जन्मदिनमा लायन्स क्लबद्वारा बालगृहलाई फ्रिज उपहार
स्याङ्जा ।
लायन्स क्लब अफ स्याङ्जा पुतलीबजारले संस्थाका संस्थापक अध्यक्ष तथा एसोसिएट चिफ एडभाइजर श्री बहादुर गुरुङको जन्मदिनको अवसर पारेर फेदिखोला गाउँपालिका–१ स्थित अमोर सेवा नेपाल बालगृहलाई डबल डोर फ्रिज उपहार प्रदान गरेको छ। गुरुङको जन्मदिनलाई सामाजिक सेवामार्फत मनाउने उद्देश्यले क्लबले बालगृहमा पुगेर फ्रिज हस्तान्तरण गरेको हो। क्लबका एरिया लिडरसमेत रहेका गुरुङले बालगृहमा रहेका बालबालिकाको आवश्यकतालाई ध्यानमा राख्दै फ्रिज सहयोग गरेका हुन्।
कार्यक्रममा लायन्स क्लबका मल्टीपल डिस्ट्रिक्ट चियरपर्सन चण्डी प्रसाद अर्यालले लायन्स क्लबको उद्देश्य, सामाजिक सेवामा क्लबको भूमिका तथा मानवीय सेवाका क्षेत्रमा क्लबले गर्दै आएका विभिन्न गतिविधिबारे जानकारी गराए। उनले जन्मदिनलगायतका व्यक्तिगत अवसरलाई सामाजिक सेवासँग जोडेर मनाउने संस्कारले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए। लायन्स क्लब अफ स्याङ्जा पुतलीबजारका गतिविधिबारे पिताम्बर गौतम प्रकाशले जानकारी गराएका थिए। उनले क्लबले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा गर्दै आएका विभिन्न कार्यक्रम र योगदानबारे प्रष्ट पारे।
कार्यक्रममा अमोर सेवा नेपाल बालगृहकी सञ्चालक कमला पराजुली, क्लबका पूर्व अध्यक्ष डोलराज रेग्मी, डा. बसन्त पंगेनी, स्याङ्जा चेम्बर अफ कमर्सका महासचिव ओमप्रसाद पौडेललगायतले मन्तव्य राखेका थिए। वक्ताहरूले व्यक्तिगत खुसीका अवसरलाई सामाजिक सेवासँग जोडेर मनाउने कार्यको प्रशंसा गर्दै यसले समाजमा सेवा र सहयोगको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने बताएका थिए। श्री बहादुर गुरुङको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा क्लबका लिडर तथा सदस्यहरूको सहभागिता रहेको क्लबका सचिव राधिका पौडेलले जानकारी दिइन्।
बालगृहमा रहेका बालबालिकाको आवश्यकता पूरा गर्न सहयोग पु¥याउने उद्देश्यले आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने लायन्स क्लब अफ स्याङ्जा पुतलीबजारका अध्यक्ष देवी अधिकारीले बताइन्। उनले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मानवीय सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन्।


प्रतिक्रिया