बाढीपीडितका लागि प्याब्सन स्याङ्जाले जुटायो १८ लाख ७० हजार

स्याङ्जा ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) स्याङ्जाको पहलमा जिल्लाका विभिन्न ३७ वटा निजी विद्यालयले बाढीपीडितका लागि १८ लाख ७० हजार २ सय ११ रुपैयाँ सहयोग संकलन गरेका छन् । प्याब्सन स्याङ्जाले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले जिल्लाका विभिन्न विद्यालयबाट आर्थिक सहयोग संकलन गरेको हो । प्याब्सन स्याङ्जाले सार्वजनिक गरेको विवरण अनुसार २०८३ भदौ २५ गतेसम्म उक्त रकम संकलन भएको हो ।

संकलित रकममध्ये ज्योति इङ्लिस बोर्डिङ स्कुल पुतलीबजारले सबैभन्दा बढी १ लाख ८३ हजार २ सय ७५ रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी पायोनियर्स हायर एजुकेसन एकेडेमी वालिङले १ लाख ८२ हजार ६ सय ७१ रुपैयाँ, रोशनी सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल पुतलीबजारले १ लाख ६३ हजार ६ सय २० रुपैयाँ, नेपाल आदर्श माध्यमिक विद्यालय वालिङले १ लाख १५ हजार ९ सय ३० रुपैयाँ र गल्याङ आदर्श इङ्लिस बोर्डिङ स्कुल गल्याङले १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमीले १ लाख ५ रुपैयाँ, ज्ञानोदय इङ्लिस बोर्डिङ स्कुल राङ्खोलाले ८६ हजार रुपैयाँ, पिस जोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमी वालिङले ८६ हजार ५ सय ६५ रुपैयाँ, सगरमाथा इङ्लिस बोर्डिङ स्कुल वालिङले ७४ हजार ५ सय ११ रुपैयाँ र अर्मादी इङ्लिस बोर्डिङ स्कुल वालिङले ७० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी जिल्लाका अन्य विद्यालयले पनि आफ्नो क्षमता र अवस्थाअनुसार सहयोग रकम उपलब्ध गराएका छन् । संकलित रकम बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा प्रयोग गरिने प्याब्सन स्याङ्जाले जनाएको छ । प्याब्सन स्याङ्जाका कोषाध्यक्ष मेकराज केसी, सचिव हरिप्रसाद अर्याल र अध्यक्ष राजेन्द्र गोदरले जारी गरेको विवरणमा जिल्लाका निजी विद्यालय, विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारको सहभागिताबाट उक्त सहयोग संकलन गरिएको उल्लेख छ । प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको पीडामा निजी विद्यालय क्षेत्र पनि सामाजिक उत्तरदायित्वका साथ जोडिँदै आएको र मानवीय सहयोगलाई निरन्तरता दिइने प्याब्सन स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया