२०औँ वर्षमा आँधिखोला सहकारी

भीरकोट ।

भीरकोट नगरपालिका–१ बयरघारीमा रहेको आँधिखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०औँ वर्षमा प्रवेश गरेको छ। संस्थाले आफ्नो १९औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै स्थापनाको २०औँ वर्षमा प्रवेश गरेको हो। संस्थाका अध्यक्ष तोयनाथ अर्यालको अध्यक्षतामा सम्पन्न साधारणसभामा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, शेयर सदस्यलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी योजना तथा सहकारीले सञ्चालन गर्दै आएका विभिन्न गतिविधिबारे छलफल गरिएको थियो।

संस्थाका व्यवस्थापक ठगेन्द्र जिटी (सुनिल)ले सञ्चालन गरेको साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष तोयनाथ अर्याल, लेखा सुपरीवेक्षण समितिका तर्फबाट संयोजक जब्बर अलि मिया र व्यवस्थापनका तर्फबाट व्यवस्थापक ठगेन्द्र जिटीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा संस्थाले आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन गरेका कार्यक्रम तथा हासिल गरेका प्रगतिको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति, कार्यक्रम, वार्षिक योजना तथा खर्च बजेटसमेत प्रस्तुत गरेको थियो। साधारणसभाले प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति, कार्यक्रम, योजना र खर्च बजेट सर्वसम्मत रूपमा पारित गरेको संस्थाले जनाएको छ।

सहकारीले आर्थिक कारोबारसँगै आफ्ना शेयर सदस्य तथा सदस्यका परिवारका सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न विधामा सम्मानसमेत गर्दै आएको छ। १९औँ वार्षिक साधारणसभाका अवसरमा २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने संस्थाका शेयर सदस्यका सन्ततिलाई विद्यार्थी विधातर्फ सम्मान गरिएको थियो। त्यसैगरी उमेरले ७० वर्ष पूरा भएका आठ जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो। संस्थासँगको नियमित तथा असल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बचत कारोबारतर्फ दुई जना र कर्जा कारोबारतर्फ दुई जना शेयर सदस्यलाई समेत सम्मान गरिएको संस्थाले जनाएको छ।

साधारणसभामा भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्दकुमार कर्माचार्यसहित निवर्तमान नगर प्रमुख छायाराम खनाल, श्यामकाजी अधिकारी, यामप्रसाद अधिकारी (लक्ष्मण), कृष्णबहादुर अधिकारी क्षेत्री, शेषकान्त खनाल र पिताम्बर श्रेष्ठले संस्थाको आगामी यात्रा तथा श्रीवृद्धिका लागि रचनात्मक सुझाव प्रस्तुत गरेका थिए । सहकारीको संस्थागत विकास, शेयर सदस्यको हित, आर्थिक अनुशासन तथा सदस्य केन्द्रित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। सहकारीले स्थानीयस्तरमा बचत संकलन तथा कर्जा प्रवाहमार्फत सदस्यको आर्थिक गतिविधिमा सहयोग पुर्‍याउँदै आएको भन्दै आगामी दिनमा पनि पारदर्शिता, सुशासन र सदस्यको विश्वासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने सुझाव दिइएको थियो।

सहकारीका अनुसार हाल संस्थामा १ हजार १ सय १३ जना शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पूँजी २ करोड ५५ हजार ९ सय रुपैयाँ रहेको छ। संस्थामा बचत तथा अन्य वित्तीय कारोबारसमेत उल्लेख्य रहेको जनाउँदै सहकारीले कुल कारोबार करिब १३ करोड रुपैयाँ पुगेको जनाएको छ। दुई दशकको यात्रामा प्रवेश गरेको सहकारीले स्थानीय समुदायमा वित्तीय पहुँच विस्तार गर्नुका साथै शेयर सदस्यलाई बचत गर्ने बानीको विकास, आवश्यकताअनुसार कर्जा सुविधा तथा आर्थिक गतिविधिमा सहयोग गर्दै आएको जनाएको छ। सदस्यको आर्थिक आवश्यकता र स्थानीय परिस्थितिअनुसार सहकारीका सेवा तथा गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य संस्थाले लिएको छ।

साधारणसभामा संस्थाको विगतको प्रगतिको समीक्षा गर्दै आगामी दिनमा सहकारीलाई थप व्यवस्थित, प्रविधिमैत्री, पारदर्शी र सदस्यकेन्द्रित बनाउने विषयमा समेत छलफल भएको थियो। संस्थाले सदस्यको विश्वासलाई कायम राख्दै वित्तीय अनुशासन, सुशासन र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ। स्थानीयस्तरमा स्थापना भएर दुई दशकको यात्रामा प्रवेश गरेको आँधिखोला बचत तथा ऋण सहकारीले सदस्य संख्या र कारोबार विस्तारसँगै सामाजिक तथा आर्थिक क्षेत्रमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साधारणसभामा सहभागीहरूले सहकारीको दीर्घकालीन विकासका लागि सदस्यको सहभागिता, नियमित कारोबार र संस्थागत पारदर्शिता महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया