मानिएको छ । २०७७ सालमा उन्नत जातको आलु उत्पादन गर्न सफल यस क्षेत्रका किसानले २०७८ का लागि समेत बीउ भण्डारण गर्न नजिकैको शित भण्डारण केन्द्रमा लगेर राखे । २०७८ को मंसीरमा आलुको बीउ निकाल्न जाँदा आफुले राखेको सबै बीउ कुहेको पाएपछी किसानहरु रित्तो हात घर फर्किन बाध्य भए । भण्डारण गरेको बीउ आलु बिग्रिएपनि यहाँका किसानले अहिलेसम्म क्षतिपूर्ति पाउन सकेका छैनन् ।
भण्डारण गरेर राखेको बीउ बिग्रिएपछी यहाँका किसानहरुले महंगो मूल्यमा अन्यत्रबाट बीउ खरिद गरी आलु लगाए । तर किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ । किसानले सामूहिक वा व्यक्तिगतरुपमा उत्पादन गरेको बीउ आलुको सुरक्षित भण्डारणका लागि वालिङ– ११ अमलेस्थित ढुङ्गाना कृषि फर्मद्वारा सञ्चालित शीत भण्डारमा राख्न पठाईएको तत्कालिन वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए । शीत भण्डारमा राखिएको बीउ आलु लगाउन योग्य नहुने गरी भण्डारमै बिग्रिँदा यहाँका धेरै किसान मर्कामा परेको अधिकारीको भनाई छ ।
महँगो पर्ने बीउ आलुको सुरक्षित भण्डारणका लागि नगरपालिकाको समेत सहयोगमा शीत भण्डारमा राखिएको तत्कालिन नगरप्रमुख छायाराम खनाल बताउछन् । उनले भने, “शीत भण्डारको प्राविधिक समस्या हो या के हो भण्डारण गरिएको बीउ लगाउन नहुने प्राविधिकले राय दिएपछि किसानहरुलाई बैकल्पिक व्यवस्था गर्न भनेका हौं ।” भण्डारण गरिएको बीउ आलु प्राविधिकको राय बमोजिम लगाउन योग्य नभएपछि नगरपालिका कार्यालय, शीत भण्डार सञ्चालक र सम्बन्धित किसान बसेर क्षतिपूर्तिका विषयमा सहमति गरेका थियौँ, निवर्तमान प्रमुख खनालले भने, “प्रतिकेजी रु ४० का दरले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति भयो तर अहिलेसम्म पनि शीत भण्डारले क्षतिपूर्ति उपलब्ध गराएको छैन ।”
यहाँका किसालने उत्पादन गरेको बीउ आलुको भण्डारणका लागि भीरकोट नगरपालिका कार्यालय र शीत भण्डारबीच सम्झौता भई पेश्कीस्वरुप १ लाख ५८ हजार शीत भण्डारलाई दिइएको निवर्तमान नगर प्रमुख छायाराम खनालले बताए । सहमति अनुसार किसानले क्षतिपूर्ति नपाएको गुनासो बढ्दै गएपछि भीरकोट नगरपालिका कार्यालयले शीत भण्डारका नाममा क्षतिपूर्ति उपलब्ध गराउनका लागि पत्राचार गरेको नगरपालिका कार्यालयले जनाएको छ । भीरकोट नगरपालिकाले हरेक बर्ष किसानहरुलाई मल तथा बीउमा अनुदान दिदै आईरहेको छ ।
शीत भण्डारको क्षमता १० टन रहेको र बढीमा १२ टनसम्म भण्डारण गर्न सकिने भनिएकोमा किसानको धेरै आलुको बीउ आएकाले समस्या भएको शीत भण्डार सञ्चालक श्यामप्रसाद ढुङ्गानाले बताए । “शीत भण्डारको क्षमताभन्दा धेरै आलुको बीउ हुँदा पनि समस्या आयो” सञ्चालक ढुंगानाले भने, “तीन पक्षबीच भएको वार्तामा किसानलाई क्षतिपूर्ति दिने सहमति भएको हो, केही ढिलो भएको छ क्षतिपूर्ति नदिने पक्षमा छैनौँ, दिन्छौँ ।” शीत भण्डारमा आलुका लागि जुन तापक्रम आवश्यक पर्ने हो सोभन्दा बढी तापक्रम भएकाले आलु उम्रिएको उनले बताए । नबिग्रिएको आलु लैजान र बिग्रिएको आलुको क्षतिपूर्ति दिन खोज्दा किसानले नमानेपछि ढिला भएको सञ्चालक ढुङ्गानाको भनाई छ ।

प्रतिक्रिया